त्रिभुवन विमानस्थलबाट स्रोत नखुलेको विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको विदेशी मुद्रासहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको कर्नाटक बैङ्लोर बस्ने जगदीशमोहन राव रहेका छन् । उनको राहदानी नम्बर आरए ६७७२४६ रहेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
नेपाल वायुसेवा निगमको उडान नम्बर आरए–२२५ मार्फत काठमाडौँबाट बैङ्लोर भारततर्फ प्रस्थान गर्न लागेका रावलाई विमानस्थलको ब्यागेज चेकिङ क्षेत्रमा एक्स–रेमार्फत सामान जाँच गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो ।
जाँचका क्रममा उनको साथबाट स्रोत नखुलेको भारतीय रुपैयाँ छ लाख ३५ हजार, चिनियाँ युआन ६३५, हङकङ डलर १०, भियतनामी डोङ ११ लाख ८६ हजार र थाइल्यान्डको भाट १७० बरामद भएको विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता राजकुमार सिलवालले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार उनलाई विदेशी मुद्रा अवैध रूपमा लुकाइछिपाइ लैजान लागेको अवस्थामा फेलापरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका रावलाई थप अनुसन्धान तथा प्रचलित कानुनबमोजिम कारबाहीका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग हरिहर भवन पुल्चोक, ललितपुर पठाइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।





प्रतिक्रिया राख्नुहोस्