युक्रेन युद्धमा रुसले ४७ देशका नागरिक प्रयोग गरिरहेको जेलेन्स्कीको आरोप
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्धको युद्ध सञ्चालन गर्न ४७ देशका नागरिकलाई प्रयोग गरिरहेको आरोप लगाउनुभएको छ ।
रुसको उत्तर कोरियासँग बढ्दो रक्षा सम्बन्धतर्फ संकेत गर्दै जेलेन्स्कीले युक्रेनविरुद्ध लड्न तैनाथ गरिएका दुई उत्तर कोरियाली सैनिकलाई नियन्त्रणमा लिएर दक्षिण कोरिया पठाइएको पनि बताउनुभयो ।
संयुक्त राष्ट्रसङ्घमा सम्बोधन गर्दै जेलेन्स्कीले भन्नुभयो, “पुटिन सधैँ आफूलाई थप मानिस मार्न, प्रत्येक किलोमिटर भूमिका लागि थप मानिसको हत्या गर्न, थप भूभाग कब्जा गर्न र अर्को देशमाथि अधिकार जमाउन सहयोग गर्ने व्यक्ति खोजिरहनुहुन्छ । आफ्नै देश चलाएर युद्ध रोक्ने उहाँको विकल्प देखिँदैन ।”
“हामीलाई थाहा छ, रुसले आफ्नो युद्धमा ४७ देशका नागरिक प्रयोग गरिरहेको छ”, उहाँले भन्नुभयो । उहाँले घाना, नेपाल र भारतलगायत विभिन्न देशका नागरिकसमेत युद्धमा संलग्न भएको उल्लेख गर्नुभयो ।
जेलेन्स्कीले हालै युक्रेनले दुई उत्तर कोरियाली युद्धबन्दीलाई दक्षिण कोरिया पठाएको जानकारी दिँदै भन्नुभयो, “यी व्यक्तिलाई जीवितै पक्राउ गर्नु सजिलो थिएन ।”
युक्रेनी राष्ट्रपतिले ड्रोन प्रविधिका क्षेत्रमा युक्रेनले हासिल गरेको प्रगतिबारे पनि चर्चा गर्नुभयो । उहाँका अनुसार किभले आफ्ना सहयोगी मुलुकसँग ड्रोन प्रविधिसम्बन्धी सम्झौता गर्दै आएको छ ।
“हामी खाडी क्षेत्र, दक्षिण ककेसस र युरोपभरिका साझेदारसँग ड्रोनसम्बन्धी सम्झौतामार्फत काम गरिरहेका छौँ । आज मैले फिनल्यान्डसँग पनि गम्भीर र महत्वपूर्ण ड्रोन सम्झौतामा हस्ताक्षर गरेको छु”, उहाँले भन्नुभयो ।
उहाँले सोही दिन अस्ट्रेलियासँग सुरक्षा सम्झौतामा पनि हस्ताक्षर गरेको र त्यस सम्झौतामा ड्रोनसम्बन्धी विषयसमेत समावेश रहेको बताउनुभयो । युक्रेनले क्यानडासँग पनि ड्रोनसम्बन्धी सम्झौताको तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो ।
यसैबीच, जेलेन्स्कीले आगामी हिउँदमा रुसी ताप तथा ऊर्जा पूर्वाधारलाई निशाना बनाउन सक्ने चेतावनी दिनुभएको छ । उहाँले युक्रेनले रुसको अत्यधिक चिसो मौसमलाई उसैविरुद्ध प्रयोग गर्न सक्ने बताउनुभयो ।
युद्ध सुरु भएदेखि नै मस्कोले युक्रेनका नागरिकको ताप, इन्धन तथा ऊर्जा पूर्वाधारलाई निशाना बनाउँदै आएको आरोप लगाउँदै जेलेन्स्कीले त्यसको जवाफमा युक्रेनले पनि रुसी पूर्वाधारलाई निशाना बनाउन सक्ने बताउनुभयो ।
“युक्रेनीहरूलाई थाहा छ, यो हिउँद हाम्रा लागि निकै कठोर हुन सक्छ । तर त्यसको जवाफमा रुसका लागि पनि पीडादायी बनाउनुको विकल्प हामीसँग नहुन सक्छ”, उहाँले भन्नुभयो ।
मस्कोतर्फ जेलेन्स्कीको यस्तो कडा सन्देश अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रुस र युक्रेनलाई एकअर्काको ऊर्जा पूर्वाधारमाथि आक्रमण रोक्न अमेरिकाले दबाब दिइरहेको बताउनुभएको केही घण्टापछि आएको हो ।
जेलेन्स्कीले युक्रेनको उद्देश्य रुसको पेट्रोल तथा डिजेल आपूर्ति पूर्ण रूपमा ध्वस्त पार्नु नभएको पनि स्पष्ट पार्नुभयो । उहाँका अनुसार युक्रेनले रुसको युद्ध सञ्चालनका लागि मुख्य आम्दानीको स्रोतमा असर पार्न खोजिरहेको छ ।
“जब कसैले व्यापारमार्फत रुसलाई थप पैसा दिन्छ, उसले यो युद्धलाई थप समय दिइरहेको हुन्छ । त्यसैले हामी आक्रमणकारीसँगको व्यापार सीमित गर्न जोड दिइरहेका छौँ र त्यसैले हामी स्वयं रुसको आम्दानीमा प्रहार गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।
“पुटिनले जति लामो समय युद्ध जारी राख्न सक्नुहुन्छ, उहाँले विश्वमा त्यति नै धेरै विनाश र खराब विरासत छाडेर जानुहुनेछ”, जेलेन्स्कीले भन्नुभयो ।




प्रतिक्रिया राख्नुहोस्