जापानबिशेष

जापानको बेवास्तामा परेको भाषा संकट : जापानी भाषा सिकाउँदै मातृभाषा जोगाउने चुनौती

टोकियो। जापानले विदेशी मूलका बालबालिकालाई जापानी भाषा सिकाउने कार्यक्रमलाई विस्तार गर्दै भाषा शिक्षालाई सुदृढ बनाउने प्रयास गरिरहेको भए पनि त्यससँगै अर्को गम्भीर चुनौती पनि देखापरेको छ।

जापानी भाषा सिक्दै जाँदा धेरै बालबालिकाले आफ्नै मातृभाषा गुमाउँदै जानुका साथै परिवारसँगको भाषिक सम्बन्ध कमजोर बन्दै गएको विषयप्रति विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।

जापानको शिक्षा, संस्कृति, खेलकुद, विज्ञान तथा प्रविधि मन्त्रालयका पछिल्ला तथ्याङ्कअनुसार सन् २०२५ को मे महिनासम्म सार्वजनिक विद्यालयमा अध्ययनरत ८४ हजार ७५९ विद्यार्थीलाई जापानी भाषा सिकाउन विशेष सहयोग आवश्यक थियो। तीमध्ये ९ हजार ६९९ जना (११.४ प्रतिशत) विद्यार्थीले आवश्यक भाषिक सहयोगसमेत प्राप्त गर्न सकेनन्।

विज्ञहरूका अनुसार समस्या यतिमै सीमित छैन। धेरै बालबालिकाले साथीभाइसँग सहज रूपमा जापानी बोल्न सक्ने भएपछि उनीहरू पूर्ण रूपमा घुलमिल भइसकेको ठानिन्छ।

तर कक्षाकोठामा पढाइ बुझ्न, जटिल अवधारणा आत्मसात् गर्न र शैक्षिक लेखन गर्न आवश्यक भाषिक क्षमता भने उनीहरूमा अझै विकास भइसकेको हुँदैन।

बोलचालको भाषा र शैक्षिक भाषाबीच ठूलो अन्तर

शिक्षाविद्हरूका अनुसार विद्यालय बाहिर प्रयोग हुने सामान्य बोलचालको जापानी भाषा सिक्न धेरै समय लाग्दैन। तर पाठ्यपुस्तक बुझ्ने, विश्लेषणात्मक रूपमा सोच्ने र लेखन गर्ने शैक्षिक भाषा सिक्न निकै लामो समय लाग्छ।

यही वास्तविकतालाई बेवास्ता गर्दा विदेशी मूलका धेरै विद्यार्थी उच्च शिक्षासम्म पुग्न नसक्ने, माध्यमिक तहपछि अध्ययन छाड्ने वा राष्ट्रिय औसतभन्दा कम शैक्षिक उपलब्धि हासिल गर्ने अवस्थासमेत देखिएको छ।

त्यसैले जापानी भाषा शिक्षा केवल नयाँ आएका बालबालिकाका लागि छोटो अवधिको कार्यक्रम मात्र नभई शैक्षिक समानता र सामाजिक अवसरसँग जोडिएको विषय भएको विज्ञहरूको भनाइ छ।

मातृभाषा हराउँदा परिवारसँगको सम्बन्ध पनि कमजोर

लेखमा औँल्याइएअनुसार अर्को गम्भीर समस्या परिवारभित्र देखिन्छ। समाजमा घुलमिल हुने दबाबका कारण धेरै बालबालिकाले जीवनका सबै क्षेत्रमा जापानी भाषालाई प्राथमिकता दिन थाल्छन्। बिस्तारै उनीहरूले आफ्ना बाबुआमा बोल्ने भाषा प्रयोग गर्न छाड्छन्।

मातृभाषा केवल संवाद गर्ने माध्यम मात्र होइन। त्यसमा परिवारको इतिहास, संस्कार, सम्झना, भावनात्मक सम्बन्ध र पुस्तौंदेखिको सांस्कृतिक पहिचान जोडिएको हुन्छ।

बालबालिकाले मातृभाषा गुमाउन थालेपछि घरभित्र बाबुआमाले आफ्नो भाषा बोल्ने र छोराछोरीले जापानीमा उत्तर दिने अवस्था सिर्जना हुन्छ। दैनिक सामान्य कुराकानी सम्भव भए पनि भावना, भविष्य, पहिचान वा जीवनका जटिल विषयमा संवाद गर्न कठिन हुँदै जान्छ।

लेखकको अनुभव

लेखिका मिदोरी इनागाकीले आफू आयरल्यान्डमा १३ वर्ष बस्दा आफ्ना दुई सन्तानलाई जापानी भाषा सिकाउन समुदायस्तरमै मातृभाषा विद्यालय स्थापना गरेको अनुभव उल्लेख गर्नुभएको छ।

