जल/वातावरण

भोटेकोशीको बाढीले सम्झायो गुटेरेसको हिमालसम्बन्धी तीन वर्षअघिको चेतावनी

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले तीन वर्षअघि नेपालको हिमाली क्षेत्रमा देखेको जलवायु परिवर्तनको असर अहिले भोटेकोशीको विनाशकारी बाढीका रूपमा देखिएको बताउनुभएको छ।

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा गुटेरेसले तीन वर्षअघि नेपालको अन्नपूर्ण र सगरमाथा क्षेत्रमा पुग्दा हिमनदी तीव्र गतिमा पग्लिरहेको आफूले प्रत्यक्ष देखेको बताउनुभएको हो।

त्यतिबेला नै हिमनदीको अवस्था नाटकीय रूपमा बिग्रिरहेको र त्यसले ठूलो विपत्ति निम्त्याउन सक्ने चेतावनी आफूले दिएको स्मरण गर्दै उहाँले अहिले त्यस्तो विपत्ति देखिएको बताउनुभयो।

गुटेरेसको उक्त अभिव्यक्ति गत अगस्ट २६ मा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको पृष्ठभूमिमा आएको हो। बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ।

सरकारको प्रारम्भिक क्षति मूल्याङ्कनअनुसार बाढीबाट करिब सात हजार ५७० घर प्रभावित भएका छन् भने ३२ हजार ९३३ जना प्रत्यक्ष प्रभावित भएका छन्। ५५ किलोमिटर सडक, ३७ मोटरेबल पुल र ६८ झोलुंगे पुलमा क्षति पुगेको छ।

त्यस्तै, १३ जलविद्युत् आयोजना, एउटा सौर्य आयोजना र दुई प्रसारण लाइनमा क्षति पुगेको तथा करिब ७८३ मेगावाट विद्युत् उत्पादन क्षमता प्रभावित भएको प्रारम्भिक विवरणमा उल्लेख छ।

जलवायु संकट अब भविष्यको विषय होइन

गुटेरेसले जलवायु परिवर्तनका कारण विश्वका विभिन्न क्षेत्रमा देखिएका असरलाई अब भविष्यमा हुन सक्ने सम्भावित संकटका रूपमा मात्र हेर्न नसकिने बताउनुभएको छ।

उहाँले हिमनदी पग्लने, समुद्री सतह बढ्ने, चरम मौसमी घटना बढ्ने तथा जलवायुजन्य विपद् तीव्र हुने अवस्थाले विश्वका कमजोर समुदायलाई बढी प्रभावित गरिरहेको बताउनुभएको छ।

नेपालको हिमाली क्षेत्र जलवायु परिवर्तनको प्रभाव प्रत्यक्ष देखिने क्षेत्रमध्ये एक भएको उहाँको भनाइ छ। हिमनदी र हिमतालमा भइरहेको परिवर्तनले हिमाली क्षेत्रसँगै तल्लो तटीय क्षेत्रमा समेत जोखिम बढाउन सक्ने उहाँले बताउनुभएको छ।

गुटेरेसले विश्व तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसको सीमाभन्दा माथि जान नदिन तत्काल उत्सर्जन घटाउनुपर्नेमा जोड दिनुभएको छ। उक्त सीमा पार हुने अवस्था आए पनि तापक्रम वृद्धि सकेसम्म छोटो समय र न्यून स्तरमा सीमित गर्नुपर्ने उहाँको भनाइ छ।

उहाँले जलवायु परिवर्तनबाट बढी प्रभावित विकासशील मुलुकलाई अनुकूलन तथा क्षति सम्बोधनका लागि पर्याप्त वित्तीय सहयोग उपलब्ध गराउन विकसित मुलुकलाई आग्रह गर्नुभएको छ।

‘प्रदूषण गर्नेले त्यसको मूल्य तिर्नुपर्छ’

महासचिव गुटेरेसले जलवायु परिवर्तनको असर सबैले समान रूपमा नबेहोरेको बताउनुभएको छ। जलवायु परिवर्तनमा कम योगदान गर्ने विकासशील तथा कमजोर मुलुकले यसको असर बढी भोगिरहेको उल्लेख गर्दै उहाँले प्रदूषण तथा उत्सर्जनमा बढी योगदान गर्ने पक्षले जलवायु क्षतिको सम्बोधनमा बढी जिम्मेवारी लिनुपर्ने बताउनुभयो।

उहाँले जलवायु अनुकूलनका लागि विकासशील देशलाई उपलब्ध गराइने अन्तर्राष्ट्रिय वित्तीय सहयोग बढाउनुपर्नेमा जोड दिनुभएको छ।

