क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
काठमाडौँ महानगरपालिकाले महिलामा हुने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर र स्त्रीरोगको निःशुल्क परीक्षण गराउने भएको छ ।
कामपा–२७ ले आउँदो असोज १७ गते शनिबार महिलामा हुने ती विषयको रोगको निःशुल्क स्वास्थ्य जाँच गराउन लागेको हो । उक्त वडाले निःशुल्क स्वास्थ्य शिविरका लागि निजामती कर्मचारी अस्पतालसँग सम्झौतासमेत गरिसकेको छ ।
उक्त वडाले ‘वडाको अग्रसरतामा क्यान्सरमुक्त टोल, क्यान्सरमुक्त समुदाय तथा क्यान्सरमुक्त वडा’ भन्ने कार्यक्रम अघि सारेको छ । उक्त कार्यक्रमलाई महानगरपालिकाले क्रमश: सबै वडामा विस्तार गर्ने सोच अघि बढाएको जानकारी दिँदै सम्झौतापछि कार्यवाहक प्रमुख सुनिता डङ्गोलले भन्नुभयो, “पछिल्लो समय महिलामा स्वास्थ्य समस्याका रुपमा रहेको क्यान्सरको लक्षण नदेखिँदै रोगको सम्भावना पहिचान गर्न खोजिरहेका छौँ ।”
विभिन्न अभियान र कार्यक्रममार्फत नगरवासीलाई रोग लाग्नु अगाडि नै सतर्कता अपनाउन आग्रह गरिएको जनाउँदै उहाँले खासगरी सहरभित्रका वडाका स्थानीयमा रोग लाग्नु पूर्वजाँच गर्न जाने परम्परा नदेखिएकाले उनीहरुलाई टोलमै पुगेर सेवा दिने उद्देश्यले शिविर सञ्चालन गर्न लागिएको बताउनुभयो ।
वडाध्यक्ष योगेश खड्गीले घर दैलोमै सञ्चालन हुने शिविरबाट धेरै महिलाले लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो । अस्पतालका कार्यकारी निर्देशक डा जितेन्द्र परियारले शिविरमा परीक्षणका क्रममा केहीलाई जटिल खालको समस्या देखिएमा अस्पतालले उपचारमा सहजीकरणका लागि सहयोग पुर्याउने बताउनुभयो ।
उहाँले भन्नुभयो, “प्रारम्भिक जाँचका क्रममा कुनै जटिल समस्या देखिएमा चिकित्सको सल्लाहबमोजिम थप परीक्षण आवश्यक परेमा वडाको सिफारिसमा निजामती अस्पतालमा क्यान्सर हुनु पूर्वको परिवर्तन थाहा पाउन अल्ट्रासाउण्ड र मेमोग्रामलगायतको परीक्षण गराउन सकिने छ ।”
यसअघि पनि कामपाले क्यान्सर रोग परीक्षणका लागि एक महिने अवधिको शिविर सञ्चालन गरेको थियो ।





प्रतिक्रिया राख्नुहोस्