जल/वातावरण

यसरी हुन्छ जलमापन केन्द्रबाट नारायणी नदीको निगरानी

नारायणी नदीमा बाढीको अवस्था नियमित निगरानी गर्न जलमापन केन्द्रबाट जलसतहसम्बन्धी तथ्याङ्क सङ्कलन, विश्लेषण र पूर्वसूचना प्रवाह हुँदै आएको छ ।

नारायणी बेसिन फिल्ड कार्यालयअन्तर्गतका नदी तथा खोलामा रहेका १८ जलमापन केन्द्रबाट प्राप्त तथ्याङ्कका आधारमा बाढीको अवस्था अनुगमन तथा पूर्वानुमान गर्ने गरिएको छ ।

कार्यालयका प्रमुख हाइड्रोलोजिस्ट इन्जिनियर सुमित अधिकारीका अनुसार चितवन, मकवानपुर, धादिङ, रसुवा र नुवाकोटमा रहेका १८ जलमापन केन्द्रबाट नदी तथा खोलाको जलसतहसम्बन्धी तथ्याङ्क सङ्कलन हुँदै आएको छ । ती तथ्याङ्कको विश्लेषण गरी बाढी पूर्वानुमान तथा पूर्वसूचनासम्बन्धी सेवा प्रवाह गर्ने गरिएको उहाँले बताउनुभयो ।

नारायणी नदीमा गत आइतबार हालसम्मकै उच्च जलसतह मापन भएको थियो । देवघाटस्थित जलमापन केन्द्रमा ११ दशमलव ९४ मिटर जलसतह मापन गरिएको थियो ।

जलमापन सुरु गरिएको सन् १९६३ यताकै यो उच्च मापन हो । यसअघि विसं २०८१ असोज १२ गते नारायणीमा ११ दशमलव छ मिटर जलसतह मापन गरिएको थियो ।

अधिकारीका अनुसार यसपटक नारायणीमा आएको उच्च बहावमा कालीगण्डकीलगायत सहायक नदीमा आएको उल्लेखनीय बहावको समेत प्रभाव परेको थियो ।

नारायणीका सहायक नदी त्रिशूली, कालीगण्डकी, मर्स्याङ्दी र सेती गण्डकीलगायतमा समेत जलमापन हुँदै आएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नारायणीमा आएको ठूलो बहावमा विशेषगरी कालीगण्डकीमा आएको उल्लेखनीय बहावको प्रभाव परेको हो । ”

इन्जिनियर अधिकारीका अनुसार जलसतह मापनका लागि मुख्यतः दुई प्रकारका प्रणाली प्रयोगमा छन् । परम्परागत रूपमा नदी तथा खोलामा स्केल गेज (जलमापन क्षेत्रमा नदी, ताल वा तरल पदार्थको सतह कति छ भनेर नाप्नका लागि जडान गरिएको स्केल अङ्कित फलाम/काठको पाटा) राखेर गेज रिडर (नदी, जलाधार, वा जलमापन केन्द्रमा जडान गरिएको मापन रेखा हेरेर पानीको सतह वा बहावको दैनिक/नियमित नाप लिने प्राविधिक) ले प्रत्यक्ष रूपमा जलसतह पढ्ने गरिन्छ भने अर्को स्वचालित जलमापन केन्द्रमा जडान गरिएको सेन्सरमार्फत मापन गरिन्छ ।

इन्जिनियर अधिकारीले भन्नुभयो, “एउटा खोलामा स्केल गेजमार्फत र अर्को सन् २०१२ पछि जलमापन केन्द्रमा जडान गरिएको स्वचालित केन्द्रको सेन्सरमार्फत मापन गरिन्छ ।”

स्वचालित केन्द्रमा जडान गरिएको सेन्सरले हरेक १० मिनेटमा जलसतहसम्बन्धी तथ्याङ्क केन्द्रमा पठाउने गरेको उहाँले जानकारी दिनुभयो । एनसेल वा नेपाल टेलिकमको सिममार्फत अनलाइन प्राप्त हुने तथ्याङ्कका आधारमा नदी तथा खोलाको जलसतहको अवस्था नियमित रूपमा अनुगमन गर्न सहज भएको उहाँको भनाइ छ ।

हस्तचालित (म्यानुअल) प्रणालीमा गेज रिडरले प्रत्यक्ष रूपमा जलसतह हेरेर तथ्याङ्क सङ्कलन गर्नुपर्ने भए पनि स्वचालित प्रणालीमा सेन्सरले आफैँ तथ्याङ्क पठाउने भएकाले बाढीको अवस्था तत्काल थाहा पाउन सहज भएको उहाँले बताउनुभयो ।

स्वचालित जलमापन केन्द्रबाट प्राप्त तथ्याङ्कका आधारमा बाढी पूर्वानुमान तथा पूर्वसूचना प्रवाह गर्ने गरिएको छ । प्राप्त तथ्याङ्कका आधारमा एसएमएसलगायत विभिन्न माध्यमबाट सम्बन्धित निकाय तथा सर्वसाधारणलाई बाढीसम्बन्धी सूचना प्रवाह गरिँदै आएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.