जापानको चर्चित बाँदर ‘पञ्च’ एक वर्षको, विश्वभरबाट शुभकामनाको ओइरो
जापानको इचिकावा सिटी प्राणी तथा वनस्पति उद्यानमा हुर्किएको चर्चित बाँदर ‘पञ्च’ आइतबार एक वर्षको भएको छ। पञ्चको पहिलो जन्मदिनका अवसरमा जापानसहित विभिन्न देशका प्रशंसकहरूले हजारौं शुभकामना सन्देश पठाएका छन्।
जन्मिएलगत्तै आमाले छाडेपछि कृत्रिम रूपमा हुर्काइएको यो बाँदर सानो छँदा सुन्तलारङ्गी ओराङ्गुटानको खेलौना च्यापेर बसेको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेपछि विश्वभर चर्चामा आएको थियो।
अहिले पञ्च खेलौनाको सहारामा बस्दैन, बरु आफ्नै समूहका अन्य बाँदरसँग रमाउँदै खेल्दै हुर्किरहेको छ। तर, उसप्रतिको मानिसहरूको माया भने झन् बढ्दै गएको छ।
जन्मसँगै आमाबाट अलग, खेलौनाले बनायो जीवनको सहारा
एक वर्षअघि आइतबार जन्मिएको पञ्चलाई जन्मिएलगत्तै उसकी आमाले छाडेकी थिइन्। प्राणी उद्यानका अनुसार बच्चा जन्माउँदाको अत्यधिक थकानका कारण आमाले उसलाई त्यागेको अनुमान गरिएको छ।
त्यसपछि प्राणी उद्यानका कर्मचारीहरूले पञ्चलाई आफ्नै सन्तानझैँ स्याहार गरेर हुर्काए। नवजात मकाक बाँदरका लागि कुनै वस्तु मजबुत रूपमा समात्न सक्ने क्षमता अत्यन्त आवश्यक हुने भएकाले उसको हातको पकड विकास गर्न ओराङ्गुटानको नरम खेलौना दिइएको थियो। यही खेलौनालाई अँगालो हालेर बसेका पञ्चका तस्बिरहरूले पछि विश्वभरका मानिसको मन जिते।

अहिले साथीहरूसँग घुलमिल
पहिले खेलौना च्यापेर बस्ने गोलुमोलु बच्चा बाँदर अहिले हुर्किएर करिब ५० वटा बाँदर रहेको समूहमा सहज रूपमा घुलमिल हुन थालेको छ। अन्य बाँदरसँग खेल्ने र रमाउने भएकाले अहिले उसलाई छुट्याउन पनि पहिलेजस्तो सजिलो छैन।
यद्यपि, पञ्चलाई हेर्न आउने आगन्तुकहरूको भीड अझै उस्तै छ। प्राणी उद्यानका प्रमुख ताकाशी यासुनागाका अनुसार पञ्चको पहिलो जन्मदिनमा जापानभित्र र बाहिरबाट करिब दुई हजार पाँच सय वटा शुभकामना कार्ड प्राप्त भएका छन्।
ती कार्ड र सन्देशहरू पञ्चको जन्मदेखि अहिलेसम्मको यात्रालाई समेटिएको विशेष प्रदर्शनीमा राखिएका छन्, जहाँ आगन्तुकहरूले भिडियोमार्फत उसको संघर्षपूर्ण जीवनयात्रा पनि अवलोकन गर्न सक्छन्।
छ महिनापछि समूहमा, त्यहीँबाट सुरु भयो लोकप्रियता
जन्मपछिका छ महिना विशेष निगरानीमा हुर्काइएपछि गत जनवरीको मध्यतिर पञ्चलाई अन्य बाँदर रहेको घेराभित्र राखिएको थियो। सुरुमा ठूला बाँदरहरूले उसलाई धपाउने गर्थे। त्यस्तो बेला पञ्च दौडिएर आफ्नो प्रिय ओराङ्गुटान खेलौनाको अँगालोमा पुग्थ्यो र त्यहीँ सुरक्षित महसुस गर्थ्यो।

फेब्रुअरीमा प्राणी उद्यानले सामाजिक सञ्जालमा पञ्च र खेलौनाका तस्बिरहरू सार्वजनिक गरेपछि ती तस्बिरहरू विश्वभर भाइरल भए। त्यसपछि प्राणी उद्यानमा दशौं हजार नयाँ आगन्तुक पुगे, जसमा करिब आधा विदेशी पर्यटक थिए।
सामाजिक सञ्जालमाअभियान नै चल्यो। मानिसहरूले पञ्चको एक्लो संघर्ष, नयाँ समूहमा स्वीकार गरिन खोज्ने प्रयास र उसको साहसबाट आफूहरू भावुक भएको प्रतिक्रिया दिएका थिए।
धेरैका लागि प्रेरणाको स्रोत
कोबेकी बासिन्दा कुमी इशिजावाले सामाजिक सञ्जालमार्फत पञ्चको कथा थाहा पाएपछि आफू बिरामी अवस्थामै पनि एक दिन पञ्चलाई भेट्ने लक्ष्य बनाएको बताइन्।

“पञ्चको संघर्षले मलाई निकै प्रेरणा दियो। म आफैँलाई ‘म निको हुन्छु र पञ्चलाई भेट्न जान्छु’ भनेर हौस्याइरहेँ। अहिले म पूर्ण रूपमा निको भएर यहाँ आइपुगेकी छु। उसलाई प्रत्यक्ष देख्न पाउँदा अत्यन्त खुसी लागेको छ,” उनले भनिन्।
त्यस्तै, लामो समयदेखि इचिकावामा बस्दै आएकी येये लाइट्सले पनि छोरीमार्फत पञ्चको कथा थाहा पाएपछि पहिलो पटक प्राणी उद्यान जान थालेकी बताइन्। अहिले उनी वार्षिक सदस्यसमेत बनेकी छन्।
“आज म पञ्चका लागि केक पनि ल्याएकी छु। साथीहरूसँग मिलेर उसको जन्मदिन मनाउँदैछु। उसलाई माया गरेर हुर्काउने दुई जना हेरचाहकर्ताप्रति म अत्यन्त आभारी छु,” उनले भनिन्।
संघर्षबाट बनेको विश्वव्यापी प्रतीक
पञ्चको लोकप्रियता केवल उसको प्यारा रूपका कारण होइन। जन्मिएलगत्तै आमाबाट अलग हुनुपरेको, मानिसहरूको स्नेहमा हुर्किएको, नयाँ समूहमा स्वीकार गरिन गरेको कठिन संघर्ष र अन्ततः आफ्नै समुदायमा घुलमिल हुन सफल भएको यात्राले विश्वभरका लाखौं मानिसलाई भावुक बनाएको छ।
आज पञ्च खेलौना च्यापेर बस्ने असहाय बच्चा बाँदर रहेन। ऊ आफ्ना साथीहरूसँग रमाउने स्वस्थ र चञ्चल बाँदर बनेको छ। तर, उसको संघर्ष र जीवटताको कथा भने अझै पनि संसारभरका मानिसका लागि आशा, साहस र ममताको प्रतीक बनेर जीवित छ।




प्रतिक्रिया राख्नुहोस्