बिशेषसम्पादकीय

जेनजी आन्दोलन : नयाँ राजनीतिक युगको परीक्षा

नेपालको राजनीतिक इतिहासमा भदौ २३ र २४ गते आरोप, प्रत्यारोप, घृणा, आक्रोशका आगो ओकल्ने दिनका रुपमा चित्रित गरिएको छ, तर त्यो आन्दोलनको गहिराई, सामाजिक वास्तविकता र नयाँ पुस्ताको सोचप्रति कसैको चासो छैन । केवल सत्ताराजनीतिसंग मात्रै जोडेर व्याख्या, विश्लेषण, आलोचना र समर्थन गरिन्छ ।

एआई सिर्जित सांकेतिक तस्वीर

वि.सं. २०८२ भदौ २३ गतेको जेनजी (नवयुवा) आन्दोलन नेपाली राजनीतिक इतिहासको एउटा महत्त्वपूर्ण मोडका रूपमा स्मरणीय रहनेछ। त्यस आन्दोलनमाथिको दमन, त्यसबाट सिर्जिएको जनआक्रोश, भदौ २४ गते भएको विध्वंस र त्यसक्रममा भएको ठूलो जनधनको क्षतिले मुलुकलाई गम्भीर राजनीतिक संकटमा धकेल्यो।

तर, यही घटनाक्रमले राजनीतिक परिवर्तनको नयाँ अध्याय पनि सुरु गर्यो। अन्तरिम सरकार गठन भयो, त्यसपछि फागुन २१ गते सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले झण्डै दुई तिहाइ बहुमत प्राप्त गर्यो र लोकप्रिय व्यक्तित्व बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भयो।

तीन दशकभन्दा बढी समयदेखि आलोपालो शासन गर्दै आएका पुराना राजनीतिक दलहरू अहिले अस्तित्वको लडाइँमा छन्। इतिहास, सिद्धान्त, दर्शन, त्याग र संघर्षको लामो विरासत बोकेको दाबी गर्ने ती दलहरू जनविश्वास गुमाउँदै गएको यथार्थलाई सहज रूपमा स्वीकार्न तयार देखिँदैनन्।

उनीहरूको ऐतिहासिक योगदानलाई अस्वीकार गर्न सकिँदैन, तर त्यही अवधिमा भ्रष्टाचार, कुशासन, विकृति, विसंगति, अति-दलीयकरण र बिचौलिया संस्कृतिले राज्यका लगभग सबै निकायलाई कमजोर बनाएको पनि कटु सत्य हो। जनताले परिवर्तनको पक्षमा मत दिनुको मूल कारण यही थियो।

नयाँ सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण र विकासलाई प्राथमिकतामा राखेको देखिन्छ। सिंहदरबार र मन्त्री निवासहरूमा कार्यकर्ता तथा बिचौलियाको भीडभाड नहुनु, मन्त्रीहरू अनावश्यक भाषण, उद्घाटन, सिलान्यास र विमोचन कार्यक्रममा नदौडिनु जस्ता अभ्यासलाई आम नागरिकले सकारात्मक रूपमा लिएका छन्।

यस्ता संकेतहरूले शासन प्रणालीमा केही नयाँ संस्कृतिको सुरुआत भएको अनुभूति गराएका छन्। यद्यपि, सरकारका हरेक कदमप्रति विपक्षी दलहरू असन्तुष्ट छन्। उनीहरूको आरोप छ– सरकारले कुनै पनि क्षेत्रमा अपेक्षित सफलता हासिल गर्न सकेको छैन। लोकतन्त्रमा सरकारको आलोचना स्वाभाविक र आवश्यक पनि हो।

तर आलोचना तथ्यमा आधारित, रचनात्मक र जनहितमुखी हुनुपर्छ। सत्ता बाहिरिएपछि सरकारका सबै कामलाई असफल देखाउने राजनीतिक अपसंस्कृतिले न लोकतन्त्र बलियो हुन्छ, न राष्ट्रको विकास नै सम्भव हुन्छ।

सरकारले सुधारका लागि कुनै कदम चाल्न खोज्दा दलीय आबद्धता भएका पेशाकर्मी, व्यवसायी तथा विभिन्न अधिकारकर्मीहरू नै विरोधमा उत्रने प्रवृत्ति पनि देखिएको छ। विगतमा गहिरो गरी जरा गाडेको बिचौलिया संस्कृति र दलीय स्वार्थ एकै पटक हट्न सक्ने विषय होइन। त्यसका लागि धैर्य, निरन्तरता र संस्थागत सुधार आवश्यक हुन्छ।

