सम्पर्कविहीन हेटौँडावासीको खोजीमा नगरप्रमुखसहितको टोली
रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका हेटौँडावासीको अवस्था बुझ्न नगरप्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँसहितको टोली धादिङ तथा काठमाडौँका विभिन्न अस्पताल पुगेको छ ।
टोलीले बिहीबार धादिङको गल्छी क्षेत्रसहित त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा पुगेर उपचाररत घाइते, उद्धार गरिएका तथा सम्पर्कविहीन व्यक्तिका बारेमा जानकारी लिएको नगरप्रमुख लामाले बताउनुभयो ।
बाढी प्रभावित क्षेत्रमा सञ्चार सेवा अवरुद्ध हुँदा परिवारसँग सम्पर्क टुटेका नगरवासीको अवस्था पहिचान गर्न सम्भावित अस्पताल तथा उद्धार केन्द्रमा पुगेर विवरण सङ्कलन भइरहेको उहाँले जानकारी दिनुभयो ।
“हामी धादिङको गल्छी क्षेत्रसहित काठमाडौँका त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टर पुग्यौँ”, नगरप्रमुख लामाले भन्नुभयो, “आज अन्य सम्भावित स्थानमा पुग्नेछौँ । परिस्थिति अनुकूल भए रसुवासम्म जाने तयारी छ ।”
टोलीले अस्पतालमा उपचाररत घाइतेको अवस्था, उद्धार गरिएका व्यक्तिको पहिचान तथा सम्पर्कविहीनको खोजी कार्यबारे सम्बन्धित निकायसँग जानकारी लिएको छ । प्राप्त विवरणलाई पीडितपरिवारबाट सङ्कलित विवरणसँग भिडाएर अवस्था एकिन गर्ने प्रयास भइरहेको उपमहानगरपालिकाले जनाएको छ ।




प्रतिक्रिया राख्नुहोस्