जन सरोकार

वडाध्यक्ष कुँवरद्वारा नौ वर्षदेखि आफूले पाउने भत्ताको रकम ज्येष्ठ नागरिकलाई

कञ्चनपुरको भीमदत्त नगरपालिका–१ का वडाध्यक्ष आशिफ कुँवर (भुन्टु)ले नौ वर्षदेखि आफूले पाउँदै आएको तलबभत्ताबापतको रकम वडाका जेष्ठ नागरिक र अपाङ्गा भएका व्यक्तिलाई वितरण गर्दै आउनुभएको छ ।

पहिलोपटक २०७४ सालमा वडाध्यक्षमा निर्वाचित भएपछि कुँवरले राज्यबाट प्राप्त हुने तलबभत्ता तथा सेवा सुविधा नलिने घोषणा गर्नुभएको थियो । त्यसयता उहाँले आफूले पाउँदै आएको रकम वडाका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई वितरण गर्दै आउनुभएको छ ।

विसं २०७९ को निर्वाचनमा दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित हुनुभएका कुँवरले जनप्रतिनिधिका रूपमा प्राप्त हुने सबै सुविधा वितरण गर्दै आउनुभएको छ ।

वर्षभरिको तलबभत्ता जम्मा गरेर दशैंका बेला वितरण गर्ने उहाँले आइतबार घटस्थापनाको अवसर पारेर वडाका १५८ जना ज्येष्ठ नागरिक र सात जना अपाङ्गता भएका व्याक्तिलाई जनही रु एक हजार ५०० का दरले वितरण गर्नुभयो ।

“हामी बूढापाकाले दसैँको बेला सहयोग प्राप्त गर्दा असाध्यै खुसी छौँ”, स्थानीय लीला लामिछानेले भन्नुभयो, “अध्यक्षले हरेक वर्ष दशैंमा यसरी नै सहयोग गर्दै आउनुभएको छ ।”

स्थानीय तहमा जनप्रतिनिधिले पाउने सेवा सुविधाका बारे विभिन्न बहस भइरहेका बेला कुँवरको यो अभ्यासको स्थानीयले प्रशंसा गरेका छन् । स्थानीय तुलसी बोहराले भन्नुभयो, “ठूलो पदमा पुगे अझै हाम्रो वडाका काम गर्नुहुथ्यो ।”

ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई वितरण गरिएको रकमले चाडपर्वका बेला आवश्यक सामग्री खरिद गर्न केही सहयोग पुग्ने उहाँले बताउनुभयो ।

वडाअध्यक्ष कुवँरले राज्य सङ्कटमा रहेका बेला जनप्रतिनिधिले सेवा सुविधा लिनु उचित नहुने बताउनुभयो । “जनप्रतिनिधि जनताका सेवक हुन्, जनप्रतिनिधिले राज्यको सेवा सुविधा लिनुभन्दा पनि जनताका लागि सेवा गर्ने हो”, अध्यक्ष कुवँरले भन्नुभयो, “२०७४ सालमा पहिलोपटक निर्वाचित हुँदादेखि नै मैले एक वर्षको पारिश्रमिक जम्मा गरेर चाडपर्वका बेला वडाका ज्येष्ठ नागरिक र असहायलाई वितरण गर्दै आएको छु ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.