रास्वपाले सांसदको उपस्थिति तालिका तोक्यो
प्रतिनिधिसभामा १८२ सिटसहित झण्डै दुईतिहाइ बहुमतको नेतृत्व गरिरहेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदको संसद्मा नियमित उपस्थिति सुनिश्चित गर्न समूहगत न्यूनतम उपस्थिति तालिका निर्धारण गरेको छ ।
संसद्मा रास्वपाका सांसदको उपस्थिति न्यून हुँदा कतिपय बैठकमा गणपूरक संख्या कायम गर्नसमेत कठिनाइ देखिएको र ठूलो जनादेश पाएको दलका सांसद नै संसद्मा पर्याप्त उपस्थित नहुने विषयमा प्रश्न उठिरहेका बेला रास्वपाले सांसदको उपस्थिति व्यवस्थित गर्न यस्तो तालिका सार्वजनिक गरेको हो ।
हाल प्रतिनिधिसभामा रास्वपाका १८२ सांसद छन्, जुन कुल २७५ सिटमध्ये स्पष्ट बहुमतभन्दा धेरै हो । केही बैठकको उपस्थितिको विवरणमा पनि रास्वपाका सांसदको उपस्थिति अन्य दलको तुलनामा कमजोर देखिएको छ । उदाहरणका लागि भदौ ८ गतेको प्रतिनिधिसभा बैठकमा रास्वपाका ८१ प्रतिशत सांसद उपस्थित रहेको संसद्को विवरण छ ।
यसअघि संसद्मा रास्वपाका सांसदको न्यून उपस्थितिलाई लिएर अन्य दलका सांसदले समेत प्रश्न उठाएका थिए । सत्तारुढ दलसँग ठूलो संख्यामा सांसद रहे पनि संसद्को कामकारबाहीमा सांसदको उपस्थिति न्यून हुनु गम्भीर विषय भएको भन्दै आलोचना भएको थियो ।
यस्तो पृष्ठभूमिमा रास्वपा संसदीय दलले प्रतिनिधिसभा बैठकमा सांसदहरूको नियमित तथा प्रभावकारी उपस्थिति सुनिश्चित गर्न समूहगत न्यूनतम उपस्थिति तालिका निर्धारण गरेको हो ।
मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जारी गर्नुभएको सूचनाअनुसार समूहका आधारमा आजदेखि असोज १६ गतेसम्म विभिन्न समूहका सांसद अनिवार्य रूपमा उपस्थित हुनुपर्नेछ । समूह निर्धारण नगरिएका सांसद पनि संसद् बैठकमा उपस्थित हुनुपर्ने सूचनामा उल्लेख छ ।
तालिकाअनुसार असोज ८ गते समूह ३, ४ र १ का सांसद, असोज १२ गते समूह १ र २ का सांसद, असोज १३ गते समूह २ र ३ का सांसद, असोज १४ गते समूह ३ र ४ का सांसद, असोज १५ गते समूह ४ र १ का सांसद तथा असोज १६ गते समूह १ र २ का सांसद अनिवार्य रूपमा उपस्थित हुनुपर्नेछ ।
रास्वपा संसदीय दलले समूहगत तालिका बनाउनुको अर्थ अन्य समूहका सांसदलाई संसद्मा उपस्थित हुन छुट नदिइएको स्पष्ट पारेको छ । विशेष अवस्थाबाहेक संसद्मा उपस्थिति सबैका लागि सधैँ बाध्यकारी हुने जनाइएको छ ।
त्यस्तै, संसद् बैठकमा छलफल भइरहेका बेला चिया वा अन्य विश्रामका लागि पनि सांसदहरूले पालैपालो समय मिलाउनुपर्ने निर्देशन दिइएको छ । यसबाट बैठकको छलफल तथा कार्यसूची प्रभावित नहुने व्यवस्था गर्न खोजिएको रास्वपाले जनाएको छ ।
कुनै प्रस्ताव वा विधेयक निर्णयार्थ प्रस्तुत हुने अवस्थामा सम्बन्धित तोकिएका सबै सांसद अनिवार्य रूपमा उपस्थित हुनुपर्ने पनि संसदीय दलले जनाएको छ ।
रास्वपाको पछिल्लो निर्णयलाई संसद्मा सांसदको उपस्थितिसम्बन्धी उठ्दै आएको प्रश्न सम्बोधन गर्ने प्रयासका रूपमा हेरिएको छ । संसद्को आधिकारिक तथ्याङ्कले सांसदहरूको बैठक उपस्थिति सार्वजनिक गर्दै आएको छ भने रास्वपाका सांसदहरूको व्यक्तिगत उपस्थितिमा समेत उल्लेख्य अन्तर देखिन्छ ।
ठूलो जनादेशसहित सरकारको नेतृत्व गरिरहेको दलका सांसद संसद्को नियमित कामकारबाहीमा सक्रिय रूपमा उपस्थित हुनुपर्ने आवाज उठिरहेका बेला रास्वपाले ल्याएको उपस्थितिको तालिकालाई संसद्को प्रभावकारिता र जिम्मेवारीसँग जोडेर हेरिएको छ ।




प्रतिक्रिया राख्नुहोस्