दशैं मनाउन भारतबाट घर फर्किंदै नेपाली
दशैं, तिहार नजिकिएसँगै रोजगारीका लागि भारतका विभिन्न सहर पुगेका नेपाली स्वदेश फर्किन थालेका छन् । भारतका नयाँ दिल्ली, मुम्बई, हिमाचल प्रदेश, सिम्ला, कुल्लुलगायत विभिन्न सहरमा रोजगारी गर्दै आएका नेपाली परिवार तथा आफन्तसँग चाडपर्व मनाउन नेपाल फर्किन थालेपछि नेपालगञ्जस्थित जमुनाहा नाकामा यात्रुको चाप बढेको छ ।
दशैं, तिहार नेपालीका प्रमुख चाडपर्व भएकाले वर्षभरि रोजगारीका लागि घरदेखि टाढा रहेका नेपाली चाडपर्वका अवसरमा स्वदेश फर्किने गरेका छन् । पछिल्लो समय जमुनाहा नाकाबाट भारततर्फ जानेभन्दा नेपाल फर्किने यात्रुको सङ्ख्या बढ्दै गएको प्रहरीले जनाएको छ ।
दैलेखको डुङ्गेश्वरका ५७ वर्षीय हेमन्त थापा पनि झन्डै पाँच वर्षपछि दशैं, तिहार मनाउन घर फर्किनुभएको छ । भारतको सिम्लामा स्याउ टिप्ने काम गर्दै आउनुभएका थापा परिवारको खर्च धान्न कठिन भएपछि पाँच वर्षअघि छिमेकीसँगै रोजगारीका लागि भारत जानुभएको थियो । लामो समय भारतमा बसेर काम गरेपछि चाडपर्वका बेला परिवारसँगै बस्ने इच्छा पूरा गर्न उहाँ नेपाल फर्किनुभएको हो ।
नेपालमा गरेको आम्दानीले घरखर्च चलाउन धौ–धौ भएपछि रोजगारीका लागि भारत गएको उहाँले बताउनुभयो । गाउँघरमा पर्याप्त रोजगारीको अवसर नहुँदा भारतका विभिन्न ठाउँमा पुगेर काम गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । पाँच वर्षपछि स्वदेश फर्कंदा जमुनाहा नाकामा देखिएको परिवर्तनले भने उहाँलाई फरक अनुभूति भएको छ । भारत जाने बेलाको भन्दा अहिले सीमा नाकामा हुने जाँच प्रक्रिया व्यवस्थित र प्रणालीगत भएको उहाँले बताउनुभयो ।
“पाँच वर्षअघि भारत जाँदा सीमा नाकामा चेकजाँच गर्ने तरिका निकै अव्यवस्थितजस्तो थियो । अहिले त चेकजाँच गर्ने प्रक्रिया नै धेरै फरक रहेछ । सबै कुरा प्रणालीअनुसार व्यवस्थित रूपमा गरिँदो रहेछ”, उहाँले भन्नुभयो ।
भारतमा रोजगारी गरेर परिवारको जीविकोपार्जनमा सहयोग गर्दै आउनुभएका हेमन्तजस्तै जाजरकोटको नलगाड नगरपालिका–४ की गङ्गाधरा केसी पनि चाडपर्व मनाउन बुधबार जमुनाहा नाका हुँदै घर फर्किनुभएको छ । उहाँसँगै एक छोरी र दुई छोरा पनि नेपाल फर्किएका छन् । स–साना छोराछोरीलाई साथमा लिएर उहाँ झन्डै आठ वर्षअघि रोजगारीको खोजीमा भारतको कुल्लु पुग्नुभएको थियो ।
भारत जानुअघि गङ्गाधरा कामको खोजीमा जाजरकोटबाट नेपालगञ्ज आउनुभएको थियो । नेपालगञ्जमा केही वर्ष घर निर्माणस्थलमा गिट्टी तथा बालुवा बोक्ने काम गर्नुभयो । तर कामअनुसार आम्दानी नहुने र पारिश्रमिकसमेत समयमा नपाउने भएपछि उहाँलाई परिवारको खर्च धान्न कठिन भयो ।
त्यसपछि करिब १० महिना ठेलामा चटपटे बेच्ने कामसमेत गर्नुभयो । तर त्यसबाट पनि अपेक्षाअनुसार आम्दानी हुन नसकेपछि अन्ततः छोराछोरीसहित भारतको कुल्लु पुगेर काम गर्न थाल्नुभएको हो ।
“नेपालमै काम गरेर छोराछोरी पाल्ने धेरै प्रयास गरेँ । गिट्टी–बालुवा बोक्ने काम गरेँ, ठेलामा चटपटेसमेत बेचेँ । तर दुःख धेरै र आम्दानी कम भयो । काम गरेको पैसा पनि समयमा नपाउँदा घरखर्च धान्न गाह्रो भयो”, उहाँले भन्नुभयो ।
