जन सरोकार

भोटेकोशी बाढीमा ७ जनाको शव फेला, टिमुरे भन्सारका १४ कर्मचारी सम्पर्कविहीन

रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी अहिलेसम्म ७ जनाको शव फेला परेको छ। बागमती प्रदेश प्रहरी प्रमुख दीपक रेग्मीका अनुसार नुवाकोट र धादिङमा गरी ७ जनाको शव फेला परेको हो।

उहाँका अनुसार नुवाकोटको नदी किनारमा ३ र धादिङमा ४ जनाको शव फेला परेको छ। ‘अहिलेसम्म ७ वटा शव फेला परेको छ,’ रेग्मीले भन्नुभयो।

बाढीबाट घाइते भएकाहरूको उद्धार तथा फेला परेका शव संकलन गर्ने कार्य भइरहेको उहाँले जानकारी दिनुभयो। बाढीपछि केही मानिस बेपत्ता भएको सूचना प्राप्त भइरहेकाले खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

यसैबीच, रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी बाढीपछि सम्पर्कविहीन भएका छन्। बुधबार बिहान भोटेकोशी नदीमा आएको बाढीपछि उनीहरू सम्पर्कविहीन भएका हुन्।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयका अनुसार रसुवा भन्सार कार्यालयमा कार्यरत ११ जना स्थायी र ३ जना करारका कर्मचारी सम्पर्कविहीन छन्।

यस्तै, रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुङ्गानासहित २५ जना कर्मचारी सम्पर्कमा आएका छन्। कार्यालयमा कार्यरत चार जना करार तथा ज्यालादारी कर्मचारीमध्ये एक जना पनि सम्पर्कमा आएको बताइएको छ।

बाढी प्रभावित क्षेत्रमा सुरक्षा निकायले खोज तथा उद्धार कार्यलाई तीव्र बनाएको छ। सम्पर्कविहीन कर्मचारीको अवस्था पत्ता लगाउनसमेत खोजी तथा उद्धार टोली परिचालन गरिएको जनाइएको छ। घटनाबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.