जरिवाना तिर्दै मुख्यमन्त्री शाहले ट्राफिक नियमको पूर्णपालना गर्न सबैलाई आग्रह
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले ट्राफिक नियमको पूर्णपालना गर्न/गराउन सरोकार भएका सबैलाई आग्रह गर्नुभएको छ ।
बिहिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले दुर्घटनाबाट हुने सम्भावित जोखिमबाट बँच्न अनिवार्य रूपमा ट्राफिक नियम पालना गर्नुपर्नेमा जोड दिनुभयो ।
मुख्यमन्त्री शाहले निवास परिसरमा हेलमेट नलगाई मोटरसाइकल चलाएको श्रव्यदृश्य साम्रगी सार्वजनिक भएपछि आलोचना भएको थियो ।
त्यसबारे स्पष्ट पार्दै उहाँले भन्नुभयो, “कानुनका अगाडि कोही सानो वा ठूलो हुँदैन । नियम सबैले पालना गर्नुपर्छ । सोही कारण मैले पनि हेलमेट नलगाएर मोटरसाइकल चलाएको आलोचना भएपछि जरिवाना तिरेको छु । आफ्नो सुरक्षाका लागि सबैले नियम पालना गर्नुपर्छ भन्ने सन्देश दिन सबै माझ जरिवाना तिरेको विषय सार्वजनिक गरेको हुँ ।” मुख्यमन्त्री शाहले जरिवानाबापत रु पाँच सय तिर्नुभएको थियो ।
यसैबीच, मुख्यमन्त्री शाहले मनसुनी वर्षा सक्रिय भइसकेकाले सुदूरपश्चिमको भौगोलिक स्थिति, नदीनाला, बाटोघाटोलगायत क्षेत्रमा वर्षाका कारण हुनसक्ने समस्याबारे सचेत रहन सबैलाई अनुरोध गर्नुभएको छ ।
उहाँले सम्भावित जोखिमको आकलन गरी प्रदेशका सबै संयन्त्र तयारी अवस्थामा रहेका जनाउँदै सरोकार भएका निकायका प्रतिनिधिलाई पनि सोहीअनुसार तयार रहन आग्रह गर्नुभयो ।
“वर्षा सुरु भइसकेको छ । यसले निम्त्याउने समस्याबारे सबै सचेत रहौँ । सरकार सुरक्षाका सबै उपायबारे पूर्वतयारी अवस्थामा छ । नागरिक र सबै सरोकार भएकाहरू पनि सचेत रहनुहोला”, उहाँले भन्नुभयो ।




प्रतिक्रिया राख्नुहोस्