झलनाथको अन्तिम इनिङ कि अर्को प्रयोग ?
हाम्रा पूर्वजहरूले त्यसै बनाएनन् के उखान–टुक्का ! लामो अनुभव र गरिएका व्यवहारले इंगित गरेको अभ्यासलाई हेरेर नै नेपाली समाजमा उखान–टुक्का बन्ने र तिनको प्रयोग, टुक्का सुहाउँदो व्यवहार कसैले गर्यो भने त्यो व्यवहारका लागि ठ्याक्कै उखान–टुक्का जोड्ने चलन छ।
हो, त्यही व्यवहार अहिले झलनाथ खनालले गरेको देख्दा उनको व्यवहारलाई हेरेर एउटा उखान याद आयो, त्यो के भने—“मर्ने बेलामा हरियो काँक्रो।”
उमेरले ८० को डाँडो काटिसके, शरीरमा पार्टी हाँक्न सक्ने बल–तागत छ कि छैन थाहा छैन। फेरि यो मर्ने बेलामा अर्को कम्युनिस्ट पार्टी खोलेर यी कम्युनिस्टहरू भ्रष्टाचार गरेर र पार्टी छोड्ने, फोड्ने र खोल्ने कुरामा कहिल्यै पछि नपर्ने भए।
आफ्नै छँदाखाँदाको पार्टी एमालेमा बसेर रस चुस्दा–चुस्दा चुसेर नपुगेपछि माओवादीका प्रचण्डका पछि लागे। एमालेमा बस्दाको जस्तो मोजमस्ती र जुन बेला भन्यो त्यही बेला राज्यको ढुकुटी खाली गरेर भए पनि औषधि उपचारदेखि सर्प र घोडा पाल्नसम्मका लागि ७२ लाख कुम्ल्याएपछि सारै बदनाम भएर पनि नथाकेका झलनाथ फेरि अरू ठालु भएको पार्टी होइन, आफैँ ठालु भएको पार्टी चलाउँछु भनेर लाग्या समाचार सुन्दा मलाई मात्रै होइन, अरूलाई पनि अचम्म लागेको हुन सक्छ।
त्यसै त नेपालमा कम्युनिस्टहरू फुट्न जान्दैनन् भनेर मान्छेले खिस्याउन जानेका छैनन्। अझ भएन भनेर यो डाँडापारिको जुन भइसकेका मान्छेले के पार्टी खोलेको होला भनेर सामाजिक सञ्जालमा दोहोरो काट्ने होलान्। हुन पनि त्यसै त यी नयाँ ‘जेन्जी’ भनाउँदा र तिनकै सरकार कम्युनिस्ट पार्टी भनेपछि लखेटै लाउनुपर्छ भनेर कम्युनिस्ट पार्टी र तिनका नेता ओली र देउबाको खेदो खन्दै हिँड्याछन्।
अनि यस्तो बेलामा बरु देशभरका कम्युनिस्ट नेताहरू एक भएर एउटै कम्युनिस्ट पार्टी बनाएर गैरकम्युनिस्टहरूसित लड्ने बेलामा “बेमौसमको बाँसुरी बजाउँदै झलनाथ किन उम्ल्या हुन् कुन्नि ?”
ओलीलाई सिध्याउनुपर्यो भनेर भएभरका र आफूले दबाउन सक्ने कम्युनिस्ट पार्टी जति नेताहरूलाई अँठ्याएर जोड्दा–जोड्दा २२ वटाजतिलाई त प्रचण्डले जालमा हालेर पार्टी एक हुँदैछन्, अब ओलीलाई सिध्याउने खेलमा लाग्ने हो भन्ने बेलामा फेरि त्यही हुलबाट उछिट्टिएर फुत्त बनेर निस्केर झलनाथले पार्टी खोल्ने घोषणा गरेपछि बिचरा माधव र प्रचण्डलाई त चोट पर्नैसम्म पर्यो होला त !
उता ओली बा भने ‘बल्ल खायौ’ मेरा विरुद्ध एक हुन्छौँ भनेर लाग्या तिम्रा दिन पनि अब मेरै जस्तो बनाउने भयो झलेले भनेर खिस्याउँदै छन्।
खासमा झलनाथलाई माधव र प्रचण्डको पार्टी चलाई मन नपरेको र आफू त्यो पार्टी छोड्ने निर्णयमा पुगे पनि अर्को पार्टी नखोलेर ओलीतिरै जानुपर्ने हो के ! हिजोका दिनमा जुन बेला पैसा माग्यो त्यही बेला ओलीले सरकारी ढुकुटीबाट पैसा तानेर झलनाथलाई दिने र उनले त्यही रुपैयाँ पैसाका आडमा मोजमस्ती गरेर हिँड्ने, अहिले ओलीसमेत अप्ठ्यारोमा पर्दा ओली थिम गा’भा ओली नि कति खुसी हुँदा हुन्।
अब त्यो एकसदस्यीय खनाल पार्टी हो कि ? कम्युनिस्ट पार्टी हो कि ? या एनजीओ दर्ता गरेको हो, थाहै नहुने गरी जेएनको पार्टी खडा भएपछि उनका नजिकका मान्छेलाई कति अप्ठ्यारो हुने होला ? उनका पछि नलागौँ भने पनि नहुने, लागौँ भने पनि नहुने।
जेएनको पार्टीले चुनावमा जित्ने त कुरै त्यस्तै हो, पार्टी अध्यक्षलाई बोलाएर मिटिङमा उपस्थिति जनाउन पाउने भए। अनि कतै चिनजानको माडे या कम्युनिस्टलाई सहयोग गर्ने माडे रहेछ भने यसो बेलाबेलामा हात थाप्न गयो भने हातमा केही हालिदेला। अन्यथा अब कम्युनिस्ट पार्टीबाट वामदेव पत्ताएझैँ पत्ताउने भए झलनाथनि।
यो देशका कम्युनिस्टहरू यसरी नै सक्किने त होलान्। अन्तमा झलनाथ र उनलाई मेरो तर्फबाट दिने सान्त्वना र सहानुभूतिबाहेक केही छैन।




प्रतिक्रिया राख्नुहोस्