अब देउबाको हातमा के बाँकी रहला ?
यति भएपछि कांग्रेसको पार्टी भने पनि गगन थापाको पार्टी भने पनि महाधिवेशन सक्कियो, हैन त ! अब त कुन दिन गगन आउँछ र यति ठूला डल्ला खान दिन्छ भनेर ढुक्या देउबा दासहरू पनि महाधिवेशन आनन्दले सिध्याएर सबैलाई भाग पुर्याएर पद बाँडेर कार्यकर्ता खुसी पारेपछि अब न गगन आउँदो, न पार्टीको झन्डा आउँदो, न रुख आउँदो भएपछि चुनदेवीहरू मुर्छा परेर बस्या होलान्।
अब पार्टी टुक्र्याएरै छोडिन्छ भनेर लाग्या डाक्टर प्रकाशशरण, कान्छा लामा, दीपक खड्का, विमलेन्द्र निधि, विजय गच्छदार, कृष्ण सिटौला, जस्ता आरजुका दासहरू अब अर्को पार्टी गठनतिर लाग्ने त होलान् त !
पार्टीभित्र सधैँभरि गुट–उपगुट अनि आरजु र यी आरजुका दासहरूले एकछत्र राज चलाएको कांग्रेस अब यिनका हातबाट चुडेर गगनले लैदिएपछि यिनले के पार्टी गठन गर्ने हुन् अनि यिनको पार्टीको पछाडि को लाग्ने हो ?
कांग्रेससितसँगसँगै जिल्लाअधिवेशन गर्ने नौटंकी गर्या, यिनका चुनावमा एक जिल्लामा एक नेता बनाएर शत्रु हँसाउने कामबाहेक अरू केही भएन।
पहिलै गाँसमा ढुंगा भन्याझैँ पार्टीभित्र्याउन पनि कस्तालाई भित्र्याउन लाए भने, जो देशका सबैले चिने–जानेको अपराधी हो, त्यसैलाई ल्याएर देउबाको हातबाट पार्टी प्रवेश भनेर खादा ओढाउन लागे। यो देख्दै अब यिनीहरूले खोल्ने पार्टी राम्रै उँभो लाग्ने भो भन्ने त जनताले अनुमान गरेकै छन्।
अनि आरजुका देवरहरूले देउबालाई नेपालमा बोलाई–बोलाई सिध्याउने भए भन्ने त लागेकै हो। किन त भन्दा, यिनका पालामा यिनीहरूले सत्तामा बस्दा जसरी जनतालाई रुवाए, अब त्यसै गरी आफू रुने पालो आएको यिनले पनि राम्रै देख्या होलान्, देख्न त। तर के गर्ने, अहिले यिनीहरू पनि ‘मर्ता क्या नहि कर्ता’को हालतमा पुग्या छन्।
यिनका बानी–व्यवहार सबैलाई थाहै छ। कार्यकर्तालाई आफ्नै घरमा काम गर्न राख्या कामदारलाईझैँ हप्कीदप्की गर्ने बानीले यिनीसित टिक्न को सक्लान् र ?
राजनीति गर्ने बानी–व्यवहार नभएका यस्ता नेतालाई ल्याएर कांग्रेस पार्टी आफ्नै बनाउँछु भनेर लाग्ने, जब आफूलाई राजनीति गर्ने चाहनै छैन भने फेरि यिनले जे–जे भन्यो त्यै–त्यै गरेर हिँड्ने शेरबहादुर पनि उस्तै हुन् नि !
जेन्जीले पिटेर थला पार्दा समेत ‘तँलाई के भो’ भनेर सोधखोज गर्न नआउने यस्ता स्वार्थी र डरपोक नेतालाई लिएर पार्टीमा उछलकुद मच्चाउन खोज्ने देउबाको मति पनि के भएको हो कुन्नि !
यिनी मान्छे त गतिला हैनन् भन्ने कुरा यतिका वर्ष संगत गर्दासमेत के साँच्चै देउबाले यिनको बानी–व्यवहार थाहा पाएका थिएनन् होला त !
अब के, कतै कांग्रेस जोडिएको नामको पार्टी दर्ता गरेर शंख चुनाव चिह्न लिएर यिनका नाममा शंख फुक्दै हिँड्ने कामबाहेक अब देउबाको हातमा के नै बच्यो र ? यो बुढेसकालमा न जोई साथ भै, न पार्टी हात भो।
के भन्न सकिन्छ र, यै देशमा बसी रह्यो भने त अझ बालेनका ठिनामिनाले कुन दिन हतकडी लाएर डिल्लीबजार खोरमा पुर्याउने हुन्। यतिका वर्ष मस्ती गरेर खाएको जिन्दगी बल्ल–बल्ल बचाएर सिंगापुर र हङकङ पुर्याएको बेला ती बिनकामका डेट एक्सपायरवाला नेताका कुरा सुनेर त्यस्सै नेपाल आएर जिन्दगी नर्कमा पुग्ने अवस्था आएन त !
अब यो नर्कको जिन्दगी जिउनुभन्दा हुन्छ भने र मिल्छ भने सुटुक्क सिंगापुरतिर फाँडी हाने हुन्छ। अब कतिन्जेल बाँचिएला र, बाँच्ने बेलासम्मलाई खान पुग्ने सम्पत्ति होला के रे।
अब ती नेतालाई नि बाईबाई गर्ने, देशलाई नि बाईबाई गर्ने—यसैमा भलो देख्छु है म त !




प्रतिक्रिया राख्नुहोस्