राजनीति

राष्ट्रियसभामा स्वास्थ्य बिमा तथा किसानका समस्यामा ध्यानाकर्षण

राष्ट्रियसभाको बिहीबारको बैठकमा सदस्यहरूले स्वास्थ्य बिमा, जातीय विभेद्, बाढीपहिरो, किसानका समस्या, पूर्वाधारलगायत जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकको शून्य समयमा सभाका सदस्यहरूले स्वास्थ्य बिमालाई प्रभावकारी बनाउन, जातीय विभेद्विरुद्ध भइरहेको सत्याग्रहप्रति सरकारको ध्यानाकर्षण गराउनेदेखि बाढीपहिरो, वन्यजन्तु आतङ्क, सडक, दूधको भुक्तानीलगायत समसामयिक जनसरोकारका विषयमा सभाअध्यक्षमार्फत सरकारको ध्यानार्कषण गराउनुभएको हो ।

सदस्य गीता देवकोटाले स्वास्थ्य बिमालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । सदस्य धर्मेन्द्र पासवानले रौतहट सीमाक्षेत्रमा निर्माण गरिएको तटबन्धको उचाइका कारण गौर डुबानमा पर्नसक्ने जोखिम रहेको भन्दै तत्काल आवश्यक पहल गर्न अध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सदस्य सोमनाथ पोर्तेलले जातीय विभेद् र छुवाछुतमुक्त समाज, समानता र न्यायको माग गर्दै माइतीघरमा सत्याग्रह गरिरहनुभएकी दीपा नेपालीसँग गृहमन्त्रीले छलफल र वार्ता गनुपर्ने आग्रह गर्नुभयो ।

सदस्य मीनासिंह रखालले दैलेखमा बाँदरको आतङ्कका कारण किसानले भोगिरहेका समस्यातर्फ सरकारको ध्यानाकर्षण गराउँदै मकैबालीमा भएको क्षतिको क्षतिपूर्ति उपलब्ध गराउन माग गर्नुभयो । उहाँले एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्दै कालोबजारी नियन्त्रण गर्न पनि आग्रह गर्नुभयो ।

सदस्य रञ्जित कर्णले सप्तरीको राजविराज जोड्ने मुख्य सडकको निर्माण प्रक्रिया सक्दो छिटो अघि बढाउन माग गर्नुभयो । सदस्य रोश्नी मेचेले एलपी ग्यासको उपलब्धता, राहदानी सेवा र स्वास्थ्य बिमासम्बन्धी सेवा प्रभावकारी बनाउन आग्रह गर्नुभयो । सदस्य वासुदेव घिमिरेले सुनसरी घटना छानबिनका लागि छुट्टै निष्पक्ष छानबिन आयोग गर्न आग्रह गर्नुभयो ।

सभाका सदस्य डा जगत तिमिल्सिनाले प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले ‘एमनेस्टी इन्टरनेसनल’, ‘आइसिजे’ र ‘ह्युमन राइट्स वाच’सँग स्पष्टीकरण माग्न सरकारलाई दिएको निर्देशनप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।

सदस्य सम्झना देवकोटाले गोरखामा बाढीपहिरोबाट भएको क्षतिको उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग आग्रह गर्नुभयो । सदस्य सुनीलबहादुर थापाले धनकुटामा दुग्ध विकास संस्थान (डिडीसी)ले किसानबाट खरिद गरेको दूधको बक्यौता रकम तत्काल भुक्तानी गर्न सरकारसँग माग गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.