करण केसीले एकदिवसीय क्रिकेटमा १०० विकेट पूरा गरेका छन् । नेदरल्यान्ड्समा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबार नामिबियाविरुद्धको खेलमा दुई विकेट लिए लिएसँगै करणले एकदिवसीय क्रिकेटमा १०० विकेट पूरा गरेका हुन् ।
उनले ७२ ओडिआई खेलमा १०३ विकेट लिइसकेका छन् । करण नेपालबाट एकदिवसीय क्रिकेटमा १०० विकेट लिने दोस्रो खेलाडी बनेका छन् । यसअघि लेग स्पीनर सन्दीप लामिछानेले १०० विकेट लिने पहिलो खेलाडी बनेका थिए ।
१०० विकेट हासिल गर्ने क्रममा उनले सोमबार नामिबियाविरुद्ध करियरकै उत्कृष्ट बलिङ गर्दै १० ओभरमा २ मेडन राख्दै २९ रन खर्चेर ५ विकेट लिएका छन् । त्यस्तै उनले चार पटक एकै खेलमा ५ विकेट लिएका छन् ।
यद्यपि नेपालले यस खेलमा नामिबियासँग ३ रनको साँघुरिलो हार व्यहोरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २११ रन बनाएको थियो । नामिबियाले दिएको २१२ रन पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २०८ रनमात्र बनाउन सक्यो । जारी प्रतियोगितामा नेपालको यो लगातार तस्रो हार हो ।




प्रतिक्रिया राख्नुहोस्