जापान

हिरोसिमा परमाणु बम आक्रमणको वर्षगाँठ : प्रधानमन्त्री ताकाइची र मेयर मात्सुईका फरक सन्देश

टोकियो । जापानका प्रधानमन्त्री सानाए ताकाइचीले प्रधानमन्त्री बनेपछि पहिलो पटक हिरोसिमा परमाणु बम आक्रमणको स्मृति समारोहमा सहभागी हुँदै विश्वमा आणविक हतियार कहिल्यै प्रयोग नहुने वातावरण निर्माणका लागि संयुक्त राष्ट्रसंघको आणविक हतियार अप्रसार सन्धिको परिधिभित्र रहेर “यथार्थपरक दृष्टिकोण” अपनाइने बताउनुभएको छ।

बिहीबार हिरोसिमा शान्ति स्मारक पार्कमा आयोजित परमाणु बम आक्रमणको ८१औँ वर्षगाँठ समारोहमा सहभागी प्रधानमन्त्री ताकाइचीले जापानले दोस्रो विश्वयुद्धपछि अवलम्बन गर्दै आएको ‘तीन गैर–आणविक सिद्धान्त’ हालसम्म कायम रहेको उल्लेख गर्नुभयो। तर भविष्यमा पनि सोही नीतिमा प्रतिबद्ध रहने स्पष्ट घोषणा भने उहाँले गर्नुभएन।

यस वर्षको समारोह जापान सरकारले वर्षको अन्त्यतिर नयाँ राष्ट्रिय सुरक्षा तथा रक्षा नीति सार्वजनिक गर्ने तयारी गरिरहेका बेला भएको हो।

आणविक प्रतिरोध (न्यूक्लियर डिटरन्स) को अवधारणालाई समर्थन गर्दै आउनुभएकी प्रधानमन्त्री ताकाइचीले विगतमा “देशभित्र आणविक हतियार प्रवेश गर्न नदिने” तेस्रो गैर–आणविक सिद्धान्त पुनरावलोकन गर्न सकिने धारणा सार्वजनिक गर्नुभएको थियो। त्यसैले उहाँको पछिल्लो अभिव्यक्तिलाई लिएर जापानभित्र र अन्तर्राष्ट्रिय स्तरमा विशेष चासो व्यक्त गरिएको छ।

यही समारोहलाई सम्बोधन गर्दै हिरोसिमाका मेयर काजुमी मात्सुईले विश्वका शक्तिराष्ट्रहरूले युद्ध र आणविक हतियारको होडलाई निरन्तरता दिइरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गर्नुभयो।

उहाँले आणविक हतियारलाई सुरक्षा वा प्रतिरोध (डिटरन्स) को माध्यमका रूपमा औचित्य पुष्टि गर्ने प्रवृत्ति अन्त्य गर्न विश्व समुदायसँग आग्रह गर्नुभयो।

शान्ति सन्देश दिँदै मेयर मात्सुईले भन्नुभयो, “आणविक हतियारको अमानवीयतालाई सामान्य ठान्ने र आफ्नै समृद्धिका लागि बल प्रयोगलाई स्वीकार गर्ने प्रवृत्तिले हिंसात्मक प्रतिशोधको चक्रलाई बढावा दिन्छ, जसले अन्ततः अर्को हिरोसिमा वा नागासाकी दोहोरिने जोखिम निम्त्याउन सक्छ।”

उहाँले अझै पनि धेरै राजनीतिक नेताहरूले आणविक प्रतिरोधलाई यथार्थपरक सुरक्षा नीति मानेर हिंसालाई वैधता दिइरहेको उल्लेख गर्दै त्यसले आणविक हतियारविहीन विश्व निर्माणको लक्ष्यलाई झन् टाढा धकेलिरहेको बताउनुभयो। विगतका दुःखद घटनाबाट पाठ सिकेर शान्तिका लागि सक्रिय भूमिका खेल्न उहाँले विश्वभरका नागरिकलाई आह्वान पनि गर्नुभयो।

समारोहमा अमेरिका र इरानसहित करिब १२० देश तथा क्षेत्रका प्रतिनिधिसहित झन्डै ५० हजार व्यक्तिको सहभागिता रहेको थियो। सन् १९४५ अगस्ट ६ मा बिहान ८ः१५ बजे अमेरिकी बी–२९ बमवर्षक विमानले हिरोसिमामा परमाणु बम खसालेको समय सम्झँदै सोही समयमा एक मिनेट मौनधारण गरिएको थियो भने शान्तिघण्टी बजाइएको थियो।

परमाणु बम आक्रमणबाट बाँच्नुभएका पीडितहरूले भने जापानसहित अन्तर्राष्ट्रिय समुदायमा आणविक प्रतिरोधका नाममा आणविक हतियार राख्नुपर्ने धारणा बलियो बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै आउनुभएको छ।

जापान अमेरिकी ‘आणविक सुरक्षा छाता’ अन्तर्गत रहेकाले आफ्नो सुरक्षाका लागि अमेरिकाको प्रतिबद्धता र संरक्षण अझ बलियो बनाउन निरन्तर आग्रह गर्दै आएको छ।

यही कारण जापान सरकारले आणविक हतियार निषेधसम्बन्धी अन्तर्राष्ट्रिय सन्धिमा हस्ताक्षर गर्न वा त्यससम्बन्धी बैठकमा पर्यवेक्षकका रूपमा सहभागी हुनुपर्ने पीडितहरूको माग अहिलेसम्म स्वीकार गरेको छैन।

सन् १९४५ अगस्ट ६ मा अमेरिकाले हिरोसिमामा खसालेको परमाणु बमबाट करिब एक लाख ४० हजार मानिसको ज्यान गएको थियो भने तीन दिनपछि नागासाकीमा गरिएको दोस्रो परमाणु आक्रमणमा करिब ७० हजार जनाको मृत्यु भएको थियो। त्यसको केही दिनपछि, अगस्ट १५ मा जापानले आत्मसमर्पण गरेसँगै दोस्रो विश्वयुद्धको अन्त्य भएको थियो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.