जल/वातावरणबिशेष

भोटेकोशी बाढी : सीमापार क्षेत्रमा विशाल ताल बनेको चीनद्वारा जानकारी

नेपाल–चीन सीमावर्ती क्षेत्रको भोटेकोशी नदीमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भइरहेका बेला चीनको जलस्रोत मन्त्रालयले छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगम क्षेत्रमा ठूलो ताल (ब्यारियर लेक) बनेको जनाएको छ। यी दुवै नदी त्रिशूली नदी प्रणालीका माथिल्ला सहायक नदी हुन्।

एआई सिर्जित नमूना चित्र

तिब्बतबाट बग्दै नेपाल प्रवेश गरेपछि रसुवागढी नजिक भोटेकोशी–त्रिशूली नदी प्रणालीमा मिसिने भएकाले तल्लो तटीय क्षेत्रमा यसको प्रत्यक्ष प्रभाव पर्न सक्ने सम्भावना रहेको छ।

सो बाढी हिमताल विस्फोट (ग्लेसियल लेक आउटबर्स्ट फ्लड–जीएलओएफ) वा हिमाली क्षेत्रमा बनेको प्राकृतिक बाँध भत्किँदा आएको हुनसक्ने प्रारम्भिक संकेतहरू बलियो बन्दै गएका बेला चीनले नेपाल–चीन सीमापारि अर्को नयाँ जोखिमबारे जानकारी सार्वजनिक गरेको हो।

चीनको जलस्रोत मन्त्रालयका अनुसार तिब्बत स्वायत्त क्षेत्रस्थित छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगम क्षेत्रमा ठूलो प्राकृतिक ताल बनेको र अनुसार बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको छ।

यद्यपि तालबाट पानी क्रमशः बाहिरिन थालेको जनाइएको छ। तर आगामी तीन दिनभित्र थप करिब ३० लाख घनमिटर पानी जम्मा हुन सक्ने अनुमान गरिएको छ, जसले प्राकृतिक रूपमा बनेको बाँध फुट्ने जोखिम अझ बढाएको छ।

ग्लोबल टाइम्सका अनुसार सम्भावित आपत्कालीन अवस्थाको सामना गर्न उद्धार तथा प्रतिकार्य टोली तयारी अवस्थामा राखिएको छ भने जोखिमसम्बन्धी सूचना सम्बन्धित निकायलाई नियमित रूपमा अद्यावधिक गरिँदै आएको छ।

चीनको सरकारी टेलिभिजन (सीसीटीभी)ले तालको बाँध फुटे तल्लो तटीय क्षेत्रमा थप बाढीको जोखिम उत्पन्न हुन सक्ने चेतावनी दिएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै चीनको जलस्रोत मन्त्रालयले तालको अवस्थाको चौबीसै घण्टा निगरानी गरिरहेको छ।

यसैबीच, नेपाल र चीनका सम्बन्धित निकायबीच सीमापार नदीको जलप्रवाह, सम्भावित जोखिम, पूर्वसूचना प्रणाली तथा खोजी–उद्धारसम्बन्धी समन्वय जारी रहेको जनाइएको छ। नेपालका सुरक्षा निकाय र विपद् व्यवस्थापन संयन्त्रले पनि तल्लो तटीय क्षेत्रमा सतर्कता बढाएको छ।

विशेषज्ञहरूले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण हिमनदी पग्लने, हिमताल विस्तार हुने र पहिरोले नदी थुनेर प्राकृतिक ताल बन्ने घटना बढ्दै गएको उल्लेख गर्दै यस्ता सीमापार जोखिमको रियल–टाइम सूचना आदानप्रदान र प्रभावकारी पूर्वसूचना प्रणालीलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्।

तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई अनावश्यक रूपमा नदी किनारमा नजान, स्थानीय प्रशासन तथा सुरक्षा निकायबाट जारी गरिएका आधिकारिक सूचना र निर्देशनको पालना गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.