कृषि प्रधान मुलुक नेपालमा किसानको मुख्य समस्या उत्पादनभन्दा पनि उत्पादनको उचित बजार नपाउनु हो। यस्ता समस्या समाधानका लागि स्थानीय तहको भूमिका निकै प्रभावकारी हुन्छ ।
संघीय संरचनाले जनताका सेवा सुविधालाई गाउँगाउँसम्म पुर्याएको अवस्थामा मुलुकको प्रमुख पेशा कृषि उत्पादनको बजार पहुँच विस्तार गर्न स्थानीय तहहरु सक्रिय हुँदै आएको पाइएको छ ।
यसै क्रममा काठमाडौंका उत्तरपूर्वी भेगमा रहेको गोकर्णेश्वर नगरपालिका वडा नं. ९ आरुबारीमा सुरु साप्ताहिक कृषक बजार गरिएको छ । किसानको जीवनस्तर उकास्न यो एक महत्वपूर्ण पहल मानिएको छ ।
असार १४ गतेदेखि आरुबारी र जगडोलको सीमास्थित पानीखोल्साको खुला पार्कमा सुरु गरिएको कृषक बजारले स्थानीय उत्पादनको प्रवर्द्धन, किसानलाई बजारको सहज पहुँच तथा उपभोक्तालाई गुणस्तरीय वस्तु उपलब्ध गराउने उद्देश्य लिएको छ।
बजारको पहिलो दिन प्रचारप्रसारको कमीका कारण अपेक्षाकृत कम अवलोकनकर्ता तथा खरिदकर्ता उपस्थित भए पनि विक्रेताहरूले ग्रामीण क्षेत्रमा यस्तो कार्यक्रम सञ्चालन हुनु अत्यन्त सकारात्मक सुरुआत भएको बताएका छन्।

कृषक बजार स्थानीय अर्थतन्त्रको मेरुदण्ड बन्न सक्ने सम्भावना बोकेको अवधारणा हो। यसले किसान र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्छ। सामान्यतया कृषि उत्पादन बिचौलियामार्फत उपभोक्तासम्म पुग्ने हुँदा किसानले कम मूल्य पाउने र उपभोक्ताले महँगो मूल्य तिर्नुपर्ने अवस्था रहन्छ।
तर कृषक बजारमा उत्पादक र उपभोक्ताको सिधा सम्पर्क हुने भएकाले किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउँछन् भने उपभोक्ताले पनि ताजा र गुणस्तरीय सामग्री सहुलियत दरमा प्राप्त गर्न सक्छन्।
हाल वडाभन्दा बाहिरका उत्पादकले पनि बजारमा सहभागिता जनाए तापनि क्रमशः स्थानीय उत्पादनलाई प्राथमिकता दिइने योजना रहेको छ। स्थानीय उत्पादन र बाहिरबाट आएका वस्तुको संयोजनले बजारलाई थप आकर्षक र जीवन्त बनाउने अपेक्षा गर्न सकिन्छ।

यसले स्थानीयमा रहेको उद्यमशीलता, सीप र सिर्जनशीलताको व्यावसायीकरणमा समेत सहयोग पुर्याकउँछ। हरिया तरकारी, फलफूल, अन्नबालीका अतिरिक्त सेलरोटी, खजुरी, परम्परागत अचारलगायत नेपाली मौलिक परिकारले समेत यस्ता बजारमार्फत उपयुक्त बजार पाउन सक्छन्।
विश्वका विकसित मुलुकहरू, विशेषगरी युरोप र अमेरिकामा किसान बजार (फार्मर्स मार्केट) लोकप्रिय अभ्यासका रूपमा स्थापित छन्। नेपालमा पनि परम्परागत रूपमा हाटबजारको संस्कृति रहँदै आएको छ।
आधुनिक कृषक बजार मूलतः त्यही हाटबजार संस्कृतिको परिष्कृत र व्यवस्थित रूप हो, जहाँ सुविधासम्पन्न टेन्ट, टेबल तथा सरसफाइयुक्त वातावरणमा वस्तुको बिक्री गरिन्छ। यसले परम्परा र आधुनिकतालाई एकैसाथ जोड्ने काम गर्दछ।
ग्रामीण अर्थतन्त्रलाई सबल बनाउन यस्ता बजारहरूको विस्तार अपरिहार्य छ। कृषक बजारले स्थानीय उत्पादनलाई प्रोत्साहन मात्र गर्दैन, गाउँमै रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्न पनि सहयोग पुर्यागउँछ। यसले स्थानीय उत्पादनप्रति नागरिकको विश्वास र आत्मनिर्भर अर्थतन्त्र निर्माणको आधारसमेत तयार गर्छ।
यद्यपि कृषक बजार सफल बनाउन केही पक्षमा विशेष ध्यान दिन आवश्यक छ। सबैभन्दा महत्वपूर्ण विषय गुणस्तर हो। रासायनिक पदार्थको अत्यधिक प्रयोग गरिएका वा गुणस्तरहीन वस्तुको बिक्रीमा कडाइ गरिनुपर्छ।

त्यसैगरी मूल्यमा एकरूपता कायम गर्न, तौल तथा नापमा पारदर्शिता सुनिश्चित गर्न र बजार क्षेत्रको सरसफाइलाई उच्च प्राथमिकता दिनुपर्छ। उपभोक्ताको विश्वास कायम रहन सके मात्र यस्ता बजार दीर्घकालीन रूपमा सफल हुन सक्छन्।
कृषक बजार केवल किनबेच गर्ने स्थान मात्र होइन, स्थानीय उत्पादन, संस्कृति, उद्यमशीलता र आत्मनिर्भर अर्थतन्त्रलाई जोड्ने साझा मञ्च हो।
स्थानीय तह, किसान र उपभोक्ताको सक्रिय सहभागिताले कृषक बजारलाई स्थायी र प्रभावकारी बनाउन सकिन्छ। यसरी कृषक बजारको विस्तारले समृद्ध ग्रामीण अर्थतन्त्र निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने निश्चित छ।




प्रतिक्रिया राख्नुहोस्