बेलायती राजाद्वारा जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सहयोग गर्न तयार रहेको सन्देश
सयुक्त अधिराज्य बेलायतका राजा चाल्र्स तृतीयले नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै आवश्यक सहयोग र समर्थन गर्न संयुक्त अधिराज्य तयार रहेको बताउनुभएको छ ।
उहाँले बिहिबार सन्देशमार्फत बेलायतका धेरै मानिसहरूको यस क्षेत्रसँग बलियो, गहिरो र व्यक्तिगत सम्बन्ध रहेको उल्लेख गर्दै आफ्ना प्रियजनहरू गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।
साथै राजा चाल्र्सले साथीभाइ तथा आफन्तहरूको अवस्थाबारे चिन्तित हुँदै व्यग्रतापूर्वक खबरको प्रतीक्षा गरिरहेका धेरै परिवारप्रति सहानुभूति प्रकट गर्नुभएको छ ।
“अरूको सेवामा आफ्नो साहसिक कर्तव्य निर्वाह गर्ने क्रममा ज्यान गुमाएका सबै सुरक्षाकार्मीका परिवारहरूप्रति पनि हाम्रो हार्दिक सहानुभूति छ र उद्धार प्रयासमा निःस्वार्थ रूपमा खटिनुभएका सबैप्रति हामी गहिरो धन्यवाद व्यक्त गर्दछौँ”, उहाँको सन्देशमा उल्लेख छ ।
प्रभावित सबैप्रति विशेष सोच र प्रार्थना रहिरहने उल्लेख गर्दै राजा चाल्र्सले सधैँझैँ आवश्यकतामा रहेकाहरूलाई सहयोग र समर्थन गर्न संयुक्त अधिराज्य तयार रहेको उल्लेख गर्नुभएको छ ।




प्रतिक्रिया राख्नुहोस्