आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ शृङ्खला अन्तर्गत आफ्नो अन्तिम खेलमा आज नेपालले घरेलु टोली नेदरल्यान्ड्सको सामना गर्दैछ । नेदरल्यान्ड्स, नामिबिया र नेपाल सम्मिलित शृङ्खलाअन्तर्गत नेपालले आज नेदरल्यान्ड्ससँग दोस्रो खेल खेल्न लागेको हो ।
जारी शृङ्खलाअन्तर्गत नेदरल्यान्ड्ससँग भएको पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो । नेदरल्यान्ड्सको उट्रेचमा हुने खेल नेपाली समयअनुसार दिउसो २ः४५ बजे सुरु हुनेछ । आज नेपाल नेदरल्यान्ड्स पराजित गर्दै शृङ्खलामा पहिलो जित दर्ता गर्ने योजनाको साथ मैदान उत्रदै छ भने नेदरल्यान्ड्स पनि नेपाललाई दोस्रो खेलमा पनि पराजित गर्ने सुरमा रहेको छ ।
प्रतियोगितामा नेपालले नामिबियासँग लगातार दुई खेलमा पराजय भोगेको थियो । नेपाली टोलीका लागि विश्वकप ग्लोबल छनोटमा पुग्ने सभावना लगभग सकिएको छ । लिग २ को शीर्ष ४ मा पर्न सके नेपाल ओडीआई विश्वकप छनोटमा सिधै प्रवेश गर्ने थियो भने शीर्ष ६ मा परे ओडीआई स्टाटस जोगिनेछ ।
यसअघि नेपालले लिग २ अघि तयारीस्वरुप जर्सीसँग दुई खेल खेलको थियो । जसमा नेपालले दुई खेलमा नै विजयी भएको थियो । लिग २ अंकतालिकामा नेपाल ३० खेलबाट २४ अंकसहित छैटौं स्थानमा रहेको छ भने ३० खेलमा ३६ अंक जोडेको नेदरल्यान्ड्स तेस्रो स्थानमा रहेको छ ।
नेपाली टिम
रोहित पौडेल (कप्तान) दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आशिफ शेख, इशान पाण्डे, आरिफ शेख, गुल्सन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, भीम सार्की, अर्जुन कुमाल, विनोद भण्डारी ।
रिजर्भ खेलाडी
सन्दीप जोरा, साहब अलाम, हेमन्त धामी, आकाश चन्द र युवराज खत्री ।



प्रतिक्रिया राख्नुहोस्