बिशेषराजनीति

चिकित्सकमाथिको आक्रमणपछि आन्दोलन थप चर्कियो, ६८ चिकित्सकद्वारा सामूहिक राजीनामा

चिकित्सकमाथि हुने आक्रमणको विरोधमा आन्दोलनरत वीरगञ्जस्थित नारायणी अस्पतालका ६८ जना सरकारी चिकित्सकले सामूहिक राजीनामा दिएका छन्।

गत साउन ८ गते अस्पतालभित्र चिकित्सकमाथि भएको कुटपिट, स्वास्थ्यकर्मीमाथिको आक्रमण तथा अस्पतालमा भएको तोडफोडको घटनापछि सुरु भएको विवादले नयाँ मोड लिँदै चिकित्सकहरू सामूहिक रूपमा पदबाट अलग हुने निर्णयमा पुगेका हुन्।

अस्पतालका प्रवक्ता तथा सूचना अधिकारी डा. उदयनारायण सिंहका अनुसार अस्पतालमा कार्यरत ६८ जना चिकित्सकले मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहसमक्ष सामूहिक राजीनामा बुझाउनुभएको हो।

साउन ८ गते नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद राममाथि कुटपिट हुनुका साथै अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमण भएको थियो।

घटनाका क्रममा अस्पतालमा तोडफोडसमेत गरिएको थियो। गम्भीर घाइते डा. रामको हाल काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

उक्त घटनापछि दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्नुपर्ने माग राख्दै चिकित्सकहरूले आकस्मिक सेवाबाहेकका सबै सेवा स्थगित गरी आन्दोलन गरिरहेका छन्।

डा. सिंहका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार आकस्मिक सेवा सञ्चालन गर्न आग्रह गरेपछि चिकित्सकहरू वार्ताका लागि सकारात्मक हुनुभएको थियो।

चिकित्सकमाथि आक्रमण गर्नेहरूलाई पक्राउ गरी कानुनी कारबाही गरिने आश्वासनपछि अस्पतालका चिकित्सकहरू जिल्ला प्रशासन कार्यालय पर्सामा छलफलका लागि पुग्नुभएको थियो।

तर, वार्ताका क्रममा वातावरण तनावपूर्ण बनेको उहाँले बताउनुभयो। उहाँका अनुसार नेपाल चिकित्सक सङ्घका एक प्रतिनिधिले दोषीमाथि कारबाही नभए प्रशासनिक नेतृत्वको समेत राजीनामा माग्न सकिने धारणा राख्नुभएपछि प्रमुख जिल्ला अधिकारी आक्रोशित हुनुभएको थियो।

डा. सिंहका अनुसार त्यसपछि प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखले चिकित्सकप्रति अपमानजनक अभिव्यक्ति प्रयोग गर्दै प्रहरीलाई नियन्त्रणमा लिन निर्देशन दिनुभएको थियो।

वार्तास्थलबाट बाहिरिने क्रममा प्रहरी परिचालन गरी चिकित्सकहरूलाई घेरा हालेर कार्यालयभित्र लगिएको र करिब एक घण्टासम्म नियन्त्रणमा राखिएको उहाँको आरोप छ।

“हामीलाई अपराधीसरह व्यवहार गरियो। यस्तो वातावरणमा चिकित्सक भएर काम गर्न सकिँदैन भन्ने निष्कर्षमा पुगेर सामूहिक राजीनामा दिएका हौँ,” डा. सिंहले भन्नुभयो।

उहाँका अनुसार प्रशासनको व्यवहारप्रति असन्तुष्टि जनाउँदै सरकारी चिकित्सकहरूले सामूहिक राजीनामाको निर्णय गर्नुभएको हो।

यसैबीच, नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमण र त्यसपछिका घटनाक्रमको विरोधमा नेपाल चिकित्सक सङ्घले मङ्गलबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक सेवाबाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेको छ।

चिकित्सकमाथिको आक्रमण, वार्ताका क्रममा उत्पन्न विवाद र त्यसपछि भएको सामूहिक राजीनामाले स्वास्थ्यकर्मीको सुरक्षा, अस्पतालको कार्य वातावरण तथा स्वास्थ्य संस्थामा हुने हिंसाप्रति राज्यको जिम्मेवारीबारे पुनः गम्भीर बहस सुरु भएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.