जन सरोकार

ध्रुवे हात्ती अझै नियन्त्रणबाहिर, डार्ट गरेर दाह्रा काट्ने अभियान जारी

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा लामो समयदेखि मानवीय क्षति गराउँदै आएको कुख्यात जङ्गली ‘ध्रुवे’ हात्तीलाई नियन्त्रणमा लिएर दाह्रा काट्ने तयारी गरिए पनि हालसम्म डार्ट (बेहोस बनाउने औषधियुक्त सुई प्रहार) गर्न सकिएको छैन।

निकुञ्ज प्रशासनले गत शनिबार दुई जनाको ज्यान जाने घटनापछि विशेष अभियान सञ्चालन गरे पनि हात्तीको यकिन अवस्थिति पत्ता लाग्न नसक्दा डार्ट गर्ने कार्य सफल हुन सकेको छैन।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जाका अनुसार ध्रुवे हात्तीलाई नियन्त्रणमा लिन २५ जना अनुभवी प्राविधिक, पशु चिकित्सक, नेपाली सेना तथा निकुञ्जका कर्मचारी परिचालन गरिएका छन्।

हात्तीको गतिविधि निरन्तर निगरानी गरिए पनि घना जङ्गलमा स्थान परिवर्तन गरिरहने भएकाले डार्ट गर्ने उपयुक्त अवसर जुट्न सकेको छैन।

डार्ट प्रविधि जङ्गली जनावरलाई अस्थायी रूपमा बेहोस बनाएर सुरक्षित ढङ्गले नियन्त्रणमा लिन, स्वास्थ्य परीक्षण गर्न वा आवश्यक व्यवस्थापन गर्न प्रयोग गरिन्छ। निकुञ्जले ध्रुवेलाई बेहोस बनाएर दाह्रा काट्ने तयारी गरेको छ।

संरक्षणकर्मीका अनुसार दाह्राका कारण चोरी–सिकारको जोखिम बढ्नुका साथै आक्रामक व्यवहार नियन्त्रणका लागि पनि यो उपाय अपनाउन लागिएको हो।

ध्रुवे हात्तीले गत शनिबार भरतपुर महानगरपालिका–२३ मा २१ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेमाथि आक्रमण गर्दा दुवैको घटनास्थलमै मृत्यु भएको थियो। उक्त घटनापछि स्थानीयवासीमा त्रास बढेपछि निकुञ्जले विशेष निगरानी र नियन्त्रण अभियान तीव्र बनाएको हो।

निकुञ्जका तथ्याङ्कअनुसार ध्रुवे हात्तीले हालसम्म कम्तीमा २५ जनाको ज्यान लिइसकेको छ। विसं २०७४ मा नेपाली सेनाका एक सेनानी (मेजर)लाई आक्रमण गरी हत्या गरेपछि ध्रुवेले लामो समय कुनै मानवीय क्षति गरेको थिएन। करिब नौ वर्षपछि आशिका बोटे र उनका छोराको ज्यान लिएसँगै यो हात्ती फेरि उच्च जोखिमका रूपमा देखिएको छ।

ध्रुवे चितवन राष्ट्रिय निकुञ्जको सबैभन्दा चिनिएको र आक्रामक जङ्गली हात्तीमध्ये एक मानिन्छ। बस्ती नजिक पुग्ने, खेतबारीमा क्षति पुर्‍याउने र मानिसमाथि एक्कासि आक्रमण गर्ने प्रवृत्तिका कारण विगत डेढ दशकदेखि यसले चितवन, नवलपरासी र आसपासका क्षेत्रमा त्रास सिर्जना गर्दै आएको छ।

निकुञ्ज प्रशासनले ध्रुवेको खोजी अभियान निरन्तर जारी रहेको जनाएको छ। हात्ती नियन्त्रणमा नआउञ्जेल निकुञ्ज आसपासका बासिन्दालाई विशेष सतर्कता अपनाउन, रातिको समयमा जङ्गल तथा नदी किनार क्षेत्रमा नजान र हात्ती देखिए तत्काल निकुञ्ज वा सुरक्षाकर्मीलाई जानकारी गराउन आग्रह गरिएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.