भारतमा समेत लामो समय सङ्घर्ष गरेर छोराछोरी हुर्काउँदै आउनुभएकी गङ्गाधरा यसपटक दशैं मनाउन घर फर्किन पाउँदा खुसी हुनुहुन्छ । चाडपर्वका बेला आफ्ना छोराछोरीलाई आफन्त तथा गाउँघरको वातावरणमा राखेर दशैं मनाउन पाउनु महत्वपूर्ण भएको उहाँको भनाइ छ । भारतबाट नेपाल फर्किंदै गर्दा जमुनाहा नाकामा भएको चेकजाँचले पनि उहाँलाई सहज महसुस गराएको छ । विगतको तुलनामा सीमा नाकाको व्यवस्थापन र जाँच प्रक्रियामा सुधार आएको उहाँले बताउनुभयो ।
यस्तै, बर्दियाको बढैयाताल गाउँपालिका–७, जमुनीका गोपाल थापा पनि नजिकिँदै गरेको दशैं, तिहार मनाउन भारतको हिमाचल प्रदेशबाट घर फर्किनुभएको छ । विगत १८ वर्षदेखि भारतमा काम गर्दै आउनुभएका थापा चाडपर्वका बेला नेपाल आउने गर्नुहुन्छ ।
लामो समयदेखि भारतमा रोजगारी गर्दै आए पनि दशैं, तिहार भने परिवारसँगै मनाउने गरेको उहाँले बताउनुभयो । रोजगारीका कारण वर्षभरि घरपरिवारबाट टाढा रहनुपर्ने भएकाले चाडपर्वलाई परिवारसँग भेटघाट गर्ने अवसरका रूपमा लिने गरेको उहाँको भनाइ छ ।
यसपटक भने जमुनाहा नाकामा जिल्ला प्रशासन कार्यालय बाँकेको अगुवाइमा सञ्चालन गरिएको यात्रु सहायता कक्षले आफूहरूको यात्रा थप सहज बनाएको उहाँले बताउनुभयो ।
“यसपटक सीमा नाकामा यात्रु सहायता कक्ष राखिएको रहेछ । कहाँ जाने, कसरी जाने र समस्या परेमा कहाँ सम्पर्क गर्ने भन्ने जानकारी लिन सजिलो भयो । यात्रुलाई सहज बनाउन यस्तो व्यवस्था हुनु निकै राम्रो लागेको छ”, उहाँले भन्नुभयो ।
चाडपर्वका बेला भारतबाट ठूलो सङ्ख्यामा नेपाली स्वदेश फर्किने भएकाले यात्रुको आवागमन व्यवस्थित गर्न यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो । भारतबाट आउने नेपालीलाई आवश्यक सूचना तथा सहयोग उपलब्ध गराउने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी निरीक्षक राजनप्रसाद भट्टराईका अनुसार चाडपर्व नजिकिएसँगै भारतबाट स्वदेश फर्किने नेपालीको सङ्ख्या दिनहुँ बढिरहेको छ । अहिले जमुनाहा नाकाबाट दैनिक पाँच हजारभन्दा बढी नेपाली स्वदेश फर्किरहेका छन् ।
“बिहानदेखि साँझसम्मै दशैं मनाउन भारतबाट घर फर्किने नेपालीको लर्को लागिरहेको छ । प्रत्येक दिन पाँच हजारभन्दा बढी नागरिक जमुनाहा नाकाबाट आउने गरेका छन्”, उहाँले भन्नुभयो ।
उहाँका अनुसार भारतको नयाँ दिल्ली, मुम्बई, हिमाचल प्रदेशलगायत विभिन्न सहरमा रोजगारीका लागि गएका नेपाली अहिले दशैं, तिहार मनाउन स्वदेश फर्किरहेका छन् । चाडपर्व नजिकिँदै जाँदा नेपाल फर्किने नेपालीको सङ्ख्या अझ बढ्ने उहाँको भनाइ छ । भारतका विभिन्न सहरमा रोजगारीका लागि जाने नेपालीको ठूलो हिस्सा पश्चिम नेपालका पहाडी तथा तराईका जिल्लाबाट हुने गरेको छ ।
भारतबाट ठूलो सङ्ख्यामा नेपाली फर्किन थालेसँगै जमुनाहा तथा रुपैडिया क्षेत्रमा सुरक्षा निगरानीसमेत बढाइएको छ । भारतबाट फर्किने नेपालीलाई सीमावर्ती क्षेत्रमा ठगी, लुटपाट तथा अलपत्र पर्ने समस्या हुन नदिन नेपाल प्रहरीले निगरानी र समन्वय बढाएको प्रहरी निरीक्षक भट्टराईले बताउनुभयो ।
विशेषगरी रिक्सा चालक, ई–रिक्सा चालक, बस तथा होटल व्यवसायीबाट यात्रु ठगिन सक्ने भएकाले त्यस्ता गतिविधिमाथि निगरानी भइरहेको उहाँले जानकारी दिनुभयो ।
भारतको रुपैडियामा रातिको समयमा आइपुग्ने नेपालीलाई असहजता नहोस् भनेर भारतीय प्रहरीसँग समेत समन्वय गरिएको जमुनाहा प्रहरीले जनाएको छ । रातिको समयमा सीमा क्षेत्रमा आइपुग्ने यात्रु सुरक्षित रूपमा नेपाल प्रवेश गर्न सकून् भन्ने उद्देश्यले भारतीय प्रहरीसँग आवश्यक समन्वय गरिएको उहाँले बताउनुभयो ।
