राजनीति

जलवायु चुनौतीबीच जलसम्पदाको नयाँ बहस

जलवायु परिवर्तनका कारण विश्वभर जलस्रोत व्यवस्थापन, ऊर्जा सुरक्षा र खाद्य सुरक्षामाथि नयाँ चुनौती थपिइरहेका बेला नेपालमा जलसम्पदाको दिगो उपयोग र राष्ट्रिय विकासमा यसको भूमिकाबारे बहस सुरु भएको छ।

यही सन्दर्भमा इञ्जिनीयर तथा जलस्रोत विज्ञ महाजन यादवद्वारा लिखित ‘नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक गरिएको छ।

पुस्तकको लोकार्पण गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले नेपालको जलसम्पदालाई राष्ट्रिय समृद्धिको प्रमुख आधारका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो।

उहाँले नेपाल जलसम्पदाका दृष्टिले विश्वकै धनी मुलुकमध्ये एक भए पनि त्यसको वैज्ञानिक, योजनाबद्ध र राष्ट्रिय हितअनुकूल उपयोग हुन नसकेको बताउनुभयो।

माया पब्लिकेसन्सद्वारा आयोजित कार्यक्रममा अध्यक्ष यादवले पुस्तकको नेपाली संस्करणसँगै अङ्ग्रेजी संस्करणको पनि संयुक्त रूपमा विमोचन गर्नुभयो।

उहाँले जलस्रोतलाई केवल विद्युत् उत्पादनमा मात्र सीमित नराखी कृषि, सिँचाइ, खानेपानी, उद्योग, वातावरण संरक्षण, विपद् जोखिम न्यूनीकरण तथा समग्र आर्थिक रूपान्तरणसँग जोडेर दीर्घकालीन राष्ट्रिय रणनीति निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

जलवायु परिवर्तनका कारण हिमाल पग्लिने, हिमताल फुट्ने जोखिम, अनियमित वर्षा, बाढी–पहिरो र खडेरीजस्ता समस्या बढिरहेका अवस्थामा जलसम्पदाको समग्र र एकीकृत व्यवस्थापन अपरिहार्य भएको उहाँको भनाइ थियो।

अध्यक्ष यादवले उपलब्ध जलस्रोतको प्रभावकारी उपयोग गर्दै जलविद्युत्, सिँचाइ, खानेपानी र औद्योगिक विकासलाई सँगसँगै अघि बढाउन सके मात्र जलसम्पदालाई समृद्धिको आधारमा रूपान्तरण गर्न सकिने बताउनुभयो।

उहाँले जलसम्पदासम्बन्धी दीर्घकालीन राष्ट्रिय नीति र राजनीतिक प्रतिबद्धता अभावका कारण नेपालले आफ्नो प्राकृतिक सम्भावनाअनुसार लाभ लिन नसकेको धारणा व्यक्त गर्नुभयो।

लेखक महाजन यादवले पुस्तक तयार पार्नुको उद्देश्य जलस्रोतसम्बन्धी नीतिगत बहसलाई थप तथ्यपरक बनाउनु तथा नीति निर्माता, अनुसन्धानकर्ता, विद्यार्थी र सरोकारवालाका लागि उपयोगी सन्दर्भ सामग्री उपलब्ध गराउनु रहेको बताउनुभयो।

उहाँका अनुसार पुस्तकमा नेपालको जलस्रोत विकासको ऐतिहासिक पृष्ठभूमि, नदी प्रणाली, जलविद्युत् तथा सिँचाइ विकासका सम्भावना, अन्तरदेशीय नदी व्यवस्थापन, जलनीति, जलवायु परिवर्तनले सिर्जना गरेका चुनौती तथा भविष्यमा अवलम्बन गर्नुपर्ने नीतिगत र व्यावहारिक उपायहरूको विस्तृत विश्लेषण समेटिएको छ।

पुस्तकले जलसम्पदालाई केवल प्राकृतिक स्रोतका रूपमा नभई आर्थिक समृद्धि, वातावरणीय सन्तुलन र दिगो विकासको आधारका रूपमा प्रस्तुत गरेको लेखक यादवले बताउनुभयो।

कार्यक्रममा पूर्वमन्त्री गणेश शाह, लोकसेवा आयोगका कार्यवाहक अध्यक्ष माधव बेल्वासे, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडी, मन्त्रालयका पूर्वसचिव महेन्द्रनाथ अर्याल, डा. द्वारिकानाथ ढुङ्गेल, ऊर्जा विज्ञ रत्नेश्वरलाल कायस्थलगायतले जलवायु परिवर्तनका बढ्दो चुनौतीबीच नेपालको जलसम्पदाको संरक्षण, दिगो उपयोग र दीर्घकालीन नीतिगत सुधारको आवश्यकतामा जोड दिँदै पुस्तकले यस विषयमा नयाँ बहसको आधार तयार गर्ने विश्वास व्यक्त गर्नुभयो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.