प्रदेशमधेश

मधेसमा वर्तमान गठबन्धन सरकारलाई निरन्तरता दिइने

मधेस प्रदेशमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को गठबन्धन सरकारलाई निरन्तरता दिने सहमति भएको छ ।

तीन दलका संसदीय दलका नेताहरूको संयुक्त बैठकले मुख्यमन्त्री कृष्णप्रसाद यादवको नेतृत्वमा रहेको वर्तमान गठबन्धनलाई यथावत राख्ने निर्णय गरेको हो ।

गठबन्धनमा एमाले संसदीय दलका नेता सरोजकुमार यादव र नेकपाका संसदीय दलका नेता तथा अर्थमन्त्री युवराज भट्टराई सहभागी हुनुहुन्थ्यो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री भट्टराईले अन्य प्रदेशमा कांग्रेस–एमालेबीचको राजनीतिक सहकार्य अन्त्य भए पनि मधेस प्रदेशमा भने वर्तमान राजनीतिक समीकरणलाई निरन्तरता दिने सहमति भएको जानकारी दिनुभयो । उहाँले प्रदेशको राजनीतिक स्थायित्वलाई ध्यानमा राख्दै तीन दलबीचको सहकार्यलाई कायम राख्ने निर्णय भएको बताउनुभयो ।

एमाले संसदीय दलका नेता सरोजकुमार यादवले तीन दलको सत्प्रयासबाट प्रदेशको बजेट पारित भएको उल्लेख गर्दै आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिइने बताउनुभयो ।

उहाँले अन्य प्रदेशको राजनीतिक समीकरणभन्दा मधेस प्रदेशको अवस्था फरक रहेको उल्लेख गर्दै स्थायित्व, समृद्धि र विकासलाई केन्द्रमा राखेर तीन दल एकताबद्ध भएर अघि बढ्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

नेपाली कांग्रेसका संसदीय दलका नेता तथा मुख्यमन्त्री कृष्णप्रसाद यादवले यहाँको राजनीतिक अवस्था फरक रहेकाले वर्तमान राजनीतिक समीकरणलाई कायम राख्ने सहमति भएको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.