अर्थ

बडीमालिकामा केबुलकार अध्ययन र खप्तडमा पूर्वाधार निर्माण गर्न नौ करोड बढी बजेट विनियोजन

सुदूरपश्चिम प्रदेश सरकारले बाजुरास्थित धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा केबुलकार सञ्चालनका लागि आवश्यक अध्ययन गर्न रु तीन करोड २५ लाख बजेट विनियोजन गरेको छ ।

बन्दीपुर केबलकार

प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८३/८४ का लागि प्रदेशसभामा पेस भएको बजेटमा बडीमालिका क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले केबुलकार सञ्चालनको सम्भाव्यता अध्ययनका लागि उक्त बजेट छुट्याएको हो ।

यस्तै, बडीमालिकामा केबुलकार सञ्चालनका लागि व्यवस्थापन सम्भाव्यता अध्ययन गरी सार्वजनिक तथा निजी साझेदारीअन्तर्गत बुट मोडेल सञ्चालन गर्न चालु आर्थिक वर्षबाट प्रक्रिया अगाडि बढाइने जनाएको छ ।

प्रदेशका आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले बजेट प्रस्तुत गर्दै बडीमालिकामा केबुलकार सम्भाव्य अध्ययन गर्न उक्त रकम विनियोजन गरिएको जनाउँदै त्यस क्षेत्रमा वर्ष विद्युत् लाइन विस्तार गरिने जानकारी गराउनुभयो ।

खप्तडमा पूर्वाधार निर्माण गर्न छ करोड १० लाख

बजेटमा धार्मिक तथा पर्यटकीय क्षेत्र खप्तड राष्ट्रिय निकुञ्जमा मन्दिरसहित आवश्यक पूर्वाधार निर्माण गर्न रु छ करोड १० लाख विनियोजन गरिएको छ ।

बाजुरा, बझाङ्ग, अछाम र डोटीको सीमानामा पर्ने खप्तडस्थित त्रिवेणीधाममा प्यागौडाशैलीमा सुुदूरपश्चिमको पहिचान झल्काउन मन्दिर, गोल्डेन ब्रिज र त्यस क्षेत्रमा विद्युत् लाइन विस्तारका लागि उक्त बजेट विनियोजन गरिएको हो । हालसम्म खप्तडमा विद्युत् लाइन नहुँदा त्यहाँ बस्ने सुरक्षाकर्मी, स्थानीय तथा पर्यटकले सास्ती भोग्दै आएका छन् ।

कोल्टी आधारभूत अस्पताललाई प्रादेशिक बनाइने

बाजुराको पूर्वी उत्तरी क्षेत्र बूढीनन्दा नगरपालिका–२ स्थित कोल्टी आधारभूत अस्पताललाई प्रादेशिक बनाइने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्री मल्लले प्रदेशसभा बैठकमा प्रस्तुत गरेको चालु आर्थिक वर्षको बजेटमार्फत कोल्टीलाई प्रादेशिक अस्पताल बनाइने जानकारी गराउनुभयो ।

विशेषज्ञ स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तार गर्न बाजुराको कोल्टी र दार्चुलाको गोकुलेश्वरलाई प्रादेशिक अस्पतालको रुपमा स्तरोन्नति गर्न आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापन गरिने जनाएको छ । त्यसका लागि रु छ करोड बजेट विनियोजन गरेको मन्त्री मल्लले जानकारी दिनुभयो ।

कोल्टी आधारभूत अस्पताल बाजुराको पूर्वी तथा उत्तरी क्षेत्रका चारवटा स्थानीय तहका नागरिकका लागि महत्वपूर्ण स्वास्थ्य सेवा केन्द्रका रूपमा रहेको छ । बाजुराका चारवटा स्थानीय तहका साथै छिमेकी जिल्ला मुगु, हुम्ला र कालीकोटका बिरामी पनि उपचारका लागि कोल्टी आउने गरेका छन् ।

प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति गर्ने योजना कार्यान्वयन भएमा अस्पतालको सेवा क्षमता विस्तार मात्र नभई नागरिकले आफ्नै क्षेत्रमा थप विशेषज्ञ स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.