प्रदेशबागमती

उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँ : मुख्यमन्त्री थापा

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशभित्रका उद्योगको संरक्षण, सञ्चालन र लगानी सुरक्षाका लागि प्रदेश सरकार निजी क्षेत्रसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने बताउनुभएको छ ।

मकवानपुर उद्योग वाणिज्य सङ्घले सोमबार हेटौँडामा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उहाँले सञ्चालनमा रहेका उद्योगलाई व्यवस्थित रुपमा सञ्चालनका लागि आवश्यक भौतिक संरचना, बजेट तथा नीतिगत व्यवस्थामा प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो ।

हेटौँडा औद्योगिक क्षेत्रमा रहेका केही उद्योग बन्द हुने अवस्थामा पुगेको र केही उद्योग कच्चापदार्थको अभावलगायत समस्याबाट प्रभावित भएको उल्लेख गर्दै उहाँले रुग्ण तथा सञ्चालन गर्न सकिने उद्योगका लागि आवश्यक नीति ल्याइने बताउनुभयो ।

“प्रदेश सरकार करको दर बढाउनेभन्दा करको दायरा बढाउनेतर्फ लाग्नेछ”, उहाँले भन्नुभयो, “उद्योग–व्यवसाय सञ्चालनमा देखिएका समस्याको समाधानमा समन्वय र सहकार्य गर्नेछ ।”

उहाँले नयाँ उद्योग स्थापनालाई प्राथमिकता दिँदै स्थानीयस्तरमै रोजगारी सिर्जना गर्नुपर्ने बताउनुभयो । कानुनी प्रक्रिया पूरा गरेर स्थापना भएका उद्योगलाई विभिन्न कारणले अवरोध गर्ने प्रवृत्तिले व्यवसायीलाई हतोत्साहित बनाउने भन्दै उद्योगको संरक्षण र लगानी सुरक्षामा सरकार केन्द्रित हुने बताउनुभयो ।

मुख्यमन्त्री थापाले हालैको विपद्का कारण मुख्य सडक अवरुद्ध भएपछि वैकल्पिक सडक सञ्चालनका लागि प्रदेश सरकारले काम गरेको उल्लेख गर्नुभयो । उहाँले प्रभावित क्षेत्रमा पुनःस्थापना र पुनर्निर्माणमा तीनै तहका सरकार केन्द्रित हुने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.