क्रिकेटखेल

नेपाल एक खेल अगावै एसिसी प्रिमियर कपको सेमिफाइनलमा, साउदी अरेबिया पाँच विकेटले पराजित

नेपाल मलेसियामा जारी एसिसी प्रिमियर कप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा साउदी अरेबियालाई पाँच विकेटले पराजित गर्दै नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको हो ।

मलेसियाको बायुमास ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबिया ४९ दशमलव २ ओभरमा १ सय ९० रनमा अल आउट भयो । साउदी अरेबियाको लागि ओपनर अब्दुल वाहिदले ८९ बलमा १० चौका र २ छक्का प्रहार गर्दै ७७ रनको अर्धशतकीय पारी खेले भने मुहम्मद अतिफले ३० रन जोड्दा मोहम्मद हिशाम शेखले २८ रन बनए ।

नेपालका लागि सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान तीन-तीन विकेट लिए भने ललित राजवंशीले दुई विकेट लिँदा शेर मल्ल र गुल्शन झाको भागमा समान एक-एक विकेट रह्यो । साउदीले दिएको १ सय ९१ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपालले ४१ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालको लागि गुलसन कुमार झाले ३५ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ४४ रनमा अविजित रहे भने इशान पाण्डेले ५९ बलमा २ चौकको मद्दतमा ४० रन बनाए । यस्तै देव खनालले ५८ बलमा १ चौका र १ छक्काको सहयोगमा ३९ रन जोडे भने रोहित पौडेलले ३७ बलमा २ चौकको सहयोगमा २४ रनमा नटआउट रहे । त्यस्तै आसिफ शेखले २० रन जोड्दा अर्जुन कुमालले १५ र दीपेन्द्रसिंह ऐरीले ५ रन बनाए ।

साउदीको लागि इश्तियाक अहमद र मुहम्मद अतिफले समान दुई-दुई विकेट लिए भने मोहम्मद हिशाम शेखको भागमा एक विकेट रह्यो । नेपाल प्रतियोगितामा लगातार तेस्रो जित निकाल्दै सेमिफाइनलमा पुगेको हो । यसअघि नेपालले समूहमा बहराइन र मलेसियालाई पराजित गर्दै समूह ए को शीर्ष स्थानमा छ ।

जारी प्रतियोगितामा एउटा समूहबाट शीर्ष दुईवटा टोलीले मात्र सेमिफाइनलमा स्थान बनाउने छन् । सोही कारण समूह चरणको चारवटै खेल महत्वपूर्ण हुनेछन् ।

नेपालले हालै मलेसियाविरुद्धको दुई अभ्यास खेलमा लगातार जित निकालेको थियो । पहिलो खेलमा उत्कृष्ट ब्याटिङ गरेको नेपाल दोस्रो खेलमा भने कमजोर देखिएको थियो । यद्यपि उक्त अभ्यास खेलमा नेपालले सानदार बलिङ गर्दै २७ रनले मलेसियालाई हराएको थियो ।

एसिसी प्रिमियर कपमा १० टिम सहभागी छन् । यसबाट उपाधि जित्ने टिमबाट एसिया कपमा छनोट हुनेछन् । एसिया कप २०२७ मा बंगलादेशमा हुँदैछ । अब नेपालले लिग चरणको अन्तिम खेल हङकङसँग खेल्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.