उहाँका अनुसार मातृभाषा जोगाउन अभिभावकको इच्छाशक्ति मात्र पर्याप्त हुँदैन। त्यसका लागि समय, अध्ययन सामग्री, भाषा बोल्ने समुदाय तथा भाषा प्रयोग गर्ने सामाजिक वातावरण पनि आवश्यक हुन्छ। बालबालिकाले भाषालाई केवल घरको दायित्वका रूपमा होइन, जीवित सामाजिक भाषाका रूपमा अनुभव गर्नुपर्छ।

परिवारमाथि मात्र निर्भर नीति पर्याप्त छैन

हाल जापानमा मातृभाषा संरक्षणको जिम्मेवारी मुख्यतः परिवार र सामुदायिक संस्थामाथि रहेको छ। यसका कारण अभिभावकले समय, आर्थिक स्रोत र मानसिक दबाब सबै आफैं बेहोर्नुपरेको छ।

परिणामस्वरूप केही बालबालिकाले न त जापानी भाषामा उमेरअनुसारको दक्षता हासिल गर्न सकेका छन्, न आफ्नै मातृभाषामा। यसको कारण उनीहरूको भाषिक क्षमता कमजोर भएर होइन, दुवै भाषालाई समान रूपमा प्रोत्साहन गर्ने शैक्षिक वातावरणको अभाव रहेको लेखमा उल्लेख गरिएको छ।

बहुभाषिक शिक्षाको आवश्यकता

लेखिकाले जापानको शिक्षानीति लामो समयसम्म एकभाषिक सोचमा आधारित रहेको उल्लेख गर्नुभएको छ। त्यसअनुसार बालबालिकाले सकेसम्म छिटो जापानी भाषा सिक्नुपर्छ भन्ने मान्यता छ, जबकि उनीहरूको मातृभाषालाई विद्यालयको औपचारिक शिक्षामा खासै स्थान दिइँदैन।

उहाँका अनुसार अब बहुभाषिक शिक्षा (प्लुरिलिङ्गुअल शिक्षा) को अवधारणालाई प्राथमिकता दिन आवश्यक छ। यस प्रणालीमा बालबालिकाले आफूले जाने सबै भाषाको प्रयोग गरेर नयाँ ज्ञान हासिल गर्न, समस्या समाधान गर्न र आफ्ना विचार प्रभावकारी रूपमा व्यक्त गर्न सक्छन्।

उदाहरणका रूपमा चिनियाँ भाषी विद्यार्थीले समूह छलफल चिनियाँ भाषामा गरेर त्यसको निष्कर्ष जापानी भाषामा प्रस्तुत गर्न सक्ने, वा जापानीमा पाठ पढेर कठिन अवधारणा आफ्नै मातृभाषामा बुझ्दै अन्तिम उत्तर जापानीमै लेख्न सक्ने व्यवस्था प्रभावकारी हुने लेखमा उल्लेख गरिएको छ।

परिवर्तन सुरु भए पनि पर्याप्त छैन

जापानले पछिल्ला वर्षहरूमा विद्यालयहरूमा मातृभाषा सहयोगी, बहुभाषिक कर्मचारी तथा जापानी भाषा सहयोगी शिक्षक नियुक्त गर्न थालेको छ। विदेशी समुदायको बाक्लो बसोबास रहेका स्थानीय तहले अभिभावकसँग सम्पर्क र विद्यार्थीलाई सहयोग गर्न बहुभाषिक जनशक्ति परिचालन गरिरहेका छन्।

यद्यपि विज्ञहरूका अनुसार दुभाषे वा भाषा सहयोगी उपलब्ध गराउनु मात्र पर्याप्त हुँदैन। मातृभाषालाई शिक्षण प्रक्रियाकै अभिन्न हिस्सा बनाउने राष्ट्रिय नीति अझै विकास हुन बाँकी छ।

विविध समाजका लागि दीर्घकालीन लगानी

लेखिकाको निष्कर्षमा, जापान वास्तवमै विविध भाषा, संस्कृति र पृष्ठभूमिका नागरिकलाई समान अवसर दिने समाज बनाउन चाहन्छ भने प्रारम्भिक जापानी भाषा शिक्षा मात्र पर्याप्त हुनेछैन।

विद्यार्थीले विद्यालयमा सफल हुन आवश्यक जापानी भाषा सिक्नुपर्छ। तर त्यसका लागि आफ्नो मातृभाषा, पारिवारिक सम्बन्ध र सांस्कृतिक पहिचान गुमाउनुपर्ने अवस्था आउनु हुँदैन।

उहाँका अनुसार जापानी भाषा सिक्नु र मातृभाषा जोगाउनु परस्पर विरोधी उद्देश्य होइनन्। बरु दुवैलाई समान रूपमा प्रवर्द्धन गर्न सकिए बालबालिकाको शैक्षिक सफलता, मानसिक स्वास्थ्य, पारिवारिक सम्बन्ध र बहुसांस्कृतिक जापानको भविष्य अझ सुदृढ बन्न सक्छ।
जापान टाइम्सबाट साभार

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.