विश्व समाचार

सेप्टेम्बर २७ को प्रदर्शनअघि इमरानका छोराको चेतावनी : ‘बुबाको जीवन जोखिममा पर्न सक्छ’

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका छोरा कासिम खानले पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई)ले सेप्टेम्बर २७ मा आयोजना गर्न लागेको प्रदर्शनका क्रममा समर्थकहरूलाई अडियाला जेलतर्फ मार्च नगर्न आग्रह गर्नुभएको छ।

उहाँले जेलतर्फको प्रदर्शनलाई पाकिस्तानी अधिकारीहरूले ‘प्रतिआक्रमण’को बहाना बनाउन सक्ने र त्यसबाट आफ्ना बुबाको जीवन जोखिममा पर्न सक्ने चेतावनी दिनुभएको छ।

पीटीआईले इमरान खानको रिहाइको माग गर्दै सेप्टेम्बर २७ मा प्रदर्शन तथा मार्चको आह्वान गरेको छ। विभिन्न मुद्दामा दोषी ठहर भएपछि पूर्वप्रधानमन्त्री खान सन् २०२३ को अगस्टदेखि जेलमा रहनुभएको छ।

एक्समा पोस्ट गर्दै कासिम खानले सेप्टेम्बर २७ मा अडियाला जेलनजिक मार्च वा प्रदर्शन नगर्न सर्वसाधारणलाई आग्रह गर्न आफूलाई निर्देशन दिइएको बताउनुभएको छ।

उहाँले लेख्नुभएको छ, “मलाई २७ तारिखमा अडियाला जेलनजिक मार्च वा प्रदर्शन गर्ने प्रयास नगर्न जनतालाई आग्रह गर्न भनिएको छ। मैले स्रोतहरूबाट सुनेको छु कि यसलाई प्रतिष्ठानले जेलमाथि ‘प्रतिआक्रमण’ गर्ने बहानाका रूपमा प्रयोग गर्न सक्छ। त्यही जेलमा मेरा बुबा राखिनुभएको छ र यसबाट उहाँको जीवन जोखिममा पर्न सक्छ। प्रदर्शनका क्रममा मेरा बुबालाई कुनै ‘दुर्घटना’ हुने अवस्था सिर्जना गर्न उनीहरूलाई कुनै कारण नदिनुहोस्।”

पीटीआईको प्रदर्शनअघि पाकिस्तानको पञ्जाब प्रान्तभर सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रान्तीय सरकारले सेप्टेम्बर २३ देखि अक्टोबर ५ सम्म पञ्जाबभर धारा १४४ लागू गरेको छ। यसअन्तर्गत सार्वजनिक स्थान तथा सडकमा पाँच वा त्यसभन्दा बढी व्यक्तिको जमघटमा रोक लगाइएको छ।

अधिकारीहरूले रावलपिन्डी, अटक, झेलम र मियाँवालीमा पाकिस्तान रेन्जर्स परिचालन गर्नसमेत माग गरेका छन्।

सुरक्षासम्बन्धी चिन्ताका कारण प्रतिबन्ध लगाइएको जनाइएको छ। प्रान्तीय सरकारको सूचनामा उग्रवादी तथा आतंकवादी संगठन र शत्रुतापूर्ण गुप्तचर निकायबाट सार्वजनिक शान्ति तथा सुरक्षामा “गम्भीर र आसन्न खतरा” रहेको उल्लेख गरिएको छ।

सेप्टेम्बर २७ को प्रस्तावित प्रदर्शन इमरान खानका तीन बहिनीको पक्राउसँग पनि जोडिएको छ। अलीमा खानलाई गत साता हिरासतमा लिइएको थियो भने उज्मा खान र नुरिन नियाजीलाई पञ्जाब सार्वजनिक व्यवस्था कायमसम्बन्धी अध्यादेशअन्तर्गत ३० दिनका लागि हिरासतमा राखिएको छ।

बिहीबार लाहोर उच्च अदालतले उज्मा र नुरिनको हिरासत आदेश तत्काल निलम्बन गर्न अस्वीकार गर्दै सम्बन्धित पक्षलाई सूचना जारी गरेको छ। अदालतले निवेदनमाथि निर्णय गर्नुअघि प्रतिवादी पक्षको जवाफ मागेको छ।

यी हिरासतका घटनाले पनि सेप्टेम्बर २७ को प्रदर्शनअघि राजनीतिक तनाव थप बढाएको छ। डनका अनुसार उज्मा र नुरिनका तर्फबाट बहस गर्दै वकिलहरूले उनीहरू “गैरराजनीतिक” रहेको र पर्याप्त कानुनी आधारबिना हिरासतमा राखिएको दाबी गरेका थिए। तर अदालतले हिरासत निलम्बनको मागमा निर्णय गर्नुअघि सम्बन्धित अधिकारीको जवाफ पर्खने निर्णय गरेको छ।

यसअघि कासिम खानले आफ्ना काकीहरू तथा अन्य आफन्तको हिरासतको आलोचना गर्दै घटनाप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन आग्रह गर्नुभएको थियो।

उहाँले एक्समा लेख्नुभएको थियो, “यो लज्जास्पद कुरा हो। अब मेरी काकीहरू डा. उज्मा र नुरिनसँगै मेरा कजिन शेरशाह र शाहरेजलाई पनि अपहरण गरिएको छ। उनीहरू मेरी काकीहरू र कजिनहरूको घरमा प्रवेश गरी कुनै स्पष्टीकरणबिना जबर्जस्ती गाडीमा राखेर लगेका छन्। पक्राउको कुनै कारण बताइएको छैन।”

पाकिस्तानी अधिकारीहरूले भने निवारक हिरासत तथा प्रतिबन्धहरू सार्वजनिक व्यवस्था र सुरक्षा चिन्तासँग सम्बन्धित रहेको बताउँदै आएका छन्। पञ्जाब सरकारको सूचनामा प्रान्तभर प्रतिबन्ध लगाउनुको कारणका रूपमा उग्रवादी संगठनबाट हुन सक्ने खतरा तथा अन्य सुरक्षा जोखिमलाई विशेष रूपमा उल्लेख गरिएको छ।

सेप्टेम्बर २७ मा हुने पीटीआईको प्रदर्शनले इमरान खानको निरन्तर जेल बसाइसँग जोडिएको राजनीतिक तथा सुरक्षा दबाब थप बढाउने देखिएको छ। प्रदर्शन लक्षित क्षेत्रहरूमा अधिकारीहरूले प्रतिबन्ध कडा पार्नुका साथै थप सुरक्षाकर्मी परिचालन गरिरहेका छन्। (एएनआई)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.