देवानगञ्ज तनावपछि शीर्ष नेताहरू एउटै टेबलमा, सर्वदलीय बैठक सुरु
सुनसरीको देवानगञ्जमा भएको घटनालाई लिएर सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बैठक सुरु भएको छ।
धार्मिक जुलुसका क्रममा उत्पन्न तनाव, तोडफोड, आगजनी तथा त्यसपछिको सुरक्षा अवस्थाबारे समीक्षा गर्न प्रमुख राजनीतिक दलहरूको सर्वदलीय बैठक सुरु भएको हो।
घटनापछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गर्नुपरेको थियो भने सामाजिक सद्भाव र शान्ति सुरक्षालाई लिएर देशव्यापी चासो बढिरहेका बेला बैठक आयोजना गरिएको हो।
बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा -एमाले)का महासचिव शङ्कर पोखरेल, जनमत पार्टीका अध्यक्ष सीके राउत, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन, अर्थमन्त्री स्वर्णिम वाग्ले सहभागी हुनुहुन्छ ।
यसै गरी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, रास्वपाका उपनेता गणेश पराजुली, महामन्त्री विपिनकुमार आचार्य, राप्रपाका प्रमुख सचेतक खुश्बु ओली, श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईलगायत नेताहरूको सहभागिता रहेको छ ।
बैठकमा देवानगञ्ज घटनाको विस्तृत समीक्षा, घटनाबाट उत्पन्न परिस्थितिको मूल्याङ्कन, सामाजिक तथा धार्मिक सद्भाव कायम गर्ने उपाय, शान्ति सुरक्षा सुदृढ बनाउने विषय तथा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ।




प्रतिक्रिया राख्नुहोस्