हर्मुजमा अतिरिक्त शुल्क नलगाउन इरानका राष्ट्रपतिसंग प्रधानमन्त्री ताकाइचीको आग्रह
जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले हर्मुज जलडमरूमध्यबाट हुने अन्तर्राष्ट्रिय जल यातायातमा अतिरिक्त शुल्क नलगाउन इरानका राष्ट्रपति मसुद पेजेशकियानसँग आग्रह गर्नुभएको छ।
प्रधानमन्त्री ताकाइचीले बुधबार इरानका राष्ट्रपति पेजेशकियानसँग करिब २० मिनेट टेलिफोन संवाद गर्दै जलमार्गमा कुनै अतिरिक्त पारवहन शुल्कबिना जहाजहरूको स्वतन्त्र र सुरक्षित आवतजावत सुनिश्चित गर्नु आवश्यक रहेको बताउनुभएको हो।
प्रधानमन्त्री ताकाइचीले विश्वको प्रमुख कच्चा तेल ढुवानी मार्गका रूपमा रहेको हर्मुज जलडमरूमध्यमा नयाँ शुल्क लगाउने विषयमा अन्तर्राष्ट्रिय समुदायसँग गम्भीर र जिम्मेवार ढंगले छलफल गर्न आग्रह गर्नुभएको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन्।
अमेरिका र इजरायलले गत फेब्रुअरीको अन्त्यतिर इरानमाथि सैन्य आक्रमण गरेयता दुई नेताबीच भएको यो चौथो टेलिफोन संवाद हो।
हर्मुजको तनावले बढायो विश्वव्यापी इन्धन चिन्ता
विश्वमा समुद्री मार्गबाट हुने कच्चा तेलको ठूलो हिस्सा हर्मुज जलडमरूमध्यमार्फत ओसारपसार हुने भएकाले यस क्षेत्रमा देखिएको तनावले विश्व ऊर्जा बजारमा प्रत्यक्ष असर पार्दै आएको छ। हाल इरानले हर्मुज जलडमरूमध्य हुँदै आवतजावत गर्ने जहाजबाट पारवहन शुल्क लिने सम्भावनाबारे दिएको संकेतले अन्तर्राष्ट्रिय बजारमा थप चिन्ता बढाएको छ।
यस्तो अवस्थामा तेल आयातमा निर्भर जापानलगायतका मुलुकले हर्मुज जलडमरूमध्यमा जहाजहरूको निर्बाध आवागमन कायम रहनुपर्नेमा जोड दिएका छन्। अतिरिक्त शुल्क लागू भएमा कच्चा तेलको ढुवानी लागत बढ्ने र त्यसको प्रत्यक्ष प्रभाव अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा पर्न सक्ने विश्लेषण गरिएको छ।
बाब अल–मन्देबमा पनि बढ्दो सुरक्षा चुनौती
प्रधानमन्त्री ताकाइचीले लाल सागर नजिक रहेको बाब अल–मन्देब जलडमरूमध्यको अवस्थाप्रति पनि गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। इरान समर्थित हुथी विद्रोही समूहले यमन आसपासका समुद्री मार्गमा मालवाहक जहाजमाथि आक्रमण गरिरहेको विवरण सार्वजनिक भइरहेका बेला उहाँले ऊर्जा सुरक्षाका दृष्टिले यो अवस्था चिन्ताजनक भएको बताउनुभएको हो।
उहाँले इरानलाई हुथी समूहलाई संयमता अपनाउन आग्रह गर्न अनुरोध गर्दै समुद्री मार्गको सुरक्षा सुनिश्चित गर्न भूमिका खेल्न आग्रह गर्नुभएको छ।
इरान–अमेरिका तनाव कम गर्न आग्रह
वार्ताका क्रममा प्रधानमन्त्री ताकाइचीले इरान र अमेरिका तथा पश्चिमी मुलुकबीच बढ्दो सैन्य तनाव तत्काल कम गरी स्थायित्व कायम गर्नुपर्नेमा जोड दिनुभएको छ। साथै, इरानको आणविक कार्यक्रमसम्बन्धी विवाद पनि शीघ्र कूटनीतिक सहमतिमार्फत समाधान हुने अपेक्षा व्यक्त गर्नुभएको छ।
जापानी पक्षका अनुसार राष्ट्रपति पेजेशकियानले इरानले साउदी अरेबियासँगको संवादमार्फत क्षेत्रीय तनाव कम गर्ने प्रयास गरिरहेको जानकारी गराउनुभएको थियो।
जापानी नागरिकको विषय पनि उठाइयो
वार्ताका क्रममा प्रधानमन्त्री ताकाइचीले केही समयअघि इरानी अधिकारीहरूले पक्राउ गरेका जापानी नागरिकको विषय पनि उठाउनुभएको छ। उक्त नागरिक जापानको सार्वजनिक प्रसारण संस्था एनएचकेका तेहरान ब्युरो प्रमुख भएको विश्वास गरिएको छ।
उहाँलाई गत अप्रिलमा धरौटीमा रिहा गरिएको भए पनि प्रधानमन्त्री ताकाइचीले उहाँसम्बन्धी विषयको शीघ्र र पूर्ण समाधानका लागि इरानी पक्षसँग आग्रह गर्नुभएको छ।




प्रतिक्रिया राख्नुहोस्