जापानबिशेषसूचना/प्रविधि

स्मार्टफोनले सिकायो मानवता : तीन जापानी बालकको बुद्धिमत्तापूर्ण निर्णयको विश्वभर प्रशंसा

साहसिक कार्यको कदरस्वरूप कोबे किता प्रहरीले तीनैजना बालकलाई ह्योगो प्रिफेक्चरको ‘नोजिगिकु अवार्ड’ प्रदान

जापानको कोबे शहरमा तीनजना पाँचौँ कक्षामा अध्ययनरत बालकहरूले स्मार्टफोन र कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गर्दै समयमै आपत्कालीन सेवामा सम्पर्क गरी एक वृद्ध महिलाको ज्यान बचाएका छन्। यो घटनाले संकटका बेला प्रविधिको सही प्रयोग कति प्रभावकारी हुन सक्छ भन्ने सन्देश दिएको छ।

गत मे महिनाको एक दिउँसो विद्यालयबाट घर फर्किएपछि खेल्न निस्केका ११ वर्षीय युइतो कुरोइशी, साकुतारो आकुतागावा र रुइतो नागाईले सडक किनारमा एक ७० वर्षीया महिला बेहोस भएर ढलेको देख्नुभयो।

महिलाको दाहिने गालामा चोट लागेको थियो, रगत बगिरहेको थियो र उहाँ अचेत अवस्थामा कम्पन (छटपटी) गरिरहनुभएको थियो। वरिपरि कुनै वयस्क नभएको अवस्थामा कुरोइशीले आफ्नो स्मार्टफोन निकालेर केवल यति भन्नुभयो— “हे सिरी, आपत्कालीन सेवा ११९ मा फोन गर।”

एप्पलको भ्वाइस सहायक सिरीले केही सेकेन्डमै ११९ आपत्कालीन सेवामा फोन गरिदियो। त्यसपछि कुरोइशीले फोन समात्नुभयो, आकुतागावाले आपत्कालीन सेवा केन्द्रका कर्मचारीलाई घटनाको अवस्थाबारे जानकारी दिनुभयो भने नागाईले एम्बुलेन्स नआउञ्जेल महिलाको अवस्था निरन्तर हेर्दै साथ दिनुभयो।

एम्बुलेन्स पुगेपछि स्वास्थ्यकर्मीले महिलालाई तत्काल अस्पताल पुर्‍याएका थिए। चिकित्सकका अनुसार उहाँको स्वास्थ्य समस्या रक्तमा चिनीको मात्रा अत्यधिक कम (लो ब्लड सुगर) भएका कारण उत्पन्न भएको थियो र उपचारपछि अवस्था सामान्य बनेको थियो।

कोबे किता प्रहरी कार्यालयका सामुदायिक सुरक्षा प्रमुख त्सुतोमु फुजिताले बालकहरूको साहस र सूझबुझको प्रशंसा गर्दै सुरुआतमा उनीहरूको कार्यले आफूहरू अत्यन्त प्रभावित भएको बताउनुभयो। पछि सिरीमार्फत आपत्कालीन फोन गरिएको थाहा पाएपछि आफूले “यी त साँच्चै आधुनिक पुस्ताका बालबालिका रहेछन्” भन्ने प्रतिक्रिया दिएको उहाँले उल्लेख गर्नुभयो।

डिजिटल पुस्ताको नयाँ क्षमता

यस घटनाले अहिलेका बालबालिका संकटका बेला डिजिटल प्रविधि सहज रूपमा प्रयोग गर्न सक्षम रहेको देखाएको छ। जापानमा बालबालिकालाई सानैदेखि एक्लै विद्यालय जान, सार्वजनिक यातायात प्रयोग गर्न र सामान्य दैनिक काम आफैँ गर्न प्रोत्साहन गरिन्छ। अहिले त्यो शारीरिक आत्मनिर्भरता डिजिटल सीपसँग पनि जोडिन थालेको छ।

एनटीटी डोकोमोको मोबाइल सोसाइटी रिसर्च इन्स्टिच्युट का अनुसार हाल जापानका करिब ५१ प्रतिशत पाँचौँ कक्षाका विद्यार्थीसँग आफ्नै स्मार्टफोन छ। सन् २०२५ मा गरिएको अर्को अध्ययनले विद्यालय उमेरका बालबालिकामाझ एप्पलको सिरी र अमेजनको एलेक्सा सबैभन्दा बढी प्रयोग हुने एआई उपकरण रहेको देखाएको छ।

स्मार्टफोन : जोखिम कि जीवनरक्षक उपकरण ?

