बाजुरामा रास्वपाको ‘हामी आउँदै छौँ’ अभियान सम्पन्न
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद केपी खनालले राजनीतिक दल र नेताप्रति नागरिकको सोचमा परिवर्तन आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।
मंगलबार रास्वपाले बाजुरामा सम्पन्न गरेको नागरिकका समस्या, गुनासा र अपेक्षा सुन्न सञ्चालन गरेको ‘हामी आउँदै छौँ’ अभियानका क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
जिल्लाका नौवटै स्थानीय तहका नागरिकलाई लक्षित गरी दुई स्थानमा प्रत्यक्ष भेटघाट तथा संवाद कार्यक्रम आयोजना गर्दै अभियान सम्पन्न गरेको हो ।
अभियानअन्तर्गत जिल्लाको पूर्वी तथा उत्तरी क्षेत्रका चार स्थानीय तह बूढीनन्दा नगरपालिका, हिमाली, जगन्नाथ र स्वामीकार्तिक खापर गाउँपालिकालाई समेटेर आइतबार पिलुचौरमा कार्यक्रम आयोजना गरिएको थियो ।
त्यस्तै, सदरमुकाम क्षेत्रका पाँच स्थानीय तह बडीमालिका, बूढीगङ्गा र त्रिवेणी नगरपालिका तथा गौमुल र खप्तड छेडेदह गाउँपालिकालाई लक्षित गरी सोमबार मार्तडीमा कार्यक्रम सञ्चालन गरिएको रास्वपा जिल्ला समिति सभापति नवराज जैशीले जानकारी दिनुभयो ।
जैसीका अनुसार नागरिकसँग प्रत्यक्ष संवाद गर्दै उहाँहरूले दैनिक जीवनमा भोगिरहेका समस्या, विकासका आवश्यकता, सार्वजनिक सेवा प्रवाहमा देखिएका कठिनाइ तथा राज्यबाट प्राप्त हुनुपर्ने सेवासम्बन्धी गुनासा सुन्न अभियान सञ्चालन गरिएको हो ।
रास्वपाले केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य केपी खनाललाई अभियानका लागि बाजुरा खटाएको थियो । अभियानमा सहभागी नागरिकले शिक्षा, स्वास्थ्य, सडक तथा अन्य पूर्वाधार विकास, रोजगारी र सार्वजनिक सेवा प्रवाहलगायतका विषयमा आफ्ना समस्या र अपेक्षा राखेका छन् ।
नागरिकबाट प्राप्त गुनासा, सुझाव र मागलाई सङ्कलन गरी सम्बन्धित निकायसम्म पु¥याउने तथा समाधानका लागि आवश्यक पहल गर्ने पार्टीले जनाएको छ ।
हालै सदरमुकाम मार्तडीमा आयोजित कार्यक्रममा स्थानीय तहको प्रतिनिधित्व गर्दै धारणा राख्ने क्रममा रास्वपा बूढीगङ्गा नगर सभापति तिलक थापाले जनताका आवश्यकता र समस्यालाई प्राथमिकतामा नराख्दा जिल्लाले अपेक्षित विकास हासिल गर्न नसकेको बताउनुभयो ।
त्रिवेणी नगर सभापति गणेशराज पाध्यायले बाजुरा विकासका दृष्टिले पछाडि पर्नुमा नीति निर्माणमा देखिएका कमजोरी रहेको बताउनुभयो
रास्वपा नेता दीर्घ शाहीले प्रदेश गौरवको आयोजना खप्तड–डोगडी–मार्तडी सडकको अवस्थाबारे ध्यानाकर्षण गराउनुभयो । रास्वपा केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य केपी खनालले बाजुरालाई दुर्गम जिल्लाका रूपमा चित्रण गर्ने प्रवृत्ति परिवर्तन गर्नुपर्ने बताउनुभएको छ ।
उहाँले बाजुरामा पाइने जडीबुटी र प्राकृतिक स्रोतसाधनको महत्व उल्लेख गर्दै जिल्लालाई अभाव र दुर्गमतासँग मात्रै जोडेर हेर्न नहुने धारणा राख्नुभयो ।




प्रतिक्रिया राख्नुहोस्