यो राजनीतिक दोषारोपणको मात्र होइन, आत्मचिन्तनको समय हो : गगन
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुगुका गणेश नेपालीको आत्मदाहको प्रयासपछि भएको मृत्युलाई राजनीतिक दोषारोपण मात्र नभई गम्भीर आत्मसमीक्षाको विषय रहेको बताउनुभएको छ ।
शुक्रबार सामाजिक सञ्जालबाट टिप्पणी गर्दै सभापति थापाले नेपालीको मृत्यु राज्य, समाज र समग्र नागरिक चेतनालाई आत्मसमीक्षा गर्न बाध्य बनाउने अत्यन्त पीडादायी घटना भएको बताउनुभएको हो।
सभापति थापाले भन्नुभएको छ, गणेश नेपालीको निधन कुनै राजनीतिक दोषारोपण वा आरोप–प्रत्यारोपको विषय मात्र नभई एउटा नागरिकको जीवन, एउटा परिवारको असह्य पीडा र हाम्रो मानवीय संवेदनासँग गाँसिएको विषयका रूपमा लिनुपर्ने धारणा व्यक्त गर्नुभएको हो।
उहाँले यस्तो घटनालाई राजनीतिक बहसमा सीमित नगरी भविष्यमा कुनै पनि नागरिक यस्तो निराशाको अवस्थासम्म पुग्न नपरोस् भन्ने दिशामा राज्य र समाज दुवैले गम्भीर आत्मचिन्तन गर्नुपर्नेमा जोड दिनुभएको छ।
थापाले दिनुभएको प्रतिक्रिया
गणेश नेपालीको घटनाले स्तब्ध बनाएको छ। यो घटना समाज, राज्य र हाम्रो सामूहिक चेतनालाई झस्काउने अत्यन्तै पीडादायी क्षण हो।
यस कठिन घडीमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु। उहाँहरूलाई यो असह्य पीडा सहने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछु।
यससँगै सबैमा एउटा विनम्र अनुरोध छ। यो कुनै राजनीतिक बहस वा दोषारोपणको विषय होइन। यो एउटा नागरिकको जीवन, एउटा परिवारको असह्य पीडा र हाम्रो मानवीय संवेदनासँग जोडिएको विषय हो।
यस कठिन घडीमा गणेशजीका आश्रित परिवारलाई कसरी साथ दिन सकिन्छ, कसरी उनीहरूको दुःखमा केही भए पनि मल्हम लगाउन सकिन्छ भन्नेबारे आ–आफ्नो ठाउँबाट सोचौँ र सक्दो सहयोग गरौँ।
विगत र वर्तमान कसको दोष भन्ने बहसभन्दा पनि यस्ता घटनालाई राज्य सञ्चालनसँग जोडिएको हाम्रो सामूहिक आत्मचिन्तनको विषय बनाऔँ।
हामीले आफैँसँग केही कठिन प्रश्न सोध्नैपर्छ। एउटा युवा किन यस्तो निराशाको बिन्दुसम्म पुग्छ? आफ्ना पीडा सुनाउन आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था किन सिर्जना हुन्छ? राज्यका सेवा र संयन्त्रले नागरिकलाई आड, साथ र भरोसाको अनुभूति गराउनुपर्ने हो, तर किन कतिपय नागरिक राज्यकै सामु आफूलाई यति असहाय महसुस गर्छन्? समाज, परिवार, राज्य र हामी नागरिकका रूपमा कहाँ चुक्यौँ?
यी प्रश्नहरूको इमानदार उत्तर खोज्नु र भविष्यमा कुनै पनि नागरिकले यस्तो बाटो रोज्न नपर्ने वातावरण निर्माण गर्नु नै गणेश नेपालीप्रतिको साँचो श्रद्धाञ्जली हुनेछ।
त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि बिहीबार आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको वीर अस्पतालको बर्न तथा प्लास्टिक सर्जरी विभागमा उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको थियो।
उहाँको निधनपछि घटनाको कारण, राज्यको सेवा प्रणाली तथा नागरिकको मनोवैज्ञानिक र सामाजिक अवस्थाबारे विभिन्न तहमा बहस सुरु भएको छ।




प्रतिक्रिया राख्नुहोस्