‘जरिवानाले आत्मदाह’ भन्ने समाचार भ्रामक : ट्राफिक प्रहरी
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीले ट्राफिक प्रहरीले जरिवाना गरेपछि आत्मदाहको प्रयास गरेको भन्ने विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त घटनालाई ट्राफिक प्रहरीको कारबाहीसँग जोडेर प्रचार–प्रसार गरिएका समाचार भ्रामक, तथ्यहीन र आधारहीन रहेको स्पष्ट पारेको छ।
ट्राफिक प्रहरीका अनुसार गणेश नेपालीले ट्राफिक नियम उल्लङ्घनबापत तिर्नुपर्ने कुनै जरिवाना बाँकी रहेको वा जरिवाना नतिरेका कारण कुनै प्रशासनिक कारबाही गरिएको भन्ने तथ्यसमेत नरहेको कार्यालयले जनाएको छ।
विज्ञप्तिमा आत्मदाह प्रयासको घटनासँग काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय वा मातहतका कुनै पनि ट्राफिक प्रहरीको प्रत्यक्ष वा अप्रत्यक्ष कुनै सम्बन्ध नरहेको उल्लेख गरिएको छ।
त्यसैले ट्राफिक प्रहरीलाई जोडेर समाचार सम्प्रेषण गर्दा सत्यतथ्यको पुष्टि गर्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई कार्यालयले आग्रह गरेको छ।
कार्यालयले कुनै पनि संवेदनशील घटनाबारे आधिकारिक निकायबाट पुष्टि नगरी अनुमानका आधारमा समाचार वा टिप्पणी सार्वजनिक गर्दा गलत सूचना फैलिने, सम्बन्धित निकायको प्रतिष्ठामा असर पुग्ने तथा अनुसन्धान प्रक्रियासमेत प्रभावित हुन सक्ने जनाएको छ।
ट्राफिक प्रहरीले यस्ता घटनामा तथ्यमा आधारित सूचना मात्रै सम्प्रेषण गर्न तथा अपुष्ट विवरण प्रचार–प्रसार नगर्न सबै सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता र सर्वसाधारणसँग अनुरोध गरेको छ।
यसअघि केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा गणेश नेपालीले ट्राफिक प्रहरीले जरिवाना गरेको वा जरिवाना तिर्न नसकेपछि आत्मदाहको प्रयास गरेको दाबी गर्दै समाचार तथा टिप्पणी सार्वजनिक भएका थिए।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले भने ती दाबीलाई पूर्ण रूपमा अस्वीकार गर्दै घटनासँग ट्राफिक प्रहरीको कुनै सम्बन्ध नरहेको स्पष्ट गरेको छ।




प्रतिक्रिया राख्नुहोस्