राजनीति

नेपाली कांग्रेसका पालिका अधिवेशन जारी, काठमाडौंमा सुशन वैद्य निर्विरोध

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन अन्तर्गत बुधबारदेखि देशभरका ७ सय ५३ पालिकामध्ये ५ सय १२ पालिकामा अधिवेशन प्रक्रिया सुरु भएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य सचिव राजु कटुवालका अनुसार ५८ जिल्लामा उद्घाटन तथा बन्द सत्रसहित निर्वाचन प्रक्रिया सुरु भइसकेको छ । अधिवेशन प्रक्रिया सुरु हुन बाँकी २४१ पालिकामा यही असोज ८ र ९ गते अधिवेशन सञ्चालन हुने उहाँले जानकारी दिनुभयो ।

यसैक्रममा काठमाडौँ महानगरपालिका कार्यसमितिको सभापतिमा सुशन वैद्य निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपसभापतिमा (खुला) शिवनारायण श्रेष्ठ, महिला उपसभापतिमा पम्फा भट्टराई, सचिवमा पञ्चनारायण महर्जन र सहसचिवमा रमेश महर्जन निर्वाचित हुनुभएको निर्वाचन अधिकृत अनिता जोशीले जानकारी दिनुभयो ।

त्यस्तै, चितवनको भरतपुर महानगरपालिका कार्यसमितिको सभापतिमा बुद्धिकान्त न्यौपाने निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुधबार सम्पन्न अधिवेशनले न्यौपानेको सभापतित्वमा नयाँ समिति चयन गरेको हो ।

कांग्रेस केन्द्रीय सदस्य जितनारायण श्रेष्ठका अनुसार भरतपुर महानगरको निर्वाचनमा एक हजार ३३५ मतदाता रहेकामा एक हजार २३२ जनाले मतदान गरेका थिए । विजयी न्यौपानेले ६६० मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी ज्योतिप्रसाद कँडेलले ४१३ मत प्राप्त गर्नुभएको थियो ।

यस्तै, काभ्रेपलाञ्चोकका १३ स्थानीय तहमध्ये खानीखोला गाउँपालिका बाहेक १२ स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएको छ ।

कांग्रेस क्षेत्र नं १ का क्षेत्रीय सभापति दिनेश लामाका अनुसार बुधबार सम्पन्न अधिवेशनबाट १२ स्थानीय तहमा सभापतिसहित कार्यसमिति निर्वाचित भएको छ ।

मण्डनदेउपुर नगरपालिकामा रामहरि सापकोटा, पाँचखाल नगरपालिकामा सञ्जय तामाङ, भुम्लु गाउँपालिकामा मञ्जु शाह ठकुरी, धुलिखेल नगरपालिकामा विदुर बस्नेत, पनौती नगरपालिकामा रुपक महत, चौरीदेउराली गाउँपालिकामा राजेश गौतम, तेमाल गाउँपालिकामा बिकुलाल तामाङ, बेथानचोक गाउँपालिकामा डिगमान तामाङ, रोशी गाउँपालिकामा दिल दोर्जे लामा, बनेपा नगरपालिकामा रामराज जोशी, महाभारत गाउँपालिकामा सागर मोक्तान र नमोबुद्ध नगरपालिकामा कृष्ण लामा सभापतिमा निर्वाचित हुनुभएको छ ।

यसैगरी, भोजपुरका नौ स्थानीय तहमध्ये आठ वटामा नेपाली कांग्रेसको अधिवेशन सम्पन्न भएको छ । भोजपुर नगरपालिकाबाहेक जिल्लाका अन्य सबै पालिकामा नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न भएको जिल्ला सभापति विनोद वान्तवाले जानकारी दिनुभयो ।

बुधबार सम्पन्न अधिवेशनबाट षडानन्द नगरपालिकाको सभापतिमा पदम तामाङ, पौवादुङमा गाउँपालिकामा सन्तोष कोइराला, टेम्केमैयुङ गाउँपालिकामा हर्कराज राई, आमचोक गाउँपालिकामा निम्नुरी शेर्पा र अरुण गाउँपालिकामा ज्ञानेन्द्र दाहाल निर्वाचित हुनुभएको छ ।

त्यसैगरी, साल्पासिलिछो गाउँपालिकाको सभापतिमा मनराज राई र रामप्रसादराई गाउँपालिकाको सभापतिमा घमचन्द्र दाहाल निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.