राजनीति

हुलाकको कायापलट : नागरिकको घरमै पुग्न थाले सरकारी कागजात

परम्परागत चिठीपत्र आदानप्रदानमा सीमित हुलाक सेवा अहिले सरकारी कागजात नागरिकको घरदैलोमै पुर्‍याउने आधुनिक सेवाका रूपमा रूपान्तरण हुँदै गएको छ ।

राहदानी, सवारी चालक अनुमतिपत्र, शैक्षिक प्रमाणपत्र तथा अन्य सरकारी कागजात घरमै पुग्न थालेपछि हुलाक सेवाको नयाँ स्वरूपप्रति नागरिकको आकर्षण बढ्न थालेको छ ।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक, विश्वसनीय र नागरिकमैत्री बनाउँदै सरकारी सेवा घरदैलोमै पुर्‍याउने प्रभावकारी माध्यमका रूपमा पुनःस्थापित गरिएको बताउनुभएको छ ।

हुलाक सेवा विभागद्वारा आयोजित ‘हुलाक सेवाको आधुनिकीकरणसम्बन्धी उच्चस्तरीय संवाद कार्यक्रम’मा मन्त्री तिमिल्सिनाले परम्परागत हुलाक सेवालाई प्रविधिमैत्री र विशिष्टीकृत ‘सरकारी कुरियर सेवा’का रूपमा विकास गर्दै नागरिकको घरदैलोमै सरकारी सेवा पुर्‍याउने अभियान सफल रूपमा कार्यान्वयन भइरहेको बताउनुभयो ।

उहाँले हुलाक सेवाको पुनर्जागरणका लागि सरकार योजनाबद्ध रूपमा अघि बढिरहेको र त्यसको सकारात्मक नतिजा देखिन थालेको उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो, “सूचना प्रविधिको विस्तारसँगै हुलाक सेवाको स्वरूप परिवर्तन भए पनि यसको आवश्यकता र महत्व अझै कायम छ । डिजिटाइजेसनले हुलाक सेवाको महत्व घटाएको छैन, बरु समयअनुकूल आधुनिकीकरण गर्दै सेवा विस्तार गर्नुपर्ने आवश्यकता बढाएको छ ।”

मन्त्री तिमिल्सिनाले राहदानी, सवारी चालक अनुमतिपत्रलगायत सरकारी कागजात घरमै पुर्‍याउने व्यवस्थाले सेवा प्रवाहमा ठूलो परिवर्तन ल्याएको बताउनुभयो ।

यसबाट नागरिकको समय, लागत र झन्झट कम हुनुका साथै सरकारी सेवाप्रतिको विश्वाससमेत बढेको उहाँको भनाइ छ । सुरक्षाका दृष्टिले पनि सरकारी हुलाक सेवा विश्वसनीय रहेको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले हुलाक सेवाको संस्थागत छवि सुधार गर्न कर्मचारीको इच्छाशक्ति, नवीन सोच र सेवामुखी कार्यशैली आवश्यक रहेको बताउँदै हुलाकले आफूलाई समयअनुकूल परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले डिजिटल युगमा पनि हुलाक सेवाको आवश्यकता उत्तिकै रहेको बताउँदै नागरिकको घरदैलोमै सरकारी सेवा पुर्‍याउने उद्देश्यअनुसार विभागले हालसम्म सातवटा सरकारी निकायसँग समझदारी गरिसकेको जानकारी दिनुभयो ।

“राहदानी, सवारी चालक अनुमतिपत्र, शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षण प्रतिवेदनलगायतका सरकारी कागजात अहिले घरघरमै पुर्‍याउन थालिएको छ,” सचिव बस्नेतले भन्नुभयो, “आगामी दिनमा यसलाई अझ प्रभावकारी, व्यावसायिक र नागरिकमैत्री बनाइनेछ ।”

हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले अन्तर्राष्ट्रिय असल अभ्यासलाई आत्मसात् गर्दै हुलाक सेवालाई थप प्रभावकारी बनाउने अभियान सञ्चालन गरिएको बताउनुभयो । ‘घरघरमा हुलाक, मनमनमा हुलाक’ अभियानमार्फत नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखिएको उहाँको भनाइ छ ।

उहाँका अनुसार विभागमार्फत सञ्चालन गरिएको ‘सरकारी कुरियर सेवा’को प्रगति उत्साहजनक रहेको छ । विभागलाई प्रविधिमैत्री बनाउने तथा संस्थागत सुधारका कार्यक्रम कार्यान्वयन भएसँगै राहदानी, सवारी चालक अनुमतिपत्र, स्वास्थ्य सामग्री, शैक्षिक प्रमाणपत्रलगायतका सरकारी कागजात सुरक्षित रूपमा नागरिकको घरसम्म पुग्न थालेका छन् ।

सरकारको शासकीय सुधारसम्बन्धी १०० दिने कार्यसूची तथा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार देशभरका हुलाक कार्यालयलाई क्रमशः ‘स्मार्ट हुलाक’मा रूपान्तरण गर्ने अभियान पनि अघि बढाइएको छ । विभागका अनुसार परम्परागत हुलाक सेवालाई आधुनिक ‘गभर्मेन्ट कुरियर सर्भिस’का रूपमा विकास गर्दै सरकारी सेवा घरदैलोमै पुर्‍याउने कार्यलाई थप विस्तार गरिनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.