बिशेषराजनीति

मुलुक असहज परिस्थितिमा रहेका बेला प्रधानमन्त्रीले नेतृत्वदायी भूमिका खेल्नुपर्छ : थापा

सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि सत्तारुढ दल र प्रमुख प्रतिपक्षबीच देखिएको संवादहीनता अन्त्य गर्दै राष्ट्रिय एकताको सन्देश दिने उद्देश्यले बुधबार सिंहदरबारमा सर्वदलीय बैठक सम्पन्न भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बसेको बैठकमा सहभागी नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय संकटका बेला राजनीतिक आरोप–प्रत्यारोपभन्दा संवाद, सहकार्य र साझा जिम्मेवारीलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति थापाले धार्मिक हिंसा, सामाजिक सद्भाव र शान्तिसँग जोडिएका विषयलाई दलगत स्वार्थभन्दा माथि राख्नुपर्नेमा जोड दिनुभयो।

उहाँले मुलुकमा असहज परिस्थिति सिर्जना भएका बेला प्रधानमन्त्री बालेन्द्र शाहले अभिभावकीय तथा नेतृत्वदायी भूमिका निर्वाह गर्दै सबै राजनीतिक दल, तीनै तहका सरकार र सरोकारवाला पक्षसँग निरन्तर संवाद गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

उहाँले पछिल्ला महिनामा सरकार र पुराना राजनीतिक दलबीच संवाद कमजोर बन्दै गएको तथा राष्ट्रिय महत्वका विषयमा पनि सहकार्यभन्दा आरोप–प्रत्यारोपको प्रवृत्ति हाबी भएको उल्लेख गर्नुभयो।

सुनसरीको घटनापछि आयोजित सर्वदलीय बैठकले कम्तीमा राजनीतिक दलहरूलाई साझा मञ्चमा ल्याउने र राष्ट्रिय मुद्दामा संवादको ढोका खोल्ने सकारात्मक सन्देश दिएको उहाँको भनाइ थियो।

“धार्मिक सहिष्णुता र सामाजिक सद्भाव हाम्रो वर्षौँदेखिको सम्पत्ति हो। यसलाई जोगाउनु सबैको साझा दायित्व हो,” उहाँले भन्नुभयो, “शान्ति र सद्भाव कायम गर्न सबै राजनीतिक दल एकताबद्ध भएर नागरिकलाई संयम अपनाउन आह्वान गर्नुपर्छ। अवाञ्छित गतिविधि हुन नदिन राज्य संयन्त्र थप सतर्क हुनुपर्छ।”

सभापति थापाले सरकार केवल प्रशासनिक संयन्त्र मात्र नभई जनताको अभिभावक पनि भएकाले यस्ता संवेदनशील घटनामा नेतृत्व, समन्वय र विश्वासको वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो। उहाँले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही र सामाजिक सद्भाव कायम राख्न सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेको उल्लेख गर्नुभयो।

सुनसरीको देवानगञ्ज घटनापछि पहिलो पटक प्रमुख राजनीतिक दलहरू एउटै मञ्चमा बसेर साझा छलफल गर्नु आफैंमा सकारात्मक राजनीतिक सन्देश भएको विश्लेषण गरिएको छ।

पछिल्लो समय बढ्दो राजनीतिक ध्रुवीकरण र संवादहीनताका बीच राष्ट्रिय महत्वका विषयमा दलहरूबीच सहकार्यको आवश्यकता रहेको सन्देश यस बैठकले दिएको सहभागी नेताहरूको भनाइ छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.