महासभामा चार प्रमुख चुनौती

गुटेरेसले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै विश्वसामु रहेका प्रमुख चुनौतीबारे पनि धारणा राख्नुभएको छ।

उहाँले युद्ध तथा शान्ति, आर्थिक असमानता, जलवायु परिवर्तन र कृत्रिम बुद्धिमत्तालाई वर्तमान विश्वका प्रमुख चुनौतीका रूपमा प्रस्तुत गर्नुभएको छ।

विश्वमा विभाजनका रेखा थप गहिरिँदै गएको उल्लेख गर्दै उहाँले अन्तर्राष्ट्रिय सहकार्य, साझा नियम र बहुपक्षीय संस्थालाई बलियो बनाउनुपर्नेमा जोड दिनुभएको छ।

‘हाम्रा विश्वका गलत कदमहरु फराकिला हुँदैछन्। चिराहरू अब गहिरा खोंच बनेका छन्,’ उहाँले भन्नुभएको छ। उहाँका अनुसार विश्वका विभिन्न संकट एकअर्कासँग जोडिएका छन् र त्यसको समाधानका लागि देशहरूबीच थप सहकार्य आवश्यक छ।

एआईको जोखिम व्यवस्थापनमा पनि जोड

महासभामा गुटेरेसले कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र विकासबाट उत्पन्न हुन सक्ने जोखिम व्यवस्थापनमा पनि जोड दिनुभएको छ।

उहाँका अनुसार पछिल्ला शताब्दीमा शक्ति भूगोल, उद्योग र वित्त हुँदै अहिले तथ्यांक, कम्प्युटिङ क्षमता तथा एल्गोरिदमतर्फ सर्दै गएको छ।

एआई प्रविधि आफैंमा खतरा नभए पनि जवाफदेहिताविहीन प्रविधि, निगरानीबिनाको क्षमता र पारदर्शिताविहीन निर्णय प्रक्रिया जोखिमपूर्ण बन्न सक्ने उहाँले बताउनुभएको छ।

एआई विकासमा अगाडि रहेका देशले जोखिमसम्बन्धी सूचना आदानप्रदान गर्नुपर्ने, परीक्षण तथा मूल्याङ्कनमा सहकार्य गर्नुपर्ने र विश्वव्यापी सुरक्षा मापदण्ड निर्माण गर्नुपर्ने उहाँको सुझाव छ।

एआईको विश्वव्यापी व्यवस्थापनका लागि बहुपक्षीय जोखिम व्यवस्थापन संरचना निर्माण गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ। ‘एआई मानवताले, मानवतासँग र सम्पूर्ण मानवताका लागि निर्माण गर्नुपर्छ,’ उहाँले भन्नुभएको छ।

जीवन र मृत्युको निर्णय मेसिनलाई सुम्पन नहुने उल्लेख गर्दै उहाँले घातक स्वचालित हतियारलाई भविष्यमा स्थान दिन नहुने धारणा पनि राख्नुभएको छ।

नेपालको हिमाल विश्वमञ्चमा

गुटेरेसले तीन वर्षअघि नेपालको हिमाली क्षेत्रमा गरेको भ्रमणलाई अहिलेको जलवायु बहससँग जोड्नु नेपालको लागि महत्वपूर्ण अन्तर्राष्ट्रिय सन्दर्भ बनेको छ।

हिमनदीमा भइरहेको परिवर्तन र त्यसपछि भोटेकोशीमा देखिएको विपद्ले हिमाली क्षेत्रमा जलवायु जोखिम बढिरहेको विषयलाई थप चर्चामा ल्याएको छ।

नेपालका लागि अब हिमाल संरक्षण, जलवायु न्याय, अनुकूलन तथा विपद् जोखिम न्यूनीकरणलाई अन्तर्राष्ट्रिय सहकार्यसँग जोडेर अघि बढाउने चुनौती छ।

नेपालका तर्फबाट प्रधानमन्त्री बालेन्द्र शाह तथा परराष्ट्र मन्त्री शिशिर खनालको प्रस्तुतिमा पनि यही विषयलाई उच्च प्राथमिकता दिंदै जलवायु न्यायको माग केन्द्रबिन्दुमा रहने बताइएको छ ।

तीन वर्षअघि नेपाल भ्रमणका क्रममा हिमनदीमा देखेको परिवर्तनबारे गुटेरेसले दिनुभएको चेतावनी र अहिले भोटेकोशीमा भएको विनाशले नेपालसहित हिमाली मुलुकमा जलवायु परिवर्तनको जोखिमलाई थप गम्भीर रूपमा लिनुपर्ने सन्देश दिएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.