शेयरबजारमा कृत्रिम उतारचढाव सिर्जना गर्नेविरुद्ध अनुसन्धान भैरहेको छ : अर्थमन्त्रीको सचिवालय
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयले शेयरबजारका विषयमा भ्रामक तथा प्रायोजित हल्ला फैलाइएको भन्दै लगानीकर्तालाई सचेत रहन आग्रह गरेको छ। पछिल्ला केही सातादेखि शेयरबजार निरन्तर दबाबमा रहँदा लगानीकर्तामा असन्तुष्टि बढेको छ।
यसैबीच सामाजिक सञ्जाल र विभिन्न अनौपचारिक माध्यमबाट नियामक निकाय, ठूला लगानीकर्ता तथा बजारसँग सम्बन्धित व्यक्तिमाथि अनुसन्धान र पक्राउ हुन लागेको भन्दै विभिन्न हल्ला फैलिन थालेपछि अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि पनि तीव्र आलोचना र राजनीतिक आक्रमण केन्द्रित भएको छ।
यसै सन्दर्भमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयले सोमबार अपिल जारी गर्दै बजारमा नियामक निकायलाई प्रभावमा पारेर कृत्रिम उतारचढाव सिर्जना गर्ने प्रवृत्तिविरुद्ध अनुसन्धान अघि बढिरहेको जनाएको छ।
सचिवालयले भारतका चर्चित शेयर घोटाला अभियुक्त हर्षद मेहताको उदाहरण दिँदै नेपालमा पनि त्यस्तै प्रकृतिका गतिविधि दोहोरिन नदिने सरकारको प्रतिबद्धता रहेको उल्लेख गरेको छ।
सचिवालयका अनुसार नियामक निकायमार्फत शेयरबजार सुधारका लागि योजनाबद्ध रूपमा काम भइरहेको र बजारलाई प्रभावित पार्ने गतिविधिमा संलग्न व्यक्तिहरू अनुसन्धानको दायरामा आएका छन्।
पक्राउको हल्ला ‘प्रायोजित’
सचिवालयले बजारमा केही व्यक्तिलाई पक्राउ गर्न लागिएको वा अनुसन्धान भइरहेको भन्दै नामै किटेर फैलाइएका सूचना आधारहीन र नियोजित रहेको दाबी गरेको छ।
सरकारले कम बोल्ने र धेरै काम गर्ने शैली अपनाएको अवस्थाको फाइदा उठाउँदै केही समूहले त्रास सिर्जना गरेर बजारलाई प्रभावित पार्न खोजेको आरोप सचिवालयको छ।
सचिवालयले सरकार कुनै व्यक्तिलाई लक्षित गरेर कारबाही गर्ने मनसायमा नभएको स्पष्ट गर्दै अपुष्ट सूचना र अफवाहका आधारमा लगानी निर्णय नगर्न आग्रह गरेको छ।
‘क्लबहाउस र सामाजिक सञ्जालका हल्लामा विश्वास नगर्नू’
शेयरबजारसम्बन्धी आधिकारिक जानकारीका लागि सामाजिक सञ्जालका ग्रुप, क्लबहाउस, ह्वाट्सएप वा म्यासेन्जर समूह तथा स्वयंघोषित विश्लेषकहरूको भर नपर्न सचिवालयले आग्रह गरेको छ।
यस्ता माध्यमबाट त्रास फैलाएर केही व्यक्तिले व्यक्तिगत लाभ लिन खोजेको हुन सक्ने भन्दै लगानीकर्तालाई आधिकारिक निकायबाट जानकारी लिएर मात्र लगानी गर्न सुझाव दिइएको छ।
अर्थतन्त्रका सूचक सुधारोन्मुख रहेको दाबी
सचिवालयले मुलुकका अधिकांश आर्थिक सूचक सकारात्मक दिशामा अघि बढिरहेको दाबी गरेको छ। बैंकिङ प्रणालीमा पर्याप्त तरलता, घट्दो ब्याजदर, स्थिर सरकार तथा नियामक निकायमा विज्ञ र सक्षम नेतृत्व नियुक्त हुने प्रक्रियालाई अर्थतन्त्रका सकारात्मक आधारका रूपमा प्रस्तुत गरिएको छ।
यस्तै, नियमित आम्दानी हुने करदातालाई आयकरमा दिइएको छुट, राजस्व विवाद समाधानका लागि ल्याइएका विशेष सुविधा तथा निजी क्षेत्रलाई लगानीतर्फ प्रोत्साहित गर्ने नीतिलाई पनि अर्थतन्त्र सुधारका महत्वपूर्ण कदमका रूपमा सचिवालयले उल्लेख गरेको छ।
शेयरबजार पछिल्ला केही महिनादेखि नीतिगत अन्योल, लगानीकर्ताको मनोबलमा आएको कमी, नाफा सुरक्षित गर्ने प्रवृत्ति तथा बजारसम्बन्धी विभिन्न हल्लाका कारण तीव्र उतारचढावबाट गुज्रिरहेको छ।
यही अवस्थाबीच अर्थमन्त्रीमाथि बजार गिरावटको जिम्मेवारी थोपर्ने प्रयास भइरहेका बेला सचिवालयले पहिलो पटक औपचारिक रूपमा सार्वजनिक अपिल जारी गर्दै लगानीकर्तालाई संयमता अपनाउन र तथ्यमा आधारित सूचना मात्र विश्वास गर्न आग्रह गरेको छ।




प्रतिक्रिया राख्नुहोस्