जेनजी आन्दोलनको मूल भावना राज्यलाई उत्तरदायी, पारदर्शी र जनमुखी बनाउनु थियो। त्यो उद्देश्य पूरा गर्न सरकार मात्रै जिम्मेवार हुँदैन। संसद्, न्यायपालिका, निजामती प्रशासन, सुरक्षा निकाय, संवैधानिक आयोग, राजनीतिक दल, नागरिक समाज र सञ्चारमाध्यम सबैको समान दायित्व हुन्छ। परिवर्तनलाई सफल बनाउन राज्यका सम्पूर्ण अंगले आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्छ।

अहिले नै सरकारले जेनजी आन्दोलनका सबै अपेक्षा पूरा गरिसकेको वा पूर्ण रूपमा असफल भइसकेको निष्कर्ष निकाल्ने समय भएको छैन। स्वतन्त्र विश्लेषकहरूको एउटा ठूलो समूहले भने सरकार सही दिशातर्फ अघि बढिरहेको तर्क प्रस्तुत गरिरहेको छ। यसको वास्तविक मूल्याङ्कन समयले गर्नेछ।

यसबीचमा भोटेकोशी बाढी जस्ता प्राकृतिक विपद्का समयमा सरकारको उपस्थिति नै नभएको प्रचार गर्दै सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाल स्काउटका उद्धार प्रयासलाई समेत बेवास्ता गरेर केवल राजनीतिक विरोधका लागि विरोध गर्ने प्रवृत्ति पनि स्वस्थ लोकतान्त्रिक अभ्यास होइन। विपद्का बेला राष्ट्रिय एकता र तथ्यमा आधारित समीक्षा आवश्यक हुन्छ, दलीय प्रचार होइन।

नेपालको राजनीतिले अहिले एउटा नयाँ अवसर पाएको छ। यो अवसरलाई सफल बनाउने कि विगतकै कटु राजनीतिक संस्कृतिमा फर्किने भन्ने निर्णय सरकार, विपक्षी दल र सम्पूर्ण राज्य संयन्त्रको व्यवहारले निर्धारण गर्नेछ। जनताले परिवर्तनको पक्षमा दिएको जनादेशको सम्मान गर्दै सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्न सके मात्र जेनजी आन्दोलनको वास्तविक मर्म पूरा हुनेछ।

नेपाल अहिले केवल सरकार परिवर्तनको चरणमा छैन, राजनीतिक संस्कार परिवर्तनको परीक्षामा पनि छ। जेनजी आन्दोलनले केवल सत्ता फेरबदलको माग गरेको थिएन, उसले राज्य सञ्चालनको सोच, शैली र चरित्र बदल्ने जनादेश दिएको थियो।

त्यसैले सरकारलाई काम गर्न दिने र परिणामका आधारमा मूल्याङ्कन गर्ने लोकतान्त्रिक संस्कार आवश्यक छ। त्यस्तै, सरकार पनि जनअपेक्षाअनुसार सुशासन, पारदर्शिता र विकासमा कुनै सम्झौता नगरी अघि बढ्नुपर्छ।

पुराना राजनीतिक दलहरूले पनि आत्मसमीक्षा गरेर विगतका कमजोरीबाट पाठ सिक्न सके मात्र लोकतन्त्र बलियो हुन्छ। केवल विरोधका लागि विरोध र केवल सत्ताका लागि राजनीति गर्ने प्रवृत्तिले न जनविश्वास फर्किन्छ, न देश अघि बढ्छ। परिवर्तनको जनादेशलाई असफल बनाउन खोज्नु अन्ततः देशलाई नै असफल बनाउनु हो।

जेनजी आन्दोलनको सफलता कुनै एक सरकार, एक दल वा एक नेताको सफलतामा सीमित हुँदैन। यसको सफलता तब प्रमाणित हुनेछ, जब राज्यका सबै अंगमा सुशासन संस्थागत हुनेछ, बिचौलिया संस्कृतिको अन्त्य हुनेछ, नागरिकले न्याय र अवसरको अनुभूति गर्नेछन्, र राजनीतिले फेरि जनताको विश्वास जित्नेछ।

यही आन्दोलनको वास्तविक श्रद्धाञ्जली पनि हुनेछ। परिवर्तनका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने जेनजी आन्दोलनका सम्पूर्ण शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली!

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.