जन सरोकार

आर्थिक आत्मनिर्भरता बढेसँगै सम्बन्धविच्छेदका मुद्दा पनि बढ्दै

आर्थिक आत्मनिर्भरता, सामाजिक चेतना र व्यक्तिगत स्वतन्त्रताप्रतिको बुझाइ विस्तारसँगै तनहुँमा सम्बन्धविच्छेदका मुद्दा बढ्दै गएको पाइएको छ। महिलामा शिक्षा, रोजगारी र आर्थिक आत्मनिर्भरता बढेसँगै अन्यायपूर्ण सम्बन्धबाट अलग भएर कानुनी बाटो रोज्ने प्रवृत्ति बढेको अदालतको बुझाइ छ।

तनहुँ जिल्ला अदालतका स्रेस्तेदार नन्दप्रसाद आचार्यका अनुसार सामाजिक चेतना र आर्थिक आत्मनिर्भरतासँगै वैवाहिक सम्बन्धप्रतिको दृष्टिकोणमा पनि परिवर्तन आएको छ।

विशेष गरी वैदेशिक रोजगारीका कारण लामो समय श्रीमान्–श्रीमती अलग बस्नुपर्ने अवस्था, पारिवारिक अविश्वास, आर्थिक विवाद तथा बदलिँदो जीवनशैलीले पनि सम्बन्धमा तनाव बढाउने गरेको उहाँ बताउनुहुन्छ।

सामाजिक सञ्जालको बढ्दो प्रयोगले पनि वैवाहिक सम्बन्धमा नयाँ चुनौती थपेको देखिन्छ। सामाजिक सञ्जालमा देखाइने आकर्षक तथा विलासी जीवनशैलीको प्रभाव, वास्तविक आम्दानीभन्दा बढी देखावटी जीवन जिउने चाहना, तुलना गर्ने प्रवृत्ति र त्यसबाट उत्पन्न आर्थिक तथा मानसिक दबाबले पारिवारिक सम्बन्धमा असर पार्न सक्ने सामाजिक क्षेत्रमा कार्यरत व्यक्तिहरू बताउँछन्।

वैदेशिक रोजगारीबाट प्राप्त आम्दानीले आर्थिक आत्मनिर्भरता बढाए पनि लामो समयको भौगोलिक दूरी, पारिवारिक जिम्मेवारीमा असन्तुलन र आपसी विश्वासको कमीले कतिपय वैवाहिक सम्बन्ध कमजोर बन्ने गरेको पाइन्छ।

यद्यपि सम्बन्धविच्छेदको कारणलाई केवल आर्थिक आत्मनिर्भरता वा वैदेशिक रोजगारीसँग मात्र जोड्नु उचित नहुने र घरेलु हिंसा, असमझदारी, विश्वासको संकट तथा व्यक्तिगत कारण पनि महत्वपूर्ण रहेको बताइएको छ।

गत आर्थिक वर्षमा तनहुँ जिल्ला अदालतमा दर्ता भएका दुई हजार ४५६ मुद्दामध्ये ९५२ वटा सम्बन्धविच्छेदका छन्। तीमध्ये ८१० मुद्दा निरुपण भएका छन्। आर्थिक वर्ष २०८२/८३ मा अंशसम्बन्धी २८७ मुद्दा दर्ता भएकामा १७९ वटा किनारा लगाइएको अदालतले जनाएको छ।

अदालतका अनुसार सम्बन्धविच्छेद बढ्नु केवल पारिवारिक विघटनको संकेत मात्र नभई महिलामा बढेको कानुनी चेतना र आफ्नो अधिकारप्रतिको जागरुकताको परिणाम पनि हुनसक्छ।

सामाजिक सञ्जालको प्रभाव, देखावटी जीवनशैली, वैदेशिक रोजगारी र बदलिँदो पारिवारिक संरचनाले सिर्जना गरेका नयाँ चुनौतीलाई समयमै सम्बोधन गर्न नसके आगामी दिनमा पारिवारिक विवाद अझ बढ्न सक्ने देखिन्छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.