रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको विनाशकारी बाढीपछि जलविद्युत् आयोजनाका सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धार कार्यमा भारत, चीन र गणतन्त्र कोरियाका विशेषज्ञ उद्धार टोली नेपाली सुरक्षाकर्मीसँगै निरन्तर खटिएका छन्।
अत्याधुनिक उपकरण र प्राविधिक जनशक्तिको प्रयोग गर्दै सुरुङभित्र खोजी कार्यलाई प्रभावकारी बनाइएको सरकारले जनाएको छ।
परराष्ट्र मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार लाङटाङ, चिलिमे, अपर त्रिशूली–१, अपर त्रिशूली–३ ‘ए’, अपर त्रिशूली–३ ‘बी’ लगायतका जलविद्युत् आयोजनाका सुरुङमा अझै मानिस फसेको हुनसक्ने आशंकामा खोज तथा उद्धार अभियान जारी छ।
मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार भारत, चीन र गणतन्त्र कोरियाबाट आएका सुरुङ उद्धार विशेषज्ञ टोलीहरूले नेपाली सेनासँग समन्वय गरेर जोखिमपूर्ण सुरुङभित्र खोजी कार्य सञ्चालन गरिरहेका छन्।
उद्धारमा मित्रराष्ट्र र अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त अत्याधुनिक उपकरण, ड्रोन, लोड क्यारियर, जेनेरेटर, मडपम्प तथा अन्य सामग्री प्रयोग भइरहेको उहाँले जानकारी दिनुभयो।
त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र प्राविधिक विज्ञसहितको संयुक्त टोलीले शुक्रबार दुई जनाको जीवितै उद्धार गरेको छ।
उद्धार गरिएका दुवै जनालाई हेलिकप्टरमार्फत छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा ल्याएर उपचार भइरहेको छ। सोही क्रममा सुरुङबाट एक जनाको शव पनि निकालिएको नेपाली सेनाले जनाएको छ।
त्रिशूली–३ ‘बी’मा उद्धार टोलीले आयोजनाको कार्यालय र आवास क्षेत्रसम्म पुग्न एक्साभेटर र ‘बोब्काट’ प्रयोग गरेर बाटो निर्माण तथा लेदो हटाउने काम गरिरहेको छ। ‘अडिट–१’बाट ४२६ मिटरभित्र प्रवेश गरिसकेको टोलीले थप उपकरण सुरुङभित्र पुर्याउने प्रयास गरिरहेको सेनाले जनाएको छ।
लाङटाङ हाइड्रोपावरको सुरुङमा नेपाली सेना र प्राविधिकसहितको टोलीले प्रवेश गरी दुई वटा शव फेला पारेको छ भने थप खोजी जारी छ। चिलिमे हाइड्रोपावरमा विदेशी विशेषज्ञसहितको संयुक्त टोलीले जेनेरेटर र मडपम्पको सहायताले सुरुङभित्र जमेको लेदो हटाइरहेको छ।
यस्तै, माथिल्लो त्रिशूली–१ को हाकुस्थित सुरुङमा नेपाली सेना र आयोजनाका प्रतिनिधिले र्याफ्ट र बोटको प्रयोग गरी खोजी गर्नुका साथै सुरुङभित्रको पानी बाहिर निकाल्ने काम गरिरहेका छन्।
यसैबीच नेपाली सेनाले सात सैन्य र छ गैरसैनिक हवाई उडानमार्फत शुक्रबार दिउँसोसम्म बाढी प्रभावित क्षेत्रबाट २९ जनाको उद्धार गरेको जनाएको छ।
सरकारका अनुसार हालसम्म १३ हजार ९३ जनाको उद्धार गरिएको छ, जसमा ३०० भन्दा बढी विदेशी नागरिक रहेका छन्। यद्यपि करिब पाँच हजार ८३ जना अझै बेपत्ता छन्, जसमा ३५ देशका करिब ६०० विदेशी नागरिक पनि समावेश छन्। प्रभावित क्षेत्रबाट हालसम्म एक हजार २८७ वटा शव बरामद गरिएको छ।
मृतकहरूको पहिचान तीव्र बनाउन भारत, चीन, सिङ्गापुर र दक्षिण कोरियाका फरेन्सिक विशेषज्ञ टोली नेपाल प्रहरी तथा सम्बन्धित निकायसँग मिलेर डीएनए सङ्कलन, विश्लेषण र पहिचानको कार्यमा समेत संलग्न रहेका छन्।
सरकारले हालसम्म भारत, चीन, जापान, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, संयुक्त अरब इमिरेट्स, दक्षिण कोरिया, सिङ्गापुरलगायत विभिन्न मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाबाट उद्धार सामग्री, राहत र प्राविधिक सहयोग प्राप्त भएको जनाएको छ।





प्रतिक्रिया राख्नुहोस्