जापान

चीनको निर्यात नियन्त्रणले जापानी उद्योगमा टङ्स्टेन अभाव, मूल्यमा भारी वृद्धि

चीनले सैन्य तथा नागरिक दुवै प्रयोजनमा प्रयोग हुन सक्ने वस्तुको निर्यातमा नियन्त्रण कडा बनाएपछि जापानका औद्योगिक कम्पनीहरूलाई टङ्स्टेन प्रयोग हुने कच्चा पदार्थ तथा उत्पादनको आपूर्ति व्यवस्थापन गर्न कठिनाइ भएको छ।

आपूर्ति घटेसँगै टङ्स्टेनजन्य उत्पादनको मूल्य बढेको छ भने जापानी उत्पादकहरूले वैकल्पिक स्रोत र कम टङ्स्टेन प्रयोग हुने प्रविधिको खोजी गर्न थालेका छन्।

चीनले सन् २०२६ को सुरुदेखि जापानतर्फ निर्यात हुने ‘ड्युअल–यूज’ अर्थात् सैन्य तथा नागरिक दुवै प्रयोजनमा प्रयोग हुन सक्ने वस्तुमा नियन्त्रण कडा बनाउँदै आएको छ।

चीनको वाणिज्य मन्त्रालयले जापानका केही संस्था तथा कम्पनीलाई निर्यात प्रतिबन्धित सूचीमा राख्दै सैन्य प्रयोजन वा जापानको सैन्य क्षमता अभिवृद्धिमा योगदान पुग्ने उद्देश्यका लागि त्यस्ता वस्तु निर्यात गर्न रोक लगाइएको जनाएको छ।

टङ्स्टेनसँग सम्बन्धित उत्पादनहरू पनि यस्तो निर्यात नियन्त्रणको प्रभावमा परेका छन्। टङ्स्टेनका उत्पादनमा प्रयोग हुने अमोनियम पाराटङ्स्टेट (एपीटी), टङ्स्टेन अक्साइड र टङ्स्टेन कार्बाइडलगायत सामग्री निर्यात नियन्त्रणको दायरामा पर्न थालेपछि जापानी उद्योगमा आपूर्ति चुनौती बढेको हो।

टङ्स्टेन किन महत्वपूर्ण ?

टङ्स्टेनलाई विश्वका महत्वपूर्ण औद्योगिक तथा रणनीतिक खनिजमध्ये एक मानिन्छ। अत्यधिक ताप सहन सक्ने, कडा र घर्षण प्रतिरोधी भएकाले यसको प्रयोग सामान्य औद्योगिक ड्रिलदेखि अत्याधुनिक उपकरण, अर्धचालक उत्पादन, धातु काट्ने औजार, खानी उपकरण तथा विभिन्न उच्च प्रविधिका सामग्रीमा हुने गर्छ।

टङ्स्टेनको कच्चा पदार्थ उत्पादन र प्रशोधनमा चीनको भूमिका निकै ठूलो छ। यही कारण विश्वका धेरै औद्योगिक मुलुकले टङ्स्टेनसहित महत्वपूर्ण खनिजको आपूर्तिमा चीनमाथि उल्लेख्य निर्भरता राख्दै आएका छन्।

चीनको निर्यात नियन्त्रणले जापानमा देखिएको पछिल्लो समस्याले विश्वव्यापी आपूर्ति शृङ्खलामा कुनै एक देशको अत्यधिक निर्भरता कति जोखिमपूर्ण हुन सक्छ भन्ने प्रश्न पनि उठाएको छ।

जापानी कम्पनीमा मूल्य बढ्यो

चीनबाट जापानतर्फ टङ्स्टेन उत्पादनमा प्रयोग हुने कच्चा पदार्थको आपूर्ति यस वर्ष उल्लेख्य रूपमा घटेपछि जापानी बजारमा टङ्स्टेनजन्य सामग्रीको मूल्य तीव्र रूपमा बढेको छ।

मित्सुबिसी मटेरियल्सले जुन महिनामा टङ्स्टेनसम्बन्धी एक मध्यवर्ती उत्पादनको मूल्य तीन गुणाभन्दा बढी बढाएको छ। त्यस्तै, सुमितोमो इलेक्ट्रिक इन्डस्ट्रिजले पनि टङ्स्टेन प्रयोग हुने औद्योगिक औजारको मूल्य बढाएको छ।

एउटै उत्पादनको मूल्यवृद्धि ६० प्रतिशतभन्दा बढी पुगेको छ। मूल्यवृद्धिको असर टङ्स्टेन प्रयोग हुने औद्योगिक उत्पादनको आपूर्तिमा समेत देखिन थालेको छ।

