राजनीति

अनधिकृत रुपमा रकम सङ्कलन गरे कडा कारबाही गर्ने प्रधानमन्त्री कार्यालयको चेतावनी

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भोटेकोशी बाढीपीडितका नाममा अनधिकृत रूपमा रकम सङ्कलन नगर्न आग्रह गर्दै त्यसो गरेमा प्रचलित कानूनबमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ।

भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी रहेकै बेला केही व्यक्ति, समूह तथा संस्थाले आफूखुसी रकम सङ्कलन गरिरहेको गुनासो आएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यस्तो आग्रह गरेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कतिपय व्यक्ति, समूह तथा संस्थाले सामाजिक सञ्जालमार्फत अनधिकृत ‘क्युआर कोड’, व्यक्तिगत बैंक खाता तथा डिजिटल वालेट सार्वजनिक गरी राहतका नाममा रकम सङ्कलन गरिरहेका छन्। यस्ता गतिविधिले सहयोगदातालाई ठगीको जोखिममा पार्न सक्ने भन्दै सरकारले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “विपद्को यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले सार्वजनिक गरेका आधिकारिक खाता र क्युआर कोडमा मात्र आर्थिक सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।”

सरकारले आर्थिक सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषअन्तर्गत सार्वजनिक गरिएका आधिकारिक बैंक खातामा मात्र रकम जम्मा गर्न आग्रह गरेको छ। अन्य कुनै व्यक्ति, समूह वा संस्थाले सार्वजनिक गरेका व्यक्तिगत खाता, क्युआर कोड वा डिजिटल वालेटमा रकम जम्मा नगर्न पनि सबै दातालाई अनुरोध गरिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राहतका नाममा अनधिकृत रूपमा रकम सङ्कलन गर्ने, भ्रामक सूचना फैलाउने वा सहयोगको दुरुपयोग गर्ने व्यक्ति वा संस्थामाथि प्रचलित कानूनअनुसार कडा कारबाही गरिने स्पष्ट गरेको छ।

यसैबीच, नेपाल प्रहरीले पनि सामाजिक सञ्जालमार्फत राहतका नाममा रकम सङ्कलन गर्ने प्रवृत्ति बढेको भन्दै सर्वसाधारणलाई विशेष सतर्क रहन आग्रह गरेको छ।

प्रहरीले आधिकारिक निकायले सार्वजनिक गरेका बैंक खाता वा क्युआर कोडमा मात्र सहयोग गर्न, अपरिचित व्यक्ति वा संस्थाको खातामा रकम जम्मा नगर्न तथा शंकास्पद गतिविधिबारे तत्काल प्रहरीलाई जानकारी गराउन अनुरोध गरेको छ।

प्रहरीले विपद्को संवेदनशील अवस्थाको दुरुपयोग गरी आर्थिक ठगी गर्ने जो–कोहीमाथि कानूनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ।

आर्थिक सहयोगका लागि सरकारका तर्फबाट आधिकारिक रूपमा सञ्चालनमा रहेका दुई मुख्य कोष र तिनका खाता विवरण प्रस्तुत गर्दै यहाँ दिइएका खातामा मात्र रकम दाखिला गर्न उक्त कार्यालयले अनुरोध गरेको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषअन्तर्गत हिमालयन बैंक लिमिटेड (डलर खाता) ०१९०५६३१२१००४६, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड ०१०१३२४३८०१, ०२०१३२४३८०१, राष्ट्रिय वाणिज्य बैंक ११३०१००००३७६२००१, ११३०१०००००००६०६, एभरेष्ट बैंक लिमिटेड ००१००१०५२००२७०, ००१०११०२२०००१२, नेपाल बैंक लिमिटेड ००२११६००५१००३९०००००३, ००२००१००५१००३९०००००१, ग्लोबल आइएमई बैंक लिमिटेड ००४०१०१०००००५७, ००४११०१००००००५, नबिल बैंक लिमिटेड १७१००१७५०५२८५ र कृषि विकास बैंक लिमिटेड ०१००२०१००२९०७०१४ मा सहयोग जम्मा गर्न सकिन्छ ।

साथै प्रधानमन्त्री राहत कोषको राष्ट्रिय वाणिज्य कोषमा रहेको खाता नम्बर १४३०१००००००२५००६ र १४३०१००००११६४००१ रहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.