जन सरोकार

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । सम्बन्धित जिल्ला प्रहरी कार्यालयबाट शनिबार र आइतबार खटिएको प्रहरी टोलीले काठमाडौँ, कञ्चनपुर, चितवन, रुपन्देही, सुनसरी, बर्दिया, मोरङ, झापा, बाँके, इलाम र बारबाट अवैध लागुऔषधसहित २६ जनालाई पक्राउ गरेको हो ।

काठमाडौँको काठमाडौँ महानगरपालिका-३१ प्रयोगमार्गबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ४१० मिलिग्राम र नगद रु पाँच हजारसहित ललितपुर लुभु बस्ने भोजपुर भोजपुर नगरपालिका-८ घर भएका ३८ वर्षीय विनोदकुमार विक र दक्षिणकाली नगरपालिका-५ फर्पिङ बसपार्कबाट नियन्त्रित लागुऔषध नाइट्राजेपाम २१० ट्याब्लेट र स्पास्मो १६८ ट्याब्लेटसहित सर्लाही कौडेना नगरपालिका-७ सक्राउन घर भएका १८ वर्षीय किशोरसहित दुई जनालाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

त्यस्तै, कञ्चनपुरको पुनर्वास नगरपालिका-९ बाट नियन्त्रित लागुऔषध स्पास्मो प्रोक्सिभन ४०८ ट्याब्लेटसहित भारत उत्तर प्रदेश बस्ने ५५ वर्षीय दीप चन्द र कृष्णपुर नगरपालिका–९ पिपरिया बस्ने ३४ वर्षीय रामनरेस रानालाई खैरो हेरोइन जस्तो देखिने पदार्थ र रु १० हजारसहित आज प्रहरीले पक्राउ गरेको छ ।

चितवनको राप्ती नगरपालिका-१ परेवाकोट डाँडास्थित जङ्गलबाट गाँजासहित राप्ती-१२ बस्ने ५५ वर्षीय चन्द्रबहादुर चेपाङ, २९ वर्षीय हरिलाल चेपाङ र राप्ती-२ का ५२ वर्षीय वीरबहादुर ब्लोनलाई पक्राउ गरिएको हो ।

रूपन्देहीको सिद्धार्थनगर नगरपालिका-६ गल्लामण्डीबाट ब्राउनसुगर जस्तो देखिने पदार्थसहित सोही ठाउँका ३३ वर्षीय मुन्ना भन्ने मनोज गुप्ता, २७ वर्षीय रजत बाँनिया र ओमसतिया गाउँपालिका-४ बालापुर बस्ने बिसु गुरुङलाई लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

सुनसरीको बराहक्षेत्र नगरपालिका-९ बरपिपलचोकबाट भारत बिहार अररिया बेलाहा बस्ने २० वर्षीय विपिनकुमार यादव, बर्दियाको बाँसगढी नगरपालिका-५ ओमचोकबाट बाँसगढी-३ का १८ वर्षीय किशोर, राजापुर नगरपालिका-४ भन्सार चोकबाट राजापुर-८ भोगपुर बस्ने २४ वर्षीय सिमान्त चौधरी, गुलरिया नगरपालिका-७ का २४ वर्षीय राहुल थारूसहित दुई जना लागुऔषधसहित पक्राउ परेका केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

त्यस्तै मोरङको सुनवर्षी नगरपालिका-८ बाट कानेपोखरी गाउँपालिका-६ बस्ने २४ वर्षीय विक्रम गुरुङ र २१ वर्षीया केविना गुरुङ, पथरी शनिश्चरे नगरपालिका-१ बाट ब्राउनसुगर जस्तो देखिने पदार्थसहित सोही नगरपालिका-३ का २३ वर्षीय करण राई पक्राउ परेका छन् ।

खैरो हेरोइन जस्तो देखिने पदार्थसहित झापाको दमक नगरपालिका-१ डेरा गरी बस्ने इलाम घर भएका २५ वर्षीय किरण साम्बा लिम्बु र मिक्लाजुङ गाउँपालिका-१ घर भएका २५ वर्षीय रोशन राई, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-३ बाट नेपालगञ्ज-३ का ३२ वर्षीय मोहम्मद हसीन अन्सारी र २५ वर्षीय समीर अहमद अन्सारी पक्राउ परेका छन् ।

इलामको इलाम नगरपालिका-९ गोलबस्ती डेरा गरी बस्ने पाँचथर फालेलुङ गाउँपालिका-५ घर भएका ३४ वर्षीय मौसम लिम्बुसहित दुई जना र बाराको विश्रामपुर गाउँपालिका-४ बाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित भारत मोतिहारी नकरदेही पञ्चायत-२ बिर्ता टोल घर भएका ४० वर्षीय दुखी साहलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.