यस घटनाले जापानमा लामो समयदेखि चल्दै आएको एउटा बहसलाई पनि फेरि चर्चामा ल्याएको छ— बालबालिकाका लागि स्मार्टफोन हानिकारक हो कि आवश्यक सुरक्षा उपकरण ?

स्वास्थ्य विज्ञ र शिक्षाविद्हरूले अत्यधिक मोबाइल प्रयोगले निद्रामा समस्या, ध्यान केन्द्रित गर्न कठिनाइ, सामाजिक सञ्जालको लत, साइबर दुर्व्यवहार तथा अनलाइन सुरक्षाका जोखिम बढाउने चेतावनी दिँदै आएका छन्। यही कारण जापानको शिक्षा मन्त्रालयले विद्यालय परिसरमा मोबाइल फोन प्रयोगमाथि कडा प्रतिबन्ध लगाउने नीति कायम राखेको छ।

तर, सेइकेई विश्वविद्यालयकी अतिथि प्राध्यापक तथा डिजिटल साक्षरता विज्ञ अकिको ताकाहाशीका अनुसार कोबेको घटनाले स्मार्टफोन र एआई जीवनरक्षक उपकरणका रूपमा पनि अत्यन्त उपयोगी हुन सक्ने स्पष्ट प्रमाण दिएको छ।

उहाँका अनुसार प्रविधिलाई पूर्ण रूपमा निषेध गर्नु समाधान होइन, बरु त्यसको सुरक्षित र जिम्मेवार प्रयोग सिकाउनु आवश्यक छ।

“हामी बालबालिकालाई चक्कु प्रयोग गर्न प्रतिबन्ध लगाउँदैनौँ, सुरक्षित रूपमा प्रयोग गर्न सिकाउँछौँ। स्मार्टफोन र एआईसँग पनि त्यही व्यवहार हुनुपर्छ,” उहाँले भन्नुभयो।

ताकाहाशीका अनुसार प्राकृतिक विपद् र वृद्ध जनसंख्या बढ्दो जापानजस्तो मुलुकमा डिजिटल साक्षरता अब विलासिता होइन, जीवनरक्षाको सीप बनेको छ।

आपत्कालीन सीप विद्यालयमै सिकाउनुपर्ने सुझाव

उहाँले बालबालिकालाई सानैदेखि ११० (प्रहरी), ११९ (दमकल तथा एम्बुलेन्स) मा कसरी फोन गर्ने, इमर्जेन्सी एसओएस सुविधा प्रयोग गर्ने, भ्वाइस कमाण्डमार्फत सहायता माग्ने, तथा गुगल म्याप्स वा ‘फाइन्ड माइ’ जस्ता सुविधाबाट आफ्नो स्थान पठाउने सीप सिकाउनुपर्ने सुझाव दिनुभएको छ।

बालबालिका आत्तिएको अवस्थामा एआईसँग सहायता माग्न सक्ने आत्मविश्वासले पनि सही निर्णय लिन सहयोग पुग्ने उहाँको भनाइ छ।

बालकहरूलाई नागरिक वीरता सम्मान

उक्त साहसिक कार्यको कदरस्वरूप गत जुलाई २४ मा कोबे किता प्रहरीले तीनै बालकलाई ह्योगो प्रिफेक्चरको ‘नोजिगिकु अवार्ड’ प्रदान गरी नागरिक वीरताको सम्मान गरेको छ। प्रहरी अधिकारी फुजिताले भने, ज्यान बचाउन प्रविधि मात्र होइन, मानवीय संवेदना सबैभन्दा महत्वपूर्ण हुने बताउनुभयो।

“सिरी प्रयोग गरेर, सार्वजनिक टेलिफोनबाट वा प्रहरी चौकीमा दौडिएर सहायता माग्ने एउटै सही तरिका हुँदैन,” उहाँले भन्नुभयो। “महत्त्वपूर्ण कुरा भनेको समस्यामा परेका व्यक्तिलाई सहयोग गर्न चाहने भावना र तत्काल सही कदम चाल्ने इच्छाशक्ति हो।”

यो घटनाले प्रविधि आफैँ राम्रो वा नराम्रो नभई त्यसको प्रयोग गर्ने चेतना, जिम्मेवारी र मानवताको भावना नै सबैभन्दा महत्वपूर्ण हुने सन्देश दिएको छ।

(तस्वीर र समाचार स्रोत द जापान टाइम्स)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.