विश्व समाचार

ट्रम्पको दाबी : रुस–चीनसहित चार देशले अमेरिकी निर्वाचन प्रणाली प्रभावित गर्न सक्छन्

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार (स्थानीय समय) रुस, चीन, इरान, उत्तर कोरिया तथा गैर–राज्य पक्षहरूसँग अमेरिकाको निर्वाचन पूर्वाधार (इलेक्सन इन्फ्रास्ट्रक्चर) मा हस्तक्षेप गर्न सक्ने क्षमता रहेको दाबी गर्नुभएको छ ।

उहाँले हालै गोप्य वर्गीकरणबाट सार्वजनिक गरिएका गुप्तचर मूल्याङ्कन (डिक्लासिफाइड इन्टेलिजेन्स)लाई उद्धृत गर्दै इलेक्ट्रोनिक मतदान मेसिन र मतगणना प्रणालीको सुरक्षा सम्बन्धमा पुनः प्रश्न उठाउनुभएको हो । यी दस्तावेजहरूले सन् २०२० जनवरीदेखि २०२६ जुनसम्मको अवधिलाई समेटेका छन्।

निर्वाचनको निष्पक्षता र सुरक्षा विषयमा राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले आफ्नो प्रशासनले सार्वजनिक गरेको तेस्रो चरणको दस्तावेजले अमेरिकी अधिकारीहरू लामो समयदेखि देशको निर्वाचन पूर्वाधारमा रहेका कमजोरीबारे जानकार रहेको देखाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “चीनको हस्तक्षेप लुकाउनु त केवल सुरुआत मात्र थियो। हामीले सार्वजनिक गरिरहेका तेस्रो चरणका दस्तावेजहरूले धेरै वर्षसम्म अमेरिकी जनतालाई निर्वाचन पूर्वाधारको सुरक्षाबारे खुला रूपमा भ्रममा राखिएको प्रमाणित गर्छन्। इलेक्ट्रोनिक मतदान मेसिन र मतगणना प्रणाली कमजोर छन् र तिनमा सजिलै हस्तक्षेप गर्न सकिन्छ।”

अमेरिकी गुप्तचर समुदाय (यूएस इन्टेलिजेन्स कम्युनिटी) को मूल्याङ्कन उद्धृत गर्दै ट्रम्पले भन्नुभयए, “हाम्रो निष्कर्षअनुसार रुस, चीन, इरान र उत्तर कोरियासहित गैर–राज्य समूहहरूसँग पनि अमेरिकी निर्वाचन पूर्वाधारमा हस्तक्षेप गर्न सक्ने क्षमता छ।”

उहाँले उक्त मूल्याङ्कनमा केन्द्रीयकृत निर्वाचनसम्बन्धी डाटा भण्डारहरू—जस्तै मतदाता दर्ता डेटाबेस, पोलबुक तथा आधिकारिक निर्वाचन वेबसाइटहरू सबैभन्दा बढी जोखिममा रहेको उल्लेख गरिएको बताँदै ती प्रणालीमा पहुँच पाएर विरोधी पक्षहरूले निर्वाचन प्रक्रियामा अवरोध सिर्जना गर्न सक्ने पनि मूल्याङ्कनमा उल्लेख रहेको ट्रम्पले दाबी गर्नुभयो।

ट्रम्पले यसलाई “हाम्रो लोकतन्त्रको मुटुमै लक्षित गरिएको साइबर खतरा” को संज्ञा दिँदै आफ्नो प्रशासनले सन् २०२० जनवरीदेखि २०२६ जुनसम्मका गुप्तचर निष्कर्ष सार्वजनिक गरिरहेको बताउनुभयो ।

उहाँले नयाँ सार्वजनिक गरिएका दस्तावेजमा अमेरिकी केन्द्रीय गुप्तचर एजेन्सी (सीआईए) को एउटा प्रतिवेदन पनि समावेश रहेको, जसमा भेनेजुएलाको राष्ट्रपति निकोलस मादुरो नेतृत्वको सरकारमाथि सन् २०२० को निर्वाचनमा डिजिटल माध्यमबाट नतिजा हेरफेर गर्ने योजना बनाएको आरोप लगाइएको छ।

ट्रम्पले भन्नुभयो, “आज हामीले सार्वजनिक गरेका दस्तावेजहरूले मादुरो शासनले सन् २०२० मा आफ्नै देशको निर्वाचन परिणाम डिजिटल रूपमा हेरफेर गर्ने विशेष योजनाबारे सीआईएले जानकारी प्राप्त गरेको देखाउँछन्।”

उहाँका अनुसार उक्त गुप्तचर विवरणमा अडिट गर्दा समेत पत्ता लगाउन नसकिने गरी मत परिणाम डिजिटल रूपमा परिवर्तन गर्ने प्रविधि विकास गरिएको उल्लेख छ।

ट्रम्पले यो जानकारीले “अमेरिकाको आफ्नै निर्वाचन प्रणाली कहिल्यै ह्याक वा प्रभावित हुन नदिन तत्काल कदम चाल्नुपर्ने आवश्यकता स्पष्ट पार्ने” बताउनुभयो।

यसैबीच, ह्वाइट हाउसले सार्वजनिक गरेको विज्ञप्तिमा डिक्लासिफाइड गुप्तचर मूल्याङ्कन तथा सम्बन्धित प्रतिवेदनहरू अमेरिकी सरकारले लामो समयदेखि इलेक्ट्रोनिक मतदान मेसिन, मतगणना प्रणाली तथा केन्द्रीयकृत निर्वाचनसम्बन्धी डाटाबेस, जस्तै मतदाता दर्ता प्रणाली, पोलबुक र आधिकारिक निर्वाचन वेबसाइटहरू—मा रहेका सुरक्षा कमजोरीबारे जानकारी राख्दै आएको देखाउन सार्वजनिक गरिएको जनाएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.