चाडपर्वमा भारतबाट ठूलो सङ्ख्यामा नेपाली स्वदेश फर्किने भएकाले सीमादेखि गन्तव्यसम्म यात्रुको सुरक्षा सुनिश्चित गर्न सुरक्षा निकायले विशेष योजना लागू गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेको अगुवाइमा यात्रु सहायता कक्ष सञ्चालन गर्नुका साथै सीमा क्षेत्रमा प्रहरीको उपस्थितिसमेत बढाइएको छ । यात्रुको भीड व्यवस्थापन, सूचना प्रवाह तथा समस्या परेका यात्रुलाई तत्काल सहयोग गर्ने गरी सुरक्षा संयन्त्र परिचालन गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी तामाङले चाडपर्वको समयमा सीमाबाट नेपाल प्रवेश गर्ने यात्रुको सुरक्षालाई प्राथमिकतामा राखिएको बताउनुभएको छ । “सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ”, उहाँले भन्नुभयो । भारतबाट फर्किने नेपालीको ठूलो सङ्ख्यालाई ध्यानमा राखेर सीमा क्षेत्रमा हुने सम्भावित ठगी, लुटपाट, चोरी तथा अन्य आपराधिक गतिविधि नियन्त्रणमा विशेष ध्यान दिइएको प्रशासनले जनाएको छ ।
यसैबीच, भारतको सिम्लाबाट सुर्खेतको रामघाट फर्किनुभएका रमेश विकले गत वर्ष दशैंका बेला भएको जेनजी आन्दोलनका कारण घर फर्किन नसकेको बताउनुभयो । यसपटक भने आफन्त र साथीभाइसँग दशैं मनाउने इच्छा भएकाले समयमै घर फर्किएको उहाँले बताउनुभयो ।
“गत वर्षको परिस्थितिका कारण दशैंमा घर आउन सकिएन । यसपटक भने समयमै घर फर्किएर आफन्त र साथीभाइसँग दशैं मनाउने इच्छा छ”, उहाँले भन्नुभयो ।
दैलेखका महेश थापाले पनि दशैं, तिहारजस्ता चाडपर्व आफ्नै गाउँठाउँमा परिवार तथा आफन्तसँग मनाउँदा छुट्टै आनन्द हुने भएकाले भारतबाट घर फर्किएको बताउनुभयो । भारतमा रोजगारी गरेर परिवारको खर्च धान्ने अधिकांश नेपालीका लागि चाडपर्व घर फर्किने प्रमुख अवसर बनेको छ ।
वर्षभरि परदेशमा काम गरेर कमाएको आम्दानीले परिवारको खर्च धान्ने उनीहरू दशैं, तिहारमा भने परिवारसँगै बसेर सुखदुःख साट्न चाहन्छन् । जमुनाहा नाकामा भेटिएका यात्रुहरूका अनुहारमा लामो समयपछि घर फर्किन पाएको खुसी देखिन्थ्यो । कसैका हातमा झोला र कपडाका पोका थिए भने कसैले बालबालिका तथा परिवारका सदस्यलाई साथमा लिएर सीमा पार गरिरहेका थिए ।
चाडपर्व मनाउन स्वदेश फर्किने नेपालीको सङ्ख्या बढेसँगै जमुनाहा नाकामा यात्रुको चापसमेत बढेको छ । भारतबाट फर्किने यात्रुको चापलाई व्यवस्थित गर्न नेपाल प्रहरी, प्रशासन तथा अन्य सरोकारवाला निकायले समन्वय गरिरहेका छन् । भारतमा रोजगारीका लागि गएका नेपालीका लागि दशैं, तिहार केवल चाडपर्व मात्र होइन, वर्षौँदेखि टाढा रहेका परिवारका सदस्यसँग भेट हुने अवसर पनि हो ।
हेमन्त थापाजस्ता पाँच वर्षपछि घर फर्किएका हुन् वा गङ्गाधरा केसीजस्ता छोराछोरीको भविष्यका लागि वर्षौँ परदेशमा सङ्घर्ष गरेका हुन्, सबैका लागि दशैंले घर र परिवारको सम्झना बोकेर ल्याएको छ ।
दशैं, तिहार नजिकिँदै गर्दा जमुनाहा नाकाबाट नेपाल प्रवेश गर्ने प्रत्येक यात्रुको गन्तव्य एउटै छ । आफ्नो घर, आफ्ना मान्छे र परिवारसँग बसेर चाडपर्व मनाउने चाहना । सीमा नाकामा यात्रुको चाप बढ्दै गए पनि प्रहरीले सीमावर्ती क्षेत्रदेखि नेपाल प्रवेश गरेपछि गन्तव्यसम्म पुग्ने यात्रुको सुरक्षालाई ध्यानमा राखेर निगरानी र समन्वयलाई निरन्तरता दिएको जनाएको छ ।




प्रतिक्रिया राख्नुहोस्