राजनीति

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क जे–ख्योङले उहाँको कार्यकक्षमा शुक्रबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

त्यस अवसरमा उहाँहरुबीच नेपाल–कोरिया सम्बन्ध, भोटेकोशी बाढी प्रभावितको उद्धार, पुनःस्थापना तथा सहायताबारे छलफल हुनाका साथै सूचना प्रविधि, ‘डिजिटल’ अर्थतन्त्र र कृत्रिम बौद्धिकताका क्षेत्रमा सहकार्य गर्नेबारे कुराकानी भएको थियो ।

सञ्चारमन्त्री डा तिमिल्सिनाले भोटेकोशीको बाढीबाट सिर्जित विपद्को कठिन समयमा नेपाललाई कोरियाबाट प्राप्त सहयोग र सहानुभूतिका लागि आभार व्यक्त गर्नुभयो ।

उद्धार तथा खोजीमा कोरियाले विपद् व्यवस्थापन टोली परिचालन गरेकामा आभार व्यक्त गर्दै उहाँले बाढी प्रभावितका लागि सहयोग तथा पुनर्निर्माण र पुनःस्थानामा सहयोग गर्ने कोरियाली सरकारको प्रतिबद्धताका लागि कृतज्ञता ज्ञापन गर्नुभयो ।

सञ्चारमन्त्री डा तिमिल्सिनाले नेपाल र कोरियाबीच पारस्परिक सम्मान, समझदारी र सहकार्यमा आधारित मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

राजदूत पार्कले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि कोरियाको सहयोग निरन्तर रहने बताउनुभयो । उहाँले बाढीमा परेका कोरियाली नागरिकको अवस्थाबारे चासो व्यक्त गर्नुभयो ।

राजदूत पार्कका अनुसार कोरियाली सुरक्षाकर्मीको टोलीले बाढीमा फसेका १० जना कोरियाली नागरिकको उद्धार गरेको छ भने माथिल्लो त्रिशूली–१ आयोजना क्षेत्रमा रहेका नौ जना कोरियाली नागरिक अझै सम्पर्कविहीन छन् ।

राजदूत पार्कले यही असोज १४ गतेदेखि दक्षिण कोरियामा आयोजना हुने ‘१२औँ ग्लोबल आइसिटी लिडरसिप फोरम’मा नेपाल र अन्य देशका तर्फबाट हुने सहभागिताबारे सञ्चारमन्त्रीलाई जानकारी दिनुभयो ।

दक्षिण कोरियाको विज्ञान तथा सूचना प्रविधि मन्त्रालयको आयोजनामा तथा नेसनल इन्फरमेसन सोसाइटी एजेन्सीको संयोजनमा हुने उक्त फोरममा नेपाललगायत विभिन्न देशका प्रतिनिधिबीच सूचना प्रविधि तथा कृत्रिम बौद्धिकताका क्षेत्रमा सहकार्य एवं आगामी रणनीतिबारे उच्चस्तरीय छलफल हुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.