नागानो प्रान्तमा औद्योगिक ड्रिल तथा अन्य औजार उत्पादन गर्ने एक कम्पनीका अनुसार यसै वसन्तयामदेखि उसका धेरै आपूर्तिकर्ताले आफूले स्वीकार गर्ने अर्डरको मात्रा सीमित गर्न थालेका छन्।

कम्पनीले सामान्य अवस्थामा प्राप्त गर्दै आएको टङ्स्टेनसम्बन्धी सामग्रीको करिब ३० प्रतिशत मात्र अहिले प्राप्त गर्न सकेको जनाएको छ। आपूर्ति संकट समाधान गर्न कम्पनीले टङ्स्टेन कम प्रयोग हुने तर मजबुतीमा सम्झौता नगर्ने वैकल्पिक औजार उत्पादन गरी ग्राहकलाई उपलब्ध गराउने प्रयास गरिरहेको छ।

कम्पनीका अध्यक्ष हामा सोताले ग्राहकका मागअनुसार उत्पादन उपलब्ध गराउन नसक्दा दुःख लागेको बताउँदै आपूर्ति अवस्था यथाशीघ्र सामान्य हुने आशा व्यक्त गर्नुभएको छ।

चीनको औद्योगिक शक्तिको विश्वव्यापी प्रभाव

जापानमा टङ्स्टेन आपूर्तिको पछिल्लो संकटलाई चीन–जापान सम्बन्धमा आएको तनावका रूपमा मात्र हेर्नु पर्याप्त हुँदैन। यसले विश्व औद्योगिक उत्पादनमा चीनले बनाएको गहिरो आपूर्ति सञ्जाल र त्यसको विश्वव्यापी प्रभावसमेत उजागर गरेको छ।

चीन विगत केही दशकमा सस्तो उत्पादनको केन्द्रबाट विश्वकै प्रमुख औद्योगिक तथा उच्च प्रविधि उत्पादन केन्द्रका रूपमा विकसित भएको छ।

विद्युतीय सवारीसाधन, ब्याट्री, सौर्य उपकरण, विद्युतीय सामग्री, मेसिनरी तथा विभिन्न रणनीतिक खनिजको प्रशोधनमा चीनको बलियो उपस्थिति छ। पछिल्लो समय चीनले उन्नत उत्पादन क्षेत्रमा आफ्नो क्षमता अझ विस्तार गरिरहेको छ।

यसका कारण चीनमा उत्पादन वा प्रशोधन हुने एउटा महत्वपूर्ण कच्चा पदार्थको आपूर्ति अवरुद्ध हुँदा त्यसको प्रभाव जापानजस्ता उच्च औद्योगिक मुलुकको उत्पादनसम्म पुग्न थालेको हो।

यही कारण अमेरिका, जापान र युरोपेली मुलुकहरूले रणनीतिक खनिज तथा महत्वपूर्ण औद्योगिक कच्चा पदार्थका लागि वैकल्पिक आपूर्ति शृङ्खला निर्माण गर्ने प्रयास तीव्र पारिरहेका छन्।

टङ्स्टेन, दुर्लभ पृथ्वीका खनिज, ग्यालियम, जर्मेनियम, एन्टिमोनीलगायत महत्वपूर्ण सामग्रीको आपूर्तिमा अत्यधिक निर्भरता घटाउने विषय विश्व औद्योगिक नीतिको महत्वपूर्ण मुद्दा बन्दै गएको छ।

जापानका लागि दोहोरो चुनौती

चीनबाट कच्चा पदार्थको आपूर्ति घटिरहेका बेला जापानले अर्को चुनौती पनि सामना गरिरहेको छ—औद्योगिक क्षेत्रमा दक्ष तथा पर्याप्त कामदारको अभाव।

जापानको उत्पादन क्षेत्रमा कार्यरत जनशक्ति पछिल्ला वर्षमा घट्दै गएको छ। जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार उत्पादन क्षेत्रमा कार्यरतको संख्या सन् २०२३ को एक करोड ५५ लाखबाट सन् २०२५ मा करिब एक करोड ३३ लाखमा झरेको छ। त्यस्तै, साना तथा मझौला उत्पादन उद्योगमा कामदारको अभावसम्बन्धी समस्या पनि बढेको छ।

जापानको तीव्र वृद्ध हुँदै गएको जनसङ्ख्या र घट्दो श्रमशक्तिका कारण उद्योगहरूले नयाँ तथा दक्ष युवा कामदार पाउन कठिनाइ भोगिरहेका छन्। उत्पादन क्षेत्रमा ३४ वर्ष वा सोभन्दा कम उमेरका कामदारको संख्या पनि लामो समयदेखि अपेक्षित रूपमा बढ्न सकेको छैन।

यसले जापानी उद्योगलाई एकैपटक कच्चा पदार्थको आपूर्ति संकट, बढ्दो लागत र जनशक्ति अभाव जस्ता चुनौती सामना गर्न बाध्य बनाएको छ।

आपूर्ति शृङ्खला विविधीकरणको दबाब

टङ्स्टेनको पछिल्लो संकटले जापानी कम्पनीलाई चीनबाहेकका स्रोत खोज्न दबाब बढाएको छ। तर रणनीतिक खनिजको खानीबाट उत्पादन, प्रशोधन र औद्योगिक प्रयोगसम्मको सम्पूर्ण आपूर्ति शृङ्खला तत्कालै अर्को देशमा स्थानान्तरण गर्न सजिलो छैन।

नयाँ खानी विकास गर्न लामो समय लाग्ने, प्रशोधन प्रविधि महँगो हुने र दक्ष जनशक्तिको आवश्यकता पर्ने भएकाले जापानले छोटो अवधिमा वैकल्पिक आपूर्ति सुनिश्चित गर्न चुनौती सामना गर्नुपर्ने देखिन्छ।

त्यसैले जापानी कम्पनीहरूले अहिले वैकल्पिक आपूर्तिकर्ता खोज्ने, पुराना भण्डारको उपयोग गर्ने, पुनःप्रयोगयोग्य सामग्रीको मात्रा बढाउने र उत्पादनमा टङ्स्टेनको प्रयोग घटाउने उपाय अपनाउन थालेका छन्।

व्यापारसँगै भू–राजनीतिक जोखिम

चीनको पछिल्लो निर्यात नियन्त्रणले व्यापार र भू–राजनीतिबीचको सम्बन्ध पनि थप स्पष्ट बनाएको छ। चीनले आफ्नो निर्यात नियन्त्रणलाई राष्ट्रिय सुरक्षा र जापानको सैन्य क्षमतासँग सम्बन्धित विषयका रूपमा व्याख्या गर्दै आएको छ।

चीनको भनाइमा नियन्त्रण निश्चित जापानी संस्थामाथि र सैन्य तथा ‘ड्युअल–यूज’ वस्तुमा केन्द्रित रहेको तथा सामान्य व्यापार प्रभावित नहुने दाबी छ।

तर जापानी उद्योगमा त्यसको अप्रत्यक्ष प्रभाव देखिन थालेपछि रणनीतिक कच्चा पदार्थलाई व्यापारिक मात्र नभई राष्ट्रिय सुरक्षा र औद्योगिक सुरक्षाको विषयका रूपमा हेर्ने प्रवृत्ति बढेको छ।

टङ्स्टेनको मूल्यवृद्धि र आपूर्ति अभावले एउटा महत्वपूर्ण प्रश्न पनि खडा गरेको छ—विश्वका ठूला औद्योगिक मुलुकहरूले महत्वपूर्ण कच्चा पदार्थको आपूर्तिमा केही सीमित देशमाथिको निर्भरता कति समयसम्म कायम राख्न सक्छन् ?

जापानका लागि अहिलेको चुनौती तत्काल टङ्स्टेन प्राप्त गर्नु मात्र होइन। चीनसँगको व्यापारिक सम्बन्ध कायम राख्दै आफ्नो औद्योगिक उत्पादनलाई सुरक्षित राख्नु, वैकल्पिक आपूर्ति शृङ्खला विकास गर्नु र कामदार अभावका बीच उत्पादन क्षमता जोगाउनु पनि उत्तिकै महत्वपूर्ण बनेको छ।

यस अर्थमा टङ्स्टेनको पछिल्लो संकट जापानका लागि एउटा औद्योगिक चेतावनी हो—विश्व औद्योगिक उत्पादनमा चीनको प्रभाव यति गहिरो भइसकेको छ कि एउटा रणनीतिक कच्चा पदार्थको आपूर्ति नियन्त्रणले जापानका औजारदेखि अर्धचालकसम्मका उद्योगलाई प्रभावित पार्न सक्छ।

अब जापानसहित अन्य औद्योगिक मुलुकका लागि आपूर्ति शृङ्खला विविधीकरण र रणनीतिक खनिजमा आत्मनिर्भरता विकल्प नभई दीर्घकालीन औद्योगिक सुरक्षाको आवश्यकता बन्दै गएको छ।

– समाचार र तस्वीर स्रोत एनएचके

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.