जन सरोकार

‘नेपाली ब्रो’ र प्रेमिका पुर्पक्षका लागि कारागार चलान, भाइ र साथी धरौटीमा रिहा

सामाजिक सञ्जालमार्फत नेपाली ब्रोका रुपमा चर्चामा आउने कुमार थापा र उनकी प्रेमिका प्रतीक्षा आचार्यलाई श्रीमती हत्या प्रकरणमा पुर्पक्षका लागि कारागार चलान गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ।

यसै मुद्दामा पक्राउ परेका थापाका भाइ विक्रम थापा मगर र साथी पुजन थापा क्षेत्री भने जनही एक लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले बिहीबार उक्त आदेश दिएको हो। अदालतको आदेशपछि दुवैलाई कारागार पठाउने प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

अनुसन्धानका क्रममा थापासँग विवाहेत्तर सम्बन्धमा रहेकी जुम्लाकी २५ वर्षीया प्रतीक्षा आचार्य, उनका भाइ विक्रम थापा मगर र साथी पुजन थापा क्षेत्री पनि पक्राउ परेका थिए। प्रहरीले चारै जनाविरुद्ध संगठित रूपमा हत्या योजनामा संलग्न रहेको आरोपसहित मुद्दा अघि बढाएको थियो।

सरकारी वकिलको कार्यालयले कुमार थापाविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा १७७(१) अन्तर्गत कर्तव्य ज्यानको अभियोग दर्ता गरेको छ। प्रतीक्षा आचार्य, विक्रम थापा मगर र पुजन थापा क्षेत्रीविरुद्ध भने सोही कसुर गर्न दुरुत्साहन गरेको अभियोग लगाइएको थियो।

प्रहरी अनुसन्धानले हत्या आकस्मिक नभई पूर्वयोजनाअनुसार भएको देखाएको छ। अनुसन्धान प्रतिवेदनअनुसार कुमार थापा र ईश्वरी भुजेलबीच लामो समयदेखि वैवाहिक सम्बन्धमा तनाव थियो।

दुवैबीच पटक–पटक विवाद, कानुनी मुद्दा तथा सम्बन्ध विच्छेदको अवस्थासम्म पुगेको पारिवारिक कलह रहेको प्रहरीले जनाएको छ।

यसैबीच थापाको अर्को महिलासँग विवाहेत्तर सम्बन्ध विकसित भएपछि दाम्पत्य सम्बन्ध झन् बिग्रँदै गएको र अन्ततः त्यसकै परिणामस्वरूप हत्या भएको प्रहरीको निष्कर्ष छ।

यस प्रकरण सार्वजनिक भएपछि सामाजिक सञ्जालमा पनि व्यापक बहस भएको थियो। परिवारभित्रको हिंसा, विवाहेत्तर सम्बन्ध र सामाजिक सञ्जालमा लोकप्रिय व्यक्तिको वास्तविक जीवनबीचको विरोधाभासलाई लिएर चर्को चर्चा भएको थियो।

अदालतले मुख्य अभियुक्त कुमार थापा र प्रतीक्षा आचार्यलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै अब उनीहरूमाथिको मुद्दा नियमित सुनुवाइ प्रक्रियामा प्रवेश गर्नेछ भने धरौटीमा रिहा भएका विक्रम थापा मगर र पुजन थापा क्षेत्रीले अदालतले तोकेका सर्त पालना गर्दै मुद्दाको सामना गर्नुपर्नेछ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.