चारआली ओभरपासको काम ५० प्रतिशत सकियो
एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित चारआलीमा निर्माणाधीन ओभरपासको करिब ५० प्रतिशत काम सकिएको छ । आयोजना कार्यालयका अनुसार बिर्तामोडको मुक्तिचोकमा निर्माण हुने ओभरपासको काम भने आगामी एक साताभित्र सुरु गरिनेछ ।
एसियाली हाइवे परियोजना पूर्वी खण्डका आयोजना प्रमुख इन्जिनियर सुनीलबाबु पन्तले चारआली ओभरपासको संरचनागत निर्माण आधाभन्दा बढी भइसकेको बताउँदै बाँकी कामलाई तीव्रता दिइएको जानकारी दिनुभयो ।
उहाँका अनुसार बिर्तामोड नगरपालिका-२ स्थित चारपाने खण्डमा निर्माण भइरहेको अर्को ओभरपासको प्रगति पनि करिब ३५ प्रतिशत पुगेको छ ।चारआली चोकमा निर्माणाधीन ओभरपासको पूर्वतर्फ २५१ मिटर र पश्चिमतर्फ २२६ मिटर र्याम्प (भिरालो बाटो वा गाडी कुदाउने) रहने इन्जिनियर पन्तले बताउनुभयो ।
ओभरपास सञ्चालनमा आएपछि पूर्व-पश्चिम राजमार्ग हुँदै आवतजावत गर्ने लामो दूरीका सवारीसाधन चोकमा नरोकी माथिल्लो संरचनाबाट गुड्नेछन् भने स्थानीय सवारीसाधनले तलको सडक प्रयोग गर्नेछन् । यसबाट ट्राफिक व्यवस्थापन, यात्रा समयको बचत तथा दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने आयोजनाको विश्वास छ ।
इन्जिनियर पन्तका अनुसार बिर्तामोडको मुक्तिचोकमा ओभरपास निर्माण ढिलाइ हुनुको मुख्य कारण विद्युत्का खम्बा स्थानान्तरणमा भएको ढिलाइ हो । अहिले अधिकांश खम्बा सार्ने काम सम्पन्न भइसकेकाले यही सातादेखि निर्माण कार्य सुरु गरिने तयारी गरिएको उहाँले बताउनुभयो ।
सरकारले एसियाली विकास बैंक (एडिबी) को सहयोगमा काँकडभिट्टाबाट सुनसरीको लौकहीसम्म ९५ दशमलव ७६ किलोमिटर पूर्व-पश्चिम राजमार्गलाई चारलेनको एसियाली राजमार्गका रूपमा स्तरोन्नति गरिरहेको छ । सोही आयोजनाअन्तर्गत चारआली, चारपाने, बिर्तामोड दमकसहित विभिन्न स्थानमा ओभरपास निर्माण भइरहेको हो ।
चारआली ओभरपास निर्माण सम्पन्न भएपछि बजार क्षेत्रको ट्राफिक जाम अन्त्य भई व्यापार-व्यवसायमा सकारात्मक प्रभाव पर्ने अपेक्षा स्थानीय व्यवसायी शरद् शिवाकोटीले व्यक्त गर्नुभयो । उहाँका अनुसार अहिले दैनिकजसो हुने सवारी चापका कारण बजार क्षेत्र प्रभावित हुने गरेको छ ।
मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले ओभरपास निर्माणले मेचीनगरको शहरी स्वरूपमा नयाँ आयाम थप्ने बताउनुभयो । उहाँले मेची पुलदेखि चारआलीसम्मको बजार क्षेत्रलाई व्यवस्थित बनाउन यस परियोजनाले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
स्थानीय बद्री महतले मेची राजमार्ग र पूर्व-पश्चिम राजमार्गको सङ्गमस्थल चारआलीमा ओभरपास निर्माण भएपछि यातायात थप सहज हुनुका साथै स्थानीय व्यापार, व्यवसाय र समग्र क्षेत्रीय विकासमा टेवा पुग्ने धारणा व्यक्त गर्नुभयो । निर्धारित समयमै आयोजना सम्पन्न हुनेमा आफू आशावादी रहेको उहाँले बताउनुभयो ।




प्रतिक्रिया राख